21st June | 2021 | Monday | 12:46:11 PM

अब नेपालमै पुनर्बिमा ब्रोकर कम्पनी खुल्ने

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (९:१० AM)

बिमा समितिले पुनर्बिमा ब्रोकर कम्पनी स्थापनाका लागि पुनर्बिमा ब्रोकरसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । निर्देशिका जारी सँगै नेपालमा पनि पुनर्बिमा ब्रोकर कम्पनीका लागि बाटो खुलेको छ । अहिले नेपाली बिमा कम्पनीले विदेशका पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गराउँदै आएका कारण नेपाली बिमा बजारबाट अर्बौं रुपैयाँ बाहिरिँदै आएको छ ।

निर्देशिकाअनुसार पुनर्बिमा ब्रोकर कम्पनीका लागि अधिकृत पुँजी १० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ भने ५० प्रतिशत रकम चुक्ता पुँजीका रूपमा कायम गर्नुपर्ने छ । उक्त पुँजीमध्येबाट अधिकृत पुँजीको २५ प्रतिशत रकम समितिबाट एआर मार्क गराई वाणिज्य बैंकको मुद्धती खातामा राख्नुपर्नेछ ।

पुनर्बिमा दलालको इजाजपत्र लिन संगठित संस्था दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, प्रबन्धपत्र र नियमावली, सम्भाव्यता अध्ययन प्रतिवेदन, संगठित संस्थाको प्रमुख कार्यकारी अधिकृत वा प्रमुख व्यवस्थापकको व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ ।

पुनर्बिमा व्यवसायसम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बिमा दलालले समितिमा सम्पर्क÷शाखा खोल्न तोकिएको दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । समितिबाट पुनर्बिमा दलालको इजाजत दिने आशयपत्र प्राप्त भएपछि ब्रोकिङ कार्यअघि नेपालको ‘क’ वर्गका वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिटबापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने छ । नेपाली पुनर्बिमा दलालसँग संयुक्तरूपमा नेपालमा पुनर्बिमा दलाल संगठित संस्था खोल्न इच्छुक विदेशी पुनर्बिमा दलालले पुँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न सक्ने बताइएको छ ।


Views: 58