निर्माण व्यवसायी समृद्धिका ‘पिल्लर’

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (८:५९ AM)

निर्माण व्यवसायी समृद्धिका ‘पिल्लर’

उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी समृद्धिका ‘पिल्लर’भएको बताउनुभएको छ । सोमबार आफ्नै कार्यकक्ष सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै उहाँले ‘लो कस्ट’ मा टेण्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । अर्थमन्त्रीले आर्थिक वर्ष.२०७८/०७९ को बजेटका सम्बन्धमा महासंघले पेश गरेको लिखित सुझावपत्र कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको महासंघले जनाएको छ ।

प्रतिनिधिमण्डलले ०७८ कात्तिकदेखि २०७९ असारसम्म सम्पूर्ण ठेक्काको म्याद सम्बन्धित सार्वजनिक निकायका अधिकारीले थप गर्ने निर्णय मितिबाट गणना हुने गरी २०७९ साल असारसम्म र त्यसभन्दा बढी म्याद आवश्यक पर्ने निर्माण आयोजनाको हकमा प्राविधिक पुष्ट्याइँका आधारमा आवश्यकताअनुसार म्याद थप गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने प्रावधानको सट्टा शतप्रतिशत फिर्ता गर्दा राज्यलाई कुनै घाटा नहुने र असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन शतप्रतिशत धरौटी रकम फिर्ता हुनुपर्नेलगायतका सुझाव पनि दिएको छ ।


Views: 97

Top