निर्यात व्यापार ३२.२ प्रतिशतले वृद्धि

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (९:२६ AM)

निर्यात व्यापार ३२.२ प्रतिशतले वृद्धि

निर्यात र आयातबीचको खाडल ठूलो भए पनि पछिल्लो समय निर्यात व्यापार १ खर्बबाट उक्लिएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को १० महिना अर्थात् साउनदेखि वैशाखसम्ममा निर्यात व्यापार कुल ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४८ करोड पुगेको नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ । सोयाविन तेल, अलैंची, जुटका सामान, धागो, ऊनी गलैँचालगायतको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायको घटेको छ । चालु आवको १० महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८, १७.२ र ६.२ प्रतिशतले वृद्धि भएको छ । यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायतको आयात बढेको भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम, भिडियो, टिभी तथा पार्टपुर्जा, चाँदीलगायतको आयात घटेको छ ।

१० महिनामा कुल वस्तु व्यापारघाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।

मूल्यवृद्धि ३.६५ प्रतिशत

२०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ४.७२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको २.८१ प्रतिशत रहेको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यू तथा तेल, मासु तथा माछा, गैर मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३.६२, तराईमा ३.५१, पहाडमा ४.१४ र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो आवको सोही अवधिमा क्रमशः ५.७१, ६.३५, ५.११, र ५.१९ प्रतिशत रहेको थियो ।

१० महिनामा आठ खर्ब रेमिट्यान्स

चालु आवमा रेमिटयान्स आय १९.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९ अर्ब ८९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष ७.६ प्रतिशतले घटेको थियो । त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो ।

चालु खाता दुई खर्बभन्दा बढीले घाटामा 

चालु खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता चालु आवको सोही अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड थियो । शोधनान्तर स्थिति भने ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा .१ खर्ब २० अर्ब ९० करोडले बचतमा थियो ।


Views: 102

Top