लुम्बिनीमा पनि आईपी टिभी सेवा

हिमालय टाइम्स   POSTED ON : असार ७, २०७८ (८:४० AM)

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले फाइबर टु द होम (एफटीटीएच) मार्फत् आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानमा वितरण सुरु गरिएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा सेवाको विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराउँदै आएकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएसँगै ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आएको कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी गराउनुभएको छ ।

हाल एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टिभी च्यानल उपलब्ध रहेका छन् । हाल कम्पनीले बेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराउँदै आएको छ । बेसिकमा एक सय दुई च्यानल र प्रिमियममा एक सय ८५ च्यानल हेर्न सकिने बताइएको छ । कम्पनीले २०७७ पुस १७ गते एनटी टिभी सेवा सुरु गरेकोमा हाल काठमाडांैबाहेक बनेपा र चितवनमा पनि उपलब्ध रहेको छ । 


Views: 76

Top