गौरवका आयोजनामा ५८ प्रतिशत खर्च

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:१२ AM)

गौरवका आयोजनामा ५८ प्रतिशत खर्च

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय गौरवका आयोजनामा ५८.३ प्रतिशत बजेट खर्च भएको छ । २१ गौरवका आयोजनाका लागि ८९ अर्ब ४३ करोड ३३ लाख ८१ हजार रुपैयाँ विनियोजन भएकोमा ५२ अर्ब नौ करोड ५२ लाख ८१ हजार खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार राष्ट्रिय गौरवका दुईवटा आयोजनाले शतप्रतिशत खर्च गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ विमानस्थलले शतप्रतिशत बजेट खर्च गरेका हुन् । त्यस्तै पशुपति क्षेत्र विकास कोषले ९९.२ प्रतिशत, काठमाडौं तराई मधेश फास्ट ट्र्याकले ९७.४ प्रतिशत, हुलाकी राजमार्गले ९५.८ प्रतिशत, महाकाली सिँचाइ आयोजनाले ९६.३ प्रतिशत, बबई सिँचाइ आयोजनाले ९५.४ प्रतिशत र मध्यपहाडी पुष्पलाल राजमार्गले ९३.९ प्रतिशत खर्च गरेका छन् । राष्ट्रिय गौरवका पाँचवटा आयोजनाले आधाभन्दा कममात्रै बजेट खर्च गरेका छन् । सबैभन्दा कम बजेट खर्च गर्नेमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ  । उक्त  आयोजनाका लागि १० अर्ब ७५ करोड विनियोजन भएकोमा ४.७ प्रतिशत अर्थात् ५० करोडमात्रै खर्च भएको छ ।

त्यस्तै दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अर्थात् लुम्बिनी क्षेत्र विकास कोषले २३.८, मेलम्ची खानेपानी आयोजनाले ३३.१, बुढीगण्डकी जलविद्युत् आयोजनाले २१.६ र मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालले २८.४ प्रतिशत बजेट खर्च गरेका छन् । उल्लेखित आयोजनाका लागि  गत वर्ष क्रमशः चार अर्ब ७२ करोड ५० करोड, चार अर्ब ९० करोड, ५९ लाख, सात अर्ब ६८ करोड ४३ लाख र आठ अर्ब २० करोड ७० लाख रुपैयाँ विनियोजन भएको थियो । सिक्टा सिँचाइ आयोजनामा ६९.२, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा शतप्रतिशत, रानी जमरा-कुलरियामा ५५, राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा ८९.९, उत्तरदक्षिण राजमार्गको ८१.८ प्रतिशत प्रगति रहेको छ ।

त्यस्तै रेल, मेट्रोरेल तथा मनोरेल विकास आयोजनाको ५६.६, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ७६.४, बुढीगण्डकी जलविद्युत् आयोजनाको २१.६ र मेलम्ची खानेपानी आयोजनाको ३३.१ प्रतिशत प्रगति रहेको छ ।


Views: 45

Top