सीएनआईको १८औं साधारणसभा, निजी क्षेत्रको प्रतिस्पर्धी क्षमतामा जोड

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:१८ AM)

सीएनआईको १८औं साधारणसभा, निजी क्षेत्रको प्रतिस्पर्धी क्षमतामा जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । कोरोना महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै उद्योगी, व्यापारीको सहयोग भएमा मुलुक छिट्टै कोरोनामुक्त हुनसक्ने पनि उहाँले बताउनुभयो । बुधबार नेपाल उद्योग परिसंघ (सीएनआर्ई) को १८औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कोभिडको जो समस्या छ, त्यो समस्या समाधानका निम्ति नेपालका उद्योगपति व्यापारीले सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । म यहींबाट फेरि अनुरोध र आह्वान गर्दछु कि नेपालमा जो महामारी फैलिएको छ, यो सरकारको कर्तव्य हो । तपाईहरूको पनि सहयोग भएमा छिट्टै महामारीबाट मुक्त हुन सक्छौं भन्ने मलाई आशा छ ।’ साथै उहाँले कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई

 अर्थमन्त्रीले सुधार गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा अर्थमन्त्रीजी अत्यन्त मिहिनेती हुनुहुन्छ, उहाँ भिजन भएको व्यक्ति हो, त्यसैले उहाँले अर्थतन्त्रलाई पहिलेभन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ ।’ 

अर्थमन्त्री जनार्दन शर्माले कोरोनाले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध गराइदिएको उल्लेख गर्दै सीएनआईले अघि बढाएको मेक इन नेपाल—स्वदेशी अभियानले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने बताउनुभयो । अर्थतन्त्र अहिले कमजोर अवस्थामा रहेको जनाउँदै उहाँले त्यसलाई माथि उठाउन सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताउनुभयो । निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले जोड दिने उहाँको भनाइ थियो ।

सांसद तथा सीएनआईका अध्यक्ष विनोद चौधरीले नेपाली कांग्रेस नेतृत्वमा बनेको नयाँ सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि पहल गर्नुपर्ने बताउनुभयो ।  उहाँले आर्थिक उदारीकरण र पहिलो चरणको सुधारको नेतृत्व नेपाली कांग्रेसले गरेको स्मरण गर्दै दोस्रो चरणको सुधारका लागि पनि पहल गर्नुपर्ने बताउनुभएको हो । नेपाली कांग्रेसको नेतृत्वमा २०४६÷०४७ पछि आर्थिक उदारीकरणको युग सुरु भएकाले फेरि दोस्रो चरणको आर्थिक उदारीकरण अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । चौधरीले भन्नुभयो, ‘दोस्रो चरणको आर्थिक सुधार (इकोनोमिक रिफर्म) ले धेरै वर्षदेखि थाती रहेका हाम्रा आर्थिक मुद्दालाई सल्टाउँछ । चाहे ती व्यापार र कूटनीतिका विषय हुन् वा आर्थिक र विकासका मुद्दा हुन्, अर्थमन्त्रीज्यू, दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व तपाईं गर्नुहोस् ।’ पहिलो चरणको आर्थिक सुधारको नतिजाका रूपमा नेपाल उदार अर्थतन्त्र भएको मुलुकका रूपमा उदाएको भए पनि सबै योजना भने कार्यान्वयन हुन नसकेको उहाँले गुनासोसमेत गर्नुभयो । साधारणसभामा प्रमुख वक्ताका रूपमा रहनुभएका नीति आयोग भारतका प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले तीव्र आर्थिक विकासका लागि नीतिगत सहजता आवश्यक भएको बताउनुभयो । भारतले पनि लगानी अभिवृद्धि र निजी क्षेत्रको सहजीकरणका लागि संरचनागत परिवर्तन गरेको उहाँको भनाइ थियो ।

सीएनआईका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रको गतिशील र विश्वसनीय संस्थाका रूपमा सीएनआईलाई अघि बढाएको बताउनुभयो । अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्रको महŒवपूर्ण भूमिका रहने भन्दै सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

सीएनआईका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोरोनाविरुद्धको खोप वितरणमा निजी क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो । आर्थिक विकासको महŒवपूर्ण स्तम्भका रूपमा निजी क्षेत्र रहेको भन्दै उहाँले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा सीएनआईका उपाध्यक्ष अनुज अग्रवालले मेक इन नेपाल स्वदेशी अभियानबारे प्रस्तुतीकरण दिनुभएको थियो । 

युनियन अफ एसियन चेम्बर्स

सीएनआईको साधारणसभामा प्रधानमन्त्री देउवाले युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ गर्नुभएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यका साथ युनियन अफ एसियन चेम्बर्सको शुभारम्भ गरिएको हो । 

युनियन अफ एसियन चेम्बर्सको नेतृत्व अहिले सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले लिनुभएको छ । कार्यक्रममा चौधरीले एसियाली मुलुकमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी गराउनुभयो ।

सीएनआईको नयाँ अध्यक्षमा अग्रवाल

सीएनआईले नयाँ नेतृत्व चयन गरेको छ । १८ औं वार्षिक साधारणसभाले उद्यमी विष्णुकुमार अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले यसअघि सीएनआईअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नुभएको भने सीएनआईको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसक्नुभएको छ । पूर्वफुटबल खेलाडीसमेत रहनुभएका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रमोटर हुनुहुन्छ । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

साधारणसभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यसमध्येबाट सातजना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुणकुमार तोडी, सुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई रहनुभएको छ । 

त्यस्तै प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशिष गर्ग, द्विराज शर्मा सिवाकोटी, अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा हुनुहुन्छ । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको सीएनआईले जनाएको छ ।


Views: 50

Top