सुनचाँदी व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:२८ AM)

सुनचाँदी व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट ऐन ल्याउन आग्रह गरेको छ ।  महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वकोे प्रतिनिधिमण्डलले ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई भएको भन्दै यथाशीघ्र ऐन तर्जुमा गर्न आग्रह गरेको हो । 

सो अवसरमा प्रधानमन्त्री देउवाले माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभयो । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नातर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ ।

उहाँले सुनचाँदी कारोबारसम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको भन्दै समस्या समाधानमा जोड दिनुभयो । सो अवसरमा महासंघ उपाध्यक्षहरू विपिन रामुदामु, शिव सर्राफ, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाइ बज्राचार्यलगायतको सहभागिता रहेको महासंघले जनाएको छ ।


Top