महिला उद्यमशीलता कर्जामा जोड

हिमालय टाइम्स   POSTED ON : श्रावण १५, २०७८ (८:४९ AM)

महिला उद्यमशीलता कर्जामा जोड

काठमाडौं । महिला उद्यमीका लागि प्रवाह हुने कर्जा सुविधा, कर्जा प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यका साथ महिला उद्यमशीलता कर्जासम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङको महिला उद्यम समितिद्वारा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष सुयष प्याकुरेलले महिला उद्यमीद्वारा सञ्चालित उद्योगको विकास विस्तारका लागि बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण व्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

बैंक तथा वित्तीय संस्थाको प्रक्रियागत जटिलताका कारण महिला उद्यमशीलताको संख्या अपेक्षाकृतरूपमा बढ्न नसकेको जानकारी गराउँदै उहाँले महिलाको कर्जामा सहज पहँुच स्थापना गर्न कर्जा प्रवाहको प्रक्रियालाई सरलीकृत बनाउँदै लैजानुपर्ने बताउनुभएको हो ।  

महिला उद्यम समिति संयोजक प्रतिभा रिजाल ओलीले राज्यले महिला उत्थानका लागि वित्तीय सेवासुविधा प्रदान गर्दैआएको बताउनुभयो । त्यस्ता सुविधा उपभोग गर्न महिला नै जागरुक हुनुपर्ने उहाँको भनाइ थियो । महिलाको सिर्जनशीलतालाई उद्यमशीलतामा परिवर्तन गरी आत्मनिर्भरतर्फ अग्रसर हँुदै आर्थिक विकासमा योगदान पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।

 बैंक तथा वित्तीय क्षेत्रमा महिला उद्यमीका लागि उद्यमशीलता विकासका लागि व्यवस्था गरिएको सेवा तथा सुविधाका सम्बन्धमा नबिल बैंक विराटनगरका शाखा प्रबन्धक गुरु रेग्मीले जानकारी गराउनुभएको थियो । महिला उद्यम समितिका सहसंयोजक जयश्री जाजुले महिला सशक्तीकरणका लागि महिलालाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्दै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको आयोजक संस्थाले जनाएको छ । 

मेरो देश, मेरै उत्पादन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुन्नत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मेरो देश, मेरै उत्पादन अभियान सुरु गरेको छ । अभियान जनस्तरसम्म पु¥याउन निमोनिक लोगो फ्रेम र प्रतिबद्धतापत्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियान सुरु गरेको हो । सो अवसरमा मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफ्ना छिमेकी, साथीभाइ, इष्टमित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादन प्रवद्र्धनमा सधंै लागिपर्नेछु भन्ने चारबुँदे प्रतिबद्धता नेपाली कागजमा तयार गरिएको पेपरस्टेन्ड प्रदेशलाई हस्तान्तरण गरिएको बताइएको छ ।

मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चारबँुदे प्रतिबद्धता उल्लेख गरिएको नेपाली कागजमा तयार गरिएको पेपरस्टेन्ड प्रदान गर्दै उद्योग संगठन मोरङका अध्यक्ष प्याकुरेलले स्वदेशी उत्पादन प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ राष्ट्रव्यापीरूपमा २०७७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट मेरो देश, मेरै उत्पादन प्रारम्भ गरिएको अभियान जनस्तरसम्म पुर्‍याउन दोस्रो चरणमा प्रारम्भ गरिएको बताउनुभएको थियो ।


Top