छड उद्योगी विभाजित

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (६:३४ AM)

छड उद्योगी विभाजित

काठमाडौं । छड उद्योगी विभाजित भएका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत् गरेको नयाँ व्यवस्थाको एउटा समूहले स्वागत गरेको छ भने अर्को समूह विरोधमा उत्रिएको छ । ३० स्टिल कम्पनीमध्ये छवटाले बजेटमा भएको व्यवस्थाको स्वागत गरेका छन् भने २४ वटा कम्पनी विरोधमा उत्रिएका छन् । सरकारले प्रतिस्थापन बजेटमार्फत् यहीं उपलब्ध पत्र फलामको छड उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्पन्ज आइरन आयातमा भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था गरेको छ भने बिलेट आयातमा भने भन्सार र अन्तःशुल्क बढाएको छ । जसका कारण बिलेट आयात गरी छड उत्पादन गर्ने उद्योगी आफूहरू मर्कामा पर्ने भन्दै विरोधमा उत्रिएका छन् ।

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनको एउटा समूहले उक्त व्यवस्थाको स्वागत गरेको र अर्को समूह विरोधमा उत्रिएको हो । एउटा समूहले भने सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत् नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गरेको नयाँ व्यवस्थाले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग पुग्ने जनाएको छ । स्वदेशमै बिलेट उत्पादन गर्न कच्चापदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारदर शून्यमा झारिनु स्वागतयोग्य भएको पनि एसोसिएसनले जनाएको छ । उक्त व्यवस्थाले स्वदेशमै कच्चापदार्थमार्फत् बिलेट उत्पादन गर्न र सो बिलेटमार्फत् स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने भएकाले देशभित्रै लगानी विस्तार गर्न, भविष्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जनामा सहयोग पुग्ने पनि उसको ठहर छ ।

बजेटको नयाँ व्यवस्थाले स्वदेशी पुँजी र सीपमार्फत् देशभित्र थप छ अर्बको लगानी रोलिङ मिल्स तथा डण्डी उद्योग थपिने पनि एसोसिएसनको दाबी छ । कोरोनाबाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई नयाँ व्यवस्थाले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरिनबाट बचाउनुका साथै सरकारलाई समेत राजस्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादित विद्युत् खपतमा समेत सहयोग पुग्ने बताइएको छ । हाल स्टिल उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँसमेत स्वदेशभित्रै रहने एसोसिएसनको जिकिर छ । 

एसोसिएसनका अनुसार हाल नेपालमा करिब १६ लाख टन वार्षिक बिलेट उत्पादन रहेको र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुने गरी उद्योग सञ्चालन गर्न सकिनेछ । स्वदेशभित्रै पूर्णरूपमा बिलेट उत्पादन गर्दा ग्राहकले सस्तोमा डण्डी पाउन सक्नेछन् ।

नेपाल रोलिङ मिल्स एसोसिएसनको नाममा केही समूह तथा व्यक्तिहरूले अनधिकृतरूपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेको भन्दै एसोसिएसनले आपत्तिसमेत प्रकट गरेको छ । एसोसिएसनका अनुसार नयाँ व्यवस्थाबाट छ अर्ब बराबरको लगानी थपिने, थप तीन हजार रोजगारी सिर्जना हुने, उद्योगको क्षमता विस्तार हुने र तत्कालै दुई सय २० मेगावाट विद्युत् खपत हुने, डेढ करोड लिटर फर्नेस आयलको खपत घटाई विद्युत्ले प्रतिस्थापन गर्दा कुल चार अर्ब ५० करोड रुपैयाँ बचत हुने, डण्डीको मूल्य प्रतिकेजी तीन रुपैयाँसम्म घट्न सक्नेछ । 

एसोसिएसनका अनुसार हाल ११ लाख ७६ हजार पाँच सय ४६ मेट्रिकटन बिलेट आयात हुँदै आएको छ भने १६ लाख छ हजार दुई सय ३५ मेट्रिकटन डण्डी उत्पादन हुँदै आएकोे छ । 


Top