पाँच मेगावाट सौर्य विद्युत् राष्ट्रिय ग्रिडमा

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (६:४३ AM)

पाँच मेगावाट सौर्य विद्युत् राष्ट्रिय ग्रिडमा

काठमाडौं । नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा सोलार फार्म प्रालिद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । निजी क्षेत्रबाट पहिलो विद्युत् बिक्री सम्झौता (पीपीए) गर्ने उक्त कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । परियोजनाको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री भुसालले सरकारी र निजी क्षेत्रको सहभागितामा ऊर्जा विकास सम्भव हुने बताउनुभयो । उहाँले राज्यतर्फबाट सातै प्रदेशमा जलाशययुक्त आयोजना उत्पादन गर्ने निर्णय गरिएको र प्रदेश नम्बर २ मा दुई सय मेगावाट क्षमताका सोलार आयोजना निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो । गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म निःशुल्क गर्ने निर्णय गरिएकाले त्यसबाट २८ लाख परिवारका एक करोड ४० लाख जनता लाभान्वित हुने उहाँको भनाइ छ ।

विद्युत् दर महँगो रहेको उल्लेख गर्दै मन्त्री भुसालले महसुल दरलाई न्यूनीकरणका लागि सरकारले निर्णय गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘अब हाम्रो भान्सामा विद्युतीय चुलोको प्रयोग गरौं, यसले हाम्रो अर्थतन्त्रको विकास हुन्छ, सँगसँगै व्यापार घाटा पनि न्यूनीकरणमा सहयोग पुग्छ ।’ सरकारले जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले प्रदेश नम्बर १ मा दूधकोसी, प्रदेश नम्बर २ मा सोलार, गण्डकी प्रदेशमा बुढीगण्डकी, लुम्बिनीमा नौमुरे, कर्णालीमा नलसिंगाढ र सुदूरपश्चिममा पश्चिम सेती आयोजनालाई अघि बढाएको जानकारी गराउनुभयो । 

सन् २०१७ बाट निर्माण सुरु भएको सोलार परियोजना कोरोनाका कारण ढिलाइ भएको कम्पनीका अध्यक्ष मोहन गुरुङले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड संक्रमण र निषेधाज्ञाका कारण तोकिएकै समयमा विद्युत् उत्पादन गर्न सकेनौं तर ढिलै भए पनि सोलारबाट विद्युत् उत्पादन गर्न सफल भएका छौं, सोलार आयोजना निर्माण गर्न सबैको सकारात्मक सहयोग प्राप्त भयो ।’ उक्त आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेन्टमेन्ट समूह’ ले लगानी गरेको छ । ४३ करोडको लगानीमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड र स्थानीय केही व्यवसायीको पनि लगानी रहेको छ । कम्पनीले निकट भविष्यमा म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलएन पाण्डेले सरकारले मिश्रित ऊर्जा प्रणालीको अवधारणा ल्याएपछि सोलार परियोजना सुरु गरिएको जानकारी दिनुभयो । सोलार परियोजना जलविद्युत् को  तुलनामा एक तिहाइ कम लगानी हुने भएकाले पनि सोलार परियोजनालाई जोड दिइएको उहाँको भनाइ थियो । डोल्मा इम्प्याक्ट फन्डका सञ्चालक एवं प्रालिका सञ्चालक विद्यावारिधि सिग्देलले नेपालमा नवीकरणीय ऊर्जा, सोलार, जलविद्युत्मा लगानी गरिएको जानकारी दिनुभयो । उक्त फन्डबाट ७५ मिलियन अमेरिकी डलर पुँजी परिचालन गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठले सबैको सहयोगबाट सौर्य परियोजना निर्माणमा सफलता प्राप्त भएको बताउनुभयो ।

आयोजनामा १३ हजार पाँच सयवटा सौर्य प्यानल जडान गरिएको छ । कम्पनीले बेलचौतारास्थित भानुभक्त क्याम्पसको सय रोपनी जग्गा भाडामा लिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०७५ साउनमा पीपीए हुँदा आयोजनाबाट २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत्् दमौली सबस्टेसनमा जोडिने भनिएको थियो । हाल पाँच सय मिटर दूरीको बेलचौतारा सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ । भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो । सोलार परियोजना नेपालकै नमुना भएको कम्पनीले जनाएको छ । विश्वका उच्च प्रविधिको उपकरण यहाँ जडान गरिएको बताइएको छ । आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ भने उत्पादित विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्नेछ । ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पीपीए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो । 


Top