नेबिको पुनः सञ्चालनमा

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (६:०४ AM)

नेबिको पुनः सञ्चालनमा

काठमाडौं । ‘नेबिको इज ब्याक’ भन्दै नेबिको प्रालि पुनः सञ्चालनमा आएको  छ । गत साउन २३ गते भएको भीषण आगलागीबाट नेबिको प्रालि पूर्वरूपमा क्षति भएको उद्योगले ४४ दिनपछि पुनः उत्पादन सुरु गरेको हो । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको प्लान्टमा गत साउन २३ गते आगलागी हुँदा प्लान्ट र मेसिनरी सामग्रीहरू जलेर ध्वस्त भएका थिए । आगलागी भएको छोटो समयमा बुधबारदेखि प्लान्ट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको कम्पनीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ  ।

कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले ५७ वर्षको इतिहास बोकेको प्लान्टमा आगलागी हुँदा सम्पूर्ण उपकरणसँगै भवनमा पूर्णरूपमा क्षति पुगेको भए पनि छोटो समयमा नै उद्योग पुनः सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।

नेबिको प्रालिका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराई आगलागी हुनुभन्दा अगाडि दुईवटा प्लान्टबाट दैनिक २० देखि २२ टन बिस्कुट उत्पादन गर्दै आएको प्लान्टबाट अब दैनिक १६ टन हाराहारीमात्र उत्पादन हुने बताउनुहुन्छ । नेबिकोले सबै प्रकारका बिस्कुट, कुकिज, सेरल्स, कन्फेक्सनरीलगायत करिब ७० प्रकारका उत्पादन गर्दै आएको छ । बालाजु प्लान्टमा आगलागी भएसँगै कम्पनीले भैरहवामा रहेको प्लान्ट २४सै घन्टा सञ्चालनमा ल्याएको छ । कम्पनीले बालाजुमा रहेको प्लान्टबाट पूर्ण क्षमतामा उत्पादन सुरु गरेर आगामी माघ महिनामा हेटौंडामा नयाँ प्लान्ट स्थापना गर्ने जनाएको छ ।


Top