रेमिट्यान्स १८.१ प्रतिशतले घट्यो

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (६:१७ AM)

रेमिट्यान्स १८.१ प्रतिशतले घट्यो

काठमाडौं । अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको रेमिट्यान्स आय घटेको छ । रेमिट्यान्स आयमा १८.१ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २३.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाखमा झरेको छ । अघिल्लो वर्ष १४.५ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले  बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०८९ को पहिलो महिना अर्थात् साउनको तथ्यांकअनुसार रेमिट्यान्स आय घटेको देखिएको हो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा भने उल्लेख्यरूपमा वृद्धि भई १३ हजार आठ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार छ सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो ।

मूल्यवृद्धि ४.३५ प्रतिशत 

साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ । २०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेल, गैरमदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको मूल्य वृद्धि क्रमशः २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ साउनमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । सोयाबिन तेल, पाम तेल, धागो, जुस, पिनालगायतको निर्यात बढेको छ भने अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, तार, तयारी छालाका सामानलगायतको घटेको छ । सो अवधिमा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई एक सय ५० अर्ब ७३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुनलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोसाकलगायतको आयात घटेको छ । चालु आवको पहिलो महिनामा कुल वस्तु व्यापारघाटा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत थियो । भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नौ अर्ब २६ करोड बराबरको यस्तो आयात भएको थियो । 


Top