नेपालमा पनि हाइड्रोजनको परीक्षण हुँदै, ग्रिन हाइड्रोजन निर्यातसमेत गर्न सकिने

लेखनाथ पोखरेल   POSTED ON : आश्विन ९, २०७८ (६:१० AM)

नेपालमा पनि हाइड्रोजनको परीक्षण हुँदै, ग्रिन हाइड्रोजन निर्यातसमेत गर्न सकिने

काठमाडौं । कार्बन उत्सर्जन र जलवायु परिवर्तन विश्वकै टाउको दुखाइ बनेको छ । संसारभर जलवायु परिवर्तनका कारण वातावरणीय जोखिम बढ्दा गम्भीर असर देखिन थालेका छन् । अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो र अत्यधिक तापक्रम वृद्धिले हिमालमा हिउँ पग्लिन थालेका छन् भने विभिन्न रोगव्याधीको प्रकोपले मानवजीवन जोखिमपूर्ण बन्दै गएको छ । खासगरी पेट्रोलियलगायतका ‘फोहोरी’ इन्धन प्रयोगले वातावरणीय जोखिम निम्तिएको भन्दै मानवलगायतका प्राणीको अस्तित्वका लागि वैज्ञानिकहरूले खबरदारी गर्दै आएका छन् । वैज्ञानिकहरूको निरन्तरको खबरदारीपछि पछिल्लो समय विश्व सुरक्षित वैकल्पिक इन्धनको खोजीमा जुटेको छ । सोहीक्रममा हाइड्रोजन इन्धनको विकास भएको छ । हाइड्रोजन शून्य कार्बन उत्सर्जन गर्ने वैकल्पिक इन्धन हो ।

तर, नेपाल भने अझै पनि पेट्रोलियम इन्धनमै रमाइरहेको छ । राज्यले पेट्रोलियम इन्धनको विकल्प जलविद्युत्मात्रै देखिरहेको छ, हाइड्रोजनबारे बेखरजस्तै छ । तथापि राज्यले बेवास्ता गरे पनि हाइड्रोजन इन्धनको बहस भने सुरु भएको छ । बहसमात्रै सुरु भएको छैन, नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयु) को सहकार्यमा हाइड्रोजन इन्धनको अध्ययन अनुसन्धान नै सुरु भइसकेको छ । विगतमा वैकल्पिक ऊर्जालाई ‘सौता’ ठान्ने आयल निगम अहिले हाइड्रोजन इन्धनबाट मात्रै आफ्नो भविष्य सुरक्षित देख्न थालेको छ । अन्यथा, निगमको हालत पनि सरकारी स्वामित्वको तत्कालीन नेपाल टिम्बर कर्पोरेसनको जस्तै हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल नै बताउनुहुन्छ । त्यसो त समयअनुसार आफूलाई परिवर्तन नगर्ने र विश्वले आत्मसात गरेको प्रविधिलाई बेवास्ता गर्ने हो भने विश्वभर पेट्रोलियम बिक्री गर्ने अरबियन मुलुक पेट्रोलियम उत्पादन बन्द गरेर हाइड्रोजनतिर लागे भने निगमले के बिक्री गर्ला ? पेट्रोलियम उत्पादक अरेबियन मुलुकले त्यस्तो संकेत दिइसकेका छन् ।

हाइड्रोजन परीक्षण सुरु

केयुकोे खोज अनुसन्धान विभागले ‘ग्रिन हाइड्रोजन’ उत्पादनको परीक्षणसमेत गरिसकेको छ । आगामी छ महिनाभित्र आफूले उत्पादन गरेको हाइड्रोजनबाट गाडीसमेत गुडाउने उसको तयारी छ । हाल केयुमा दुई सय लिटर प्रतिघण्टा हाइड्रोजन उत्पादन गर्ने क्षमताको प्रविधि रहेको छ । केयु ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराज सिंह थापाका अनुसार एक केजी हाइड्रोजनबाट ३३ युनिट विद्युत् उत्पादन गर्न सकिन्छ । हाइड्रोजनको मुख्य कच्चा पदार्थ जलविद्युत् नै भएकाले नेपालले हाइड्रोजन उत्पादन गरेर निर्यातसमेत गर्न सक्ने उहाँ बताउनुहुन्छ । खेर जाने विद्युत्लाई हाइड्रोजनमा उपयोग गर्न सकिने भएकाले विद्युत् निर्यात बजारको चिन्ता पनि नहुने उहाँको भनाइ छ । नेपालमा दैनिक ३५ सय मेगावाट विद्युत् खेर जाँदैछ । उक्त खेर जाने विद्युत्बाट तीन लाख ५० हजार मेट्रिकटन हाइड्रोजन उत्पादन गर्न सकिन्छ । थापाका अनुसार हाल विश्व बजारमा हाइड्रोजनको मूल्य प्रतिलिटर पाँच डलर छ । तर, सरकारले विद्युत्मा सहुलियत दिने हो भने नेपालमा प्रतिलिटर एक डलरमै उत्पादन गर्न सकिन्छ । 

पेट्रोलियमले एकातर्फ प्रदूषण बढाएको छ भने अर्कोतर्फ व्यापार घाटासमेत बढाएको छ । निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार नेपालमा डिजेलको मासिक खपत बढेर एक लाख ५५ हजार किलोलिटर पुगेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा १७ लाख किलोलिटर डिजेल आयात भएको छ । सो आवमा कुल एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम इन्धन आयात भएको थियो । यस्तै अवस्था रहिरहेमा स्न २०४० सम्ममा पेट्रोलियम आयात दोब्बरले बढ्ने निगमको प्रक्षेपण छ । त्यस्तै हाल नेपाली सिमेन्ट उद्योगमा वार्षिक २६ अर्बको कोइला प्रयोग भइरहेको छ । 

भण्डारण कसरी गर्ने ?

हाइड्रोजन पेट्रोलियम इन्धनको तुलनामा बढी स्टोर गर्न सकिने इन्धन हो । ब्याट्रीको तुलनामा त चार सय गुणा बढी स्टोर गर्न सकिन्छ । एक केजी ब्याट्रीले जति गाडीलाई धकेल्न सक्छ, एक केजी हाइड्रोजनले चार सय गुणा बढी धकेल्न सक्छ । यसलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ । केयुस्थित ग्रिन हाइड्रोजन ल्याबका रिसर्चर अभिषेक सुवेदीका अनुसार पछिल्लो समय विभिन्न मुलुकले हाइड्रोजनलाई सिडीमा स्टोरेज गर्ने प्रविधिको पनि अध्ययन गरिरहेका छन् । एउटा सिडीमा भएको हाइड्रोजनले एक सयदेखि दुई सय किलोमिटरसम्म गाडी गुड्न सक्छ । हाइड्रोजन ब्याट्रीभन्दा करिब तीन सय गुणा हलुका हुन्छ । सोलार, हावा, जलविद्युत्, वायोमासलगायतबाट हाइड्रोजन उत्पादन गर्न सकिन्छ । 

के गर्दैछ विश्व ? 

विश्वका अधिकांश मुलुक हाइड्रोजन इन्धनको अध्ययन, अनुसन्धान र विकासमा जुटेका छन् । सन् २०५० सम्ममा युरोपियन युनियन र अमेरिकाले कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गरेका छन् । चीनले पनि सन् २०६० मा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । नर्वेले सन् २०२५ देखि पेट्रोलियमबाट चल्ने नयाँ गाडी खरिदमा रोक लगाएको छ भने पुराना गाडीमा पनि हरेक वर्ष पाँच प्रतिशतका दरले कर वृद्धि गर्दै जाने नीति लिएको छ । बेलायतले २०२४ पछि कोइला प्रयोगमा रोक लगाएको छ । हाइड्रोजनले सञ्चालन हुने बस र रेलहरू युरोपमा गुड्न थालिसकेका छन् भने बोइङ र एयरबस मिलेर सन् २०३५ मा युरोपबाट उडेर अस्ट्रेलियासम्म पुग्ने हाइड्रोजन विमानको मोडलसमेत तयार गरेका छन् । हवाईजहाज अत्यधिक इन्धन खपत गर्ने साधन हो, जसले अत्यधिक कार्बन उत्सर्जन गर्छ । अझ रोचक पक्ष त के छ भने हाल विश्व बजारमा पेट्रोलियम इन्धन बिक्री गर्दै आएका अरेबियन मुलुक नै हाइड्रोजनको विकास र विस्तारमा अग्रपंक्तिमा देखिएका छन् । साउदी अरब सबैभन्दा बढी पेट्रोलियम निर्यात गर्ने मुलुक हो तर उसले चार हजार मेगावाटको हाइड्रोजन प्लान्ट स्थापना गरेको छ । त्यतिमात्र होइन, हाइड्रोजन मेगासिटी नै स्थापना गरेको छ । उसले विश्व बजारमा सात हजार विलियन युएस डलर बराबरको हाइड्रोजन इन्धनको मार्केट कब्जा गर्ने रणनीति अख्तियार गरेको छ । युएईले त हाइड्रोजनको रिफिलिङ स्टेसन नै स्थापना गरेर हाइड्रोजन बससमेत सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै ओमानले सोलार प्लान्टको २५ हजार मेगावाटको प्रोजेक्ट सुरु गरेको छ । अस्ट्रेलिया र नर्वे सबैभन्दा सस्तो हाइड्रोजन उत्पादन गरेर निर्यातको तयारीमा लागेका छन् । 

त्यसो त हाइड्रोजन अहिले पत्ता लागेको होइन, दुई सय वर्षअघि नै वैज्ञानिकले पत्ता लगाएका हुन् । तर, त्यतिबेला उपलब्ध प्रविधिबाट हाइड्रोजन इन्धन उत्पादन निकै महँगो पर्ने भएकाले प्रयोगमा आउन नसकेको मात्रै हो । 

त्यसैले विश्वले स्वीकार गरेको हाइड्रोजनको अध्ययन, अनुसन्धान र विकासमा नेपालले पनि जोड दिनुपर्ने देखिएको छ । अन्यथा अन्य क्षेत्रजस्तै ऊर्जामा पनि नेपाल पछि पर्नेछ । विमान उत्पादक कम्पनीहरूले हाइड्रोजन विमान उत्पादन सुरु गरिसकेका छन् भने हाइड्रोजन गाडी पनि उत्पादन हुँदैछन् । त्यसैले भविष्यमा नेपालमा पनि हाइड्रोजन विमान अवतरण नहोला भन्न सकिन्न । त्यसका लागि नेपाल अहिलेदेखि तयारीमा लाग्नुपर्नेमा हाइड्रोजन अभियन्ताहरूले जोड दिएका छन् ।

डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालै वायु प्रदूषणको अवस्था सोचिएभन्दा खतरनाक रहेको चेतावनी दिएको छ । उसले वायु प्रदूषणलाई पनि धूमपान र अस्वस्थ आहारकै श्रेणीमा राखेको छ । नोभेम्बरमा हुने कोप २६ सम्मेलनअघि डब्युएचओले सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनका सम्बन्धमा काम गर्न आग्रह गरेको छ । हालै प्रकाशित नयाँ निर्देशिकामा डब्युएचओले पीएम २.५ भनिने सूक्ष्म कणको अधिकतम् मात्रा पहिलाभन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए हानिकारक हुने जनाएको छ । त्यस्ता कणहरू ऊर्जा उत्पादनका लागि इन्धन बाल्दा र सवारीसाधनका इन्जिनले उत्पादन गर्छन् । ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मनोक्साइडलाई पनि हानिकारक प्रदूषकमा राखेको छ । डब्युएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभर प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ ।


Top