औद्योगिक सर्वेक्षण २०७८ को तथ्यांक संकलन

हिमालय टाइम्स   POSTED ON : आश्विन ११, २०७८ (६:२९ AM)

औद्योगिक सर्वेक्षण २०७८ को तथ्यांक संकलन

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलन सुरु गरेको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलले तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरु गरिएको बताउनुभयो । 

सुनसरी र मोरङस्थित संगठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्यांक संकलन गरिने कार्यक्रम रहेको संगठनका महानिर्देशक चुडामणि भट्टराईले जानकारी गराउनुभयो । उद्योगका विविध आयाम समेटिएका करिब एक सय प्रश्न लिएर पाँचजना गणक तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्नेछन् । संगठनले तथ्यांकको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकले मोबाइल एपबाट तथ्यांक संकलन गर्नेछन् र संकलित तथ्यांकको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिनेछ ।

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालित तथ्यांक संकलनको काम असोजभित्र सक्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने बताइएको छ । संगठनले तथ्यांक संकलनका लागि खटिने संगठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्यांक उपलब्ध गराई संगठनको औद्योगिक तथ्यांक र डाटाबेस तयार गर्ने यो अभियानमा साथ सहयोग गर्न संगठनका सदस्य उद्योग प्रतिष्ठानलाई संगठनले अपिलसमेत गरेको छ । 


Top