२६ देशका राजदूत तथा प्रतिनिधि पोखरामा, पर्यटकलाई नेपाल खुला भएको सन्देश दिँदै

हिमालय टाइम्स   POSTED ON : आश्विन ११, २०७८ (६:३६ AM)

२६ देशका राजदूत तथा प्रतिनिधि पोखरामा, पर्यटकलाई नेपाल खुला भएको सन्देश दिँदै

काठमाडौं । कोरोनापछि थलिएको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विभिन्न २६ देशका राजदूत तथा प्रतिनिधिले ‘पर्यटकका लागि नेपाल खुला छ, हामी घुम्दै छौं’ भन्ने सन्देश दिने भएका छन् । उनीहरूले पोखराबाट यस्तो सन्देश दिने नेपाल पर्यटन बोर्डले जनाएको छ । गण्डकी प्रदेशको आयोजना र बोर्डको समन्वयमा नेपालमा रहेका विभिन्न २६ देशका प्रतिनिधिले पोखरा घुम्ने र नेपाल घुम्न आउन सकिने सन्देश दिनेछन् ।

बोर्डका अनुसार महामारीपछि पर्यटकका लागि नयाँ स्वास्थ्य प्रोटोकल आएपछि धेरै देशलाई सकारात्मक सन्देश दिन खोजिएको हो । तीन दिन विभिन्न देशका राजदूत तथा प्रतिनिधिलाई घुमाउने र सोमबार मनाइँदै गरेको विश्व पर्यटन दिवसका अवसरमा नेपालको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिन खोजिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.  धनञ्जय रेग्मीले बताउनुभएको छ । विभिन्न देशका राजदूत तथा प्रतिनिधि आइतबार नै काठमाडौंबाट पोखरा पुगेका छन् । गण्डकी प्रदेश र बोर्डले उनीहरूको स्वागत गरेका थिए । नेपालमा पर्यटकका लागि अनअराइभल भिसा खुलेको, खोप लगाएका पर्यटकले क्वारेन्टिनमा बस्नुनपर्ने र निर्वाधरूपमा घुम्न सकिने सन्देश दिन यस्तो  कार्यक्रम आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।

सम्भावनाको ढोका खुल्योः हान

होटल संघ नेपाल (हान) ले कोरोनाका कारण लामो समयदेखि थला परेको भए पनि अब पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खुलेको जनाएको छ । लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नुनपर्ने जस्ता कार्यबाट पर्यटन क्षेत्र उत्साहित भएको हानद्वारा आइतबार जारी प्रेस  विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण सेवाहरू बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने हानले जनाएको छ । विदेशबाट खोपको पूर्ण मात्रा पूरा गरी भ्रमणमा आउने पाहुनालाई खोपको मात्रा पूरा भएका करिब ९५ प्रतिशतभन्दा बढी अग्रपंक्तिमा रही खटिने कर्मचारी तथा कामदारबाट सेवासुविधा उपलब्ध हुने भएकाले संक्रमण पनि न्यून हुने हानले उल्लेख गरेको छ ।

विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवासुविधा उपलब्ध गराउन हामी सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि हानले प्रतिबद्धता जनाएको छ । हाल पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशतभन्दा बढी नेपाली नागरिकले खोप लगाइसकेकाले अन्तर्राष्ट्रिय जगत्मा मुलुकलाई रेड जोनबाट हटाउन पहल गर्न पनि हानले माग गरेको छ । सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थासम्बन्धी आदेश, २०७८ को शीघ्र पूर्णरूपमा कार्यान्वयन र कतिपय द्विविधा भएका विषयहरूमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अबिलम्ब लागू गरी पर्यटन पुनरुत्थानका लागि सहजीकरण गर्न हानले सरकारको ध्यानाकर्षणसमेत गराएको छ । 


Top