औद्योगिक-शैक्षिक संवाद

हिमालय टाइम्स   POSTED ON : आश्विन २२, २०७८ (६:०६ AM)

औद्योगिक-शैक्षिक संवाद

मोरङ । औद्योगिक तथा शैक्षिक क्षेत्रबीचको अन्तरसंवाद अभिवृद्धि गरी अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पुर्‍याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले औद्योगिक-शैक्षिक संवाद आयोजना गरेको छ । संगठनअन्तर्गतको स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको आयोजनामा इकोनोमिक ग्रोथ-आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेसन विषयक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग संगठन मोरङ स्व. महेन्द्र गोल्छाले देखाएको बाटोमा अघि बढेको बताउँदै मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक र शैक्षिक क्षेत्रबीचको अन्तरसंवादलाई घनिभूत बनाउँदै अध्ययन अनुसन्धानमा लगानी अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले दुवै क्षेत्रबीचको निरन्तर संवादले औद्योगिक र शैक्षिक क्षेत्रलाई नजिक्याउँदै आर्थिक विकासका सन्दर्भमा नयाँ आयाम थपी औद्योगिक क्षेत्रको मागअनुरूपको जनशक्ति उत्पादनलाई बढावा दिने बताउनुभयो ।

उद्योगी नवीन पोद्दारले ५८ वटा मुलुकको आर्थिक तथ्यांकलाई विश्लेषण गरी तयार पारेको अनुसन्धान रिपोर्ट आउटवर्ड भर्सेस–इनवार्ड ओरिएन्टेसन विषयक कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहित गरेका मुलुकले आर्थिक सम्पन्नता प्राप्त गरेको बताउनुभयो । 

आन्तरिक बजारमा स्वदेशी वस्तुको प्रवद्र्धन गरी तुलनात्मक लाभ र मूल्य अभिवृद्धि हुने वस्तुको पहिचान गरी निर्यात प्रोत्साहन नीतिलाई अंगिकार गरेका मुलुक दु्रत गतिमा आर्थिक प्रगतितर्फ उन्मुख भएको अध्ययनले देखाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमका प्रदेश १ का प्रमुख सचिव रामप्रसाद घिमिरेले सरकार, निजी क्षेत्र र विश्वविद्यालयको त्रिपक्षीय साझेदारीको आवश्यकतामा जोड दिँदै उच्च मूल्य अभिवृद्धिको सम्भावना भएका वस्तुको पहिचान गरी आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने बताउनुभयो  । प्राडा प्रमोदकुमार झाले न्यायसंगत आर्थिक विकासलाई अँगाल्दै अध्ययन अनुसन्धानका आधारमा नयाँ सम्भावना खोजी आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन अनुसन्धान केन्द्रका संयोजक प्राध्यापक डा. विजु थपलिया, सदस्य युक्ति गोल्छा, सदस्य सचिव चुडामणि भट्टराई, फोकल पर्सन प्रीति कोइराला भट्टराईका साथै उद्योगी/व्यवसायी, प्राध्यापक र विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ । 


Top