बागमती प्रदेशमा एग्रिगेटर सूचना बैंक

श्रीराम अर्जुन   POSTED ON : आश्विन २३, २०७८ (५:४८ AM)

बागमती प्रदेशमा एग्रिगेटर सूचना बैंक

मकवानपुर । करिब दुई वर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरका रूपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम हाल बागमती प्रदेशका सात मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ । शुक्रबार एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानुनमन्त्री अजयक्रान्ति शाक्यले सूचना बैंकको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेल, सञ्चार रजिष्ट्रार रेवती सापकोटालगायतको उपस्थिति रहेको थियो ।

बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई सूचना बैंकमा लिंक गर्दा यो बागमती प्रदेशको सूचना बैंकले पूर्णता पाउनेछ । यसरी नै बाँकी छवटा प्रदेशले पनि आ-आफ्नो प्रदेशको सूचना बैंक बनाइदिएमा संघीय सरकारले सातवटै प्रदेशका सूचना बैंकलाई लिंक गरी नेपालको सूचना बैंक बनाउन सकिने बताइएको छ । सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेबसाइट सर्च गर्नुपर्दैन, सूचना बैंकको पोर्टलमा जाँदा ती १४ वटै कार्यालयका वेबसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ । हाल समेटिएका १४ वटै कार्यालयका सूचना वा दस्तावेज सूचना बैंकको पोर्टलबाटै डाउनलोड गर्नसमेत सकिने रजिष्ट्रार सापकोटाले बताउनुभयो । नेपालमा पहिलोपटक सूचना बैंक सञ्चालनमा आएको उहाँको भनाइ छ । 

नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार एवं सूचनाको हक संरक्षण र संवद्र्धन गर्दै प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ को दफा ५५ बमोजिम यो सूचना बैंक बनेको सापकोटाले बताउनुभयो । प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेशले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वका सूचना संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकाले सञ्चार रजिष्ट्रारको कार्यालयले सूचना बैंकको स्थापना गरेको हो ।


Top