दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

दीपक घिमिरे   POSTED ON : आश्विन २३, २०७८ (५:५६ AM)

दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

भैरहवा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप यस वर्ष किसानले ४६ लाख छ हजार पाँच सय ६९ रुपैयाँ प्राप्त गरेका छन् । किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् बिक्री गरिएको दूधको परिमाणअनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका छन् । शुक्रबार १६ सहकारीले अनुदान रकम बुझेका छन् भने बाँकी पाँच सहकारीले आवश्यक कागजात उपलब्ध गराएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम केही दिनभित्रै किसानको हातसम्म पु¥याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले अघिल्लो दुई आर्थिक वर्षमा पनि किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले उत्पादनका आधारमा अनुदान रकम दिने नीति लिएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो ।

यस वर्ष सबैभन्दा बढी अनुदान रकम वडा १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले नौ लाख ९४ हजार छ ४५ रुपैयाँ प्राप्त गरेको छ भने सोही वडाकै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले पाँच लाख ६६ हजार एक सय एक रुपैयाँ, वडा १२ को गोकुल दुग्ध उत्पादक सहकारीले चार लाख पाँच हजार नौ सय ४४ रुपैयाँ, वडा ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले तीन लाख नौ हजार पाँच सय ७५ रुपैयाँ प्राप्त गरेको छ ।

गत वर्ष नगरपालिकाले किसानलाई ४५ लाख ९८ हजार आठ सय २१ रुपैयाँ अनुदान प्रदान गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दूध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दूध सहकारीमार्फत् बिक्री हुने गरेको छ ।

दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले जिल्लाका अन्य पालिकाले नगरेको काम तिलोत्तमाले गरेको भन्दै सोझै किसानको हातमा रकम जाने अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । शंकरनगर दुग्ध उत्पादक सहकारीका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताउनुभएको थियो ।

Top