पिक आवरमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत्

हिमालय टाइम्स   POSTED ON : आश्विन २३, २०७८ (६:०२ AM)

पिक आवरमा नचलाउने शर्तमा उद्योगलाई थप विद्युत्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहान (पिक आवर) मा उद्योग नचलाउने शर्तमा औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत् बर्खामा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत शर्तसहित उद्योगलाई विद्युत् उपलब्ध गराउन लागेको हो । प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिनसमेत आग्रह गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीसँग बिहीबार छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गर्नुभयो । उद्योगले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत्को महसुल सस्तो छ । उहाँले भन्नुभयो, ‘एकातर्फ प्रसारण तथा वितरण प्रणाली संरचनाले नधान्दा मागेजति विद्युत् दिन सकिरहेका छैनौं भने अर्कोतर्फ मुलुकभित्र उत्पादित विद्युत् खेर फाल्नुपर्ने अवस्था छ, लाइन ट्रिपिङ हुने, कम भोल्टेजलगायतको समस्या छ । यस्तो अवस्था अन्त्यका लागि एउटा÷दुईवटा टान्सफर्मर, पोल, कन्डक्टरजस्ता उपकरण थपेरमात्रै नहुने देखिएको छ, यसका लागि मुख्यरूपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत् सुदृढीकरणको काम अघि बढाउँदै छौं ।’ उहाँले उत्पादनतर्फ भन्दा पनि प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी विद्युत् खपत बढाउन पूर्वाधारमा लगानी बढाइने बताउनुभयो । घिसिडका अनुसार दैनिक माग दुई हजार मेगावाट हाराहारीमा पुगेको छ तर पूर्व-पश्चिम विद्युत् आपूर्तिका लागि १३२ केभीको मात्रै प्रसारण संरचना छ, प्रसारण सञ्जाल विस्तारका लागि चार सय सय र दुई सय केभीका लाइन निर्माणाधीन छन् तर स्थानीयको अवरोध, अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रक्रिया र रुख कटानीको स्वीकृतिमा भएको ढिलाइ, ठेकेदारको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुन सकिरहेको छैन, छिटो सम्पन्न गर्न सबै निकायसँग समन्वय र सहकार्य भइरहेको छ । 

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गर्ने उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र  निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित क्षेत्रको पहिचाहन गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गरिने प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिले मोरङ-सुनसरी औद्योगिक करिडोरमा सञ्चालित उद्योगले दैनिकरूपमा ट्रिपिङ, न्यून गुणस्तरलगायतको समस्या समाधान गरी विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित गर्न माग गरेका छन् । मोरङ-सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ । विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संघठनका प्रतिनिधि सदस्य रहेका छन् । समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायसहित सुझाव दिने प्राधिकरण प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजन ढकालले जानकारी दिनुभयो । 

Top