तीन ब्रोकर कम्पनीलाई नेप्सेको स्पष्टीकरण

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (६:३४ AM)

तीन ब्रोकर कम्पनीलाई नेप्सेको स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन ब्रोकर कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सुमेरु सेक्युरिटिज पब्लिक, त्रिशक्ति सेक्युरिटिज पब्लिक र नासा सेक्युरिटिज कम्पनीलाई स्पष्टीकरण सोधेको हो । उल्लेखित कम्पनीले नियमविपरीत काम गरेको भन्दै तीनवटै ब्रोकरलाई ७ दिने स्पष्टीकरण सोधेको हो । ब्रोकरमध्ये सुमेरु सेक्युरिटिजले ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको पाइएको नेप्सेले जनाएको छ । जुन धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ मा गर्न नहुने भनी उल्लेख छ । यससँगै नेप्सले सो बमोजिम किन कारबाही नगर्ने भन्दै सोको जवाफ सात दिनभित्र आइपुग्ने गरी स्पष्टीकरण मागेको हो ।

त्यस्तै त्रिशक्ति सेक्युरिटिजमा पनि ग्राहक स्वयंले व्यक्तिगत पहिचान विवरण अनलाइन रजिष्ट्रेशनबाट नेप्सेमा प्रविष्ट गरेको र ब्रोकरको युजरबाट उक्त विवरण प्रमाणित गर्नेक्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको नेप्सेले जनाएकोे छ । उक्त कार्यसँगै ब्रोकरले झुटा विवरण नेप्से प्रणाली प्रविष्ट गरी कसुर गरेको भन्दै त्रिशक्तिलाई पनि सातदिने स्पष्टीकरण सोधेको हो ।

५८ नम्बर ब्रोकर नासा सेक्युरिटिजबाट पनि ग्राहकको विवरण टिएमएसमा प्रविष्ट गर्नेक्रममा बाजेको नाम प्रविष्ट गर्नुपर्नेमा भुलबस ग्राहकको आमाको नाम तथा जन्ममिति प्रविष्ट भएको नेप्सेले जनाएको छ । ब्रोकरले उक्त त्रुटि थाहा हुनेबित्तिकै सच्याएको पत्रसमेत नेप्सेलाई बुझाइसकेको छ । सोसम्बन्धी स्पष्टीकरणपछि पूर्वजानकारी नगराई सच्याएको भन्दै नेप्सेले नासालाई पनि स्पष्टीकरण सोधेको छ ।

सेयरमा गिरावट

सोमबार अधिकांश कम्पनीको सेयर मूल्य २३.१९ अंकले घटेको छ । यस दिन ९३ लाख १४ हजार सात सय ८० कित्ता सेयर तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९२ रुपैयाँमा कारोबार भएको छ । ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ५२ कम्पनीको सेयर मूल्य घटेको छ । १८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य भने ५.०९ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य पनि ७.८८ प्रतिशतले बढेको छ । उपसमूहतर्फ म्युचुअल फण्ड र लगानी समूहमा सामान्य वृद्धि भएको छ ।

Top