ऊखु किसानले पाए अनुदान रकम

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (६:३७ AM)

ऊखु किसानले पाए अनुदान रकम

सर्लाही । विगत वर्षमा आफ्नो भुक्तानी नपाएर हैरान रहेका सर्लाहीका ऊखु किसानले यस वर्ष भने आफूले बेचेको ऊखुको भुक्तानी पाएका छन् ।  विगत वर्षमा किसानलाई उद्योगी र सरकार दुवैतिरबाट समयमा भुक्तानी नभएकोमा यस वर्ष भने समयमै भुक्तानी पाएका हुन् ।

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी मिलमा ऊखु बेचेका किसानले सम्पूर्ण भुक्तानी पाइसकेका छन् भने बगदहमा रहेको महालक्ष्मी सुगर मिलमा चिनी ऊखु दिएका किसानको भने केही रकम भुक्तानी हुन बाँकी रहेको छ । किसान  प्रतिनिधि र सरकारसँग भएको सम्झौतामा उखु बिक्री गरेको २१ दिनभित्र भुक्तानी दिने सम्झौता भए पनि किसानले भने केही ढिला गरी मात्र रकम पाएका छन् । यस वर्ष सरकारले किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) छुट बापत दिँदै आएको रकमसमेत दशँैअघि नै किसानको खातामा हालिदिएको छ ।

यस वर्ष सरकारले दिँदै आएको ६५ रुपैयाँ २८ पैसासमेत किसानको खातामा गइसकेको छ । सर्लाहीको इन्दु शंकर सुगर मिलमा ऊखु बेचेका कुल नौ हजार तीन सय ६० किसानले बेचेको  २२ लाख १० हजार एक सय ७१.७१ क्विन्टल ऊखुको १४ कडोड ४२ लाख ८० हजार नौ रुपैयाँ २३ पैसा र महालक्ष्मीमा ऊखु दिएका तीन हजार सात सय ८० किसानले बेचेको आठ लाख ६३ हजार २९३.५६ क्विन्टल ऊखुको अनुदानबापतको पाँच करोड ६३ लाख ५५ हजार ८०३.५९ रुपैयाँ किसानको खातामा हालिसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख दामोदर पौडेलले जानकारी दिनुभएको छ ।

Top