मुख्य बाजा यहीँ उत्पादन गर्नेे विमलको सपना

लेखनाथ पोखरेल   POSTED ON : आश्विन २६, २०७८ (६:४९ AM)

मुख्य बाजा यहीँ उत्पादन गर्नेे विमलको सपना

काठमाडौं । आफ्नै नाम ‘विमल’ ब्राण्डमा  नेपालमै हार्मोनियम उत्पादन सुरु गर्नुभएका  ‘हार्मोनियम डाक्टर’ विमल शाहले ढोलक, तबला, खैंजडीलगायत पनि विमल ब्राण्डमै उत्पादन गरिने बताउनुभएको छ । हाल उहाँले वर्षमा डेढ सय तबला बिक्री गर्दै आउनुभएको छ । तबला सेटलाई न्यूनतम आठ हजार रुपैयाँ पर्छ ।

 हाल हार्मोनियम, मादल, बाँसुरी, तबला, डोलक, पियानो, खैंजडीलगायत अधिकांश बाजा आयात हुने गरेको छ । बाजामा बढ्दो परनिर्भरता कम गर्न बढी प्रयोगमा आउने हार्मोनियम, तबला, ढोलकलगायत यहीँ उत्पादन गर्न सकिने शाह बताउनुहुन्छ । हार्मोनियमलगायत बढी प्रयोगमा आउने बाजाहरू यहीँ उत्पादन गर्ने उहाँको लक्ष्य छ । ‘बिना’ लगायतका विभिन्न भारतीय ब्राण्डका हार्मोनियम बिक्री गर्दै आउनुभएका शाहले आगामी दिनमा आफ्नै विमल ब्राण्डमात्रै बिक्री गर्ने बताउनुभएको छ । आयातित हार्मोनियममा वारेन्टी नभएकाले पनि वारेन्टीसहित आफ्नै ब्राण्डको मात्रै कारोबार गर्ने सोच बनाएको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । 

हालसम्म आफ्नै ब्राण्डमा छ सयभन्दा बढी हार्मोनियम बनाएर बिक्री गरिसकेका शाहले भारतीय ‘बिना’ ब्राण्डभन्दा विमल ब्राण्ड गुणस्तरीय रहेको दाबीसमेत गर्नुभएको छ । हार्मोनियमका लागि आवश्यक काठका पार्टपूर्जा पनि यहीँ बनाउनुहुन्छ तर अन्य पार्टपूर्जा भने भारतबाटै मगाउने गरिएको बताउनुभयो । 

शाहका अनुसार हार्मोनियमको महत्वपूर्ण पार्टपूर्जा भनेको ‘रिड’ हो । रिड बनाउने मेसिनलाई ५० लाख पर्छ । त्यसैले रिड भने भारतबाटै ल्याउने गरिएको छ । भविष्यमा रिड पनि नेपालमै उत्पादन गर्ने उहाँको सपना छ । किनभने हार्माेनियमको विकल्प हार्मोनियममात्रै रहेको उहाँ बताउनुहुन्छ । उहाँ विमल ब्राण्ड निर्यातको तयारीमा समेत लाग्नुभएको छ । त्यसो त व्यक्तिगतरूपमा अहिले पनि शाहले बनाएका हार्मोनियम धेरै मुलुकमा गइरहेको छ । उहाँले अमेरिका, कतार, मलेसिया, साउदी अरब र पाकिस्तान पठाउनुभएको छ । गुणस्तरीय हार्माेनियम बनाएर व्यावसायिकरूपमै अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उहाँको लक्ष्य छ । गुणस्तरीय हार्मोनियम भारत पनि निर्यात गर्न सकिने उहाँ बताउनुहुन्छ । 

निषेधाज्ञा खुलेपछि भ्याइनभ्याई

कोरोना लकडाउनमा बन्द रहेको उहाँको हार्माेनियम कारखानामा अहिले कामको निकै चाप छ । विद्यालय, मन्दिर, संगीत केन्द्रहरू खुलेकाले कामको चाप बढेको उहाँले बताउनुभयो । शाह भन्नुहुन्छ, ‘लकडाउन, निषेधाज्ञा खुला भएकाले अहिले भ्याइनभ्याई छ । नयाँ हार्मोनियम खरिद गर्न आउने, ट्युनिङ गराउन आउने र मर्मतका लागि आउनेक्रम हृवात्तै बढेको छ ।’ कामको चाप बढेकाले आप्mनै परिवारका पाँचजना दिनरात खटिरहेका छन् । उहाँको काममा श्रीमती, छोरा र भान्जाले साथ दिँदै आउनुभएको छ । उहाँको हार्मोनियम ट्युनिङ कलाका कारण पनि धेरैजसो गायक संगीतकार शाहकैमा जाने गरेका छन् । शाहले नेपाल र भारतका अधिकांश चर्चित गायक तथा संगीतकारका हार्मोनियम ट्युनिङ र मर्मत गर्नुभएको छ । 

हार्मोनियम ट्युनिङ गर्न एक घण्टादेखि छ घण्टासम्म लाग्ने उहाँ बताउनुहुन्छ । ट्युनिङ शुल्क एक हजारदेखि चार हजार रुपैयाँसम्म लिनुहुन्छ । शाहले कलकत्तामा गएर हार्मोनियमको दुईवर्षे ट्युनिङ कोर्स लिनुभएको छ । हार्मोनियम बनाउने सीप भने यहीँ आफन्तबाट सिक्नुभएको हो । शाहका अनुसार हार्मोनियमलाई १६ हजारदेखि एक लाखसम्म पर्छ । एक लाखभन्दा बढी पर्ने हार्मोनियम पनि छन्, त्यस्ता हार्माेनियम प्रयोग गर्ने व्यक्तिको संख्या भन्ने नगन्य छ ।

लाइभ बाजाको प्रयोग घट्दोक्रममा 

नेपाल  लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलका अनुसार विगतमा नेपालमा एक हजार तीन सय ५० बाजा प्रचलनमा थिए । जसमध्ये छ सय ५५ बाजा अहिले पनि लोकबाजा संग्रहालयमा रहेका  छन् । तर, धेरैजसो बाजा आयात हुने गरेका छन् । संगीतकार सन्तोष श्रेष्ठका अनुसार एउटा गीतमा कम्तीमा पनि एक दर्जन बाजा प्रयोग हुने गर्छ । तर, एक दर्जन बाजा प्रयोग भए पनि अधिकांश बाजा कम्प्युटरबाटै बजाउने गरिएकाले स्टुडियोमा लाइभ बाजाको प्रयोग घट्दै गएको छ ।

वरिष्ठ वाद्यबाधक कुमार महाराजका अनुसार पछिल्लो समय लाइभ बाजाको प्रयोग ९० प्रतिशतले घटेको छ । जसका कारण वाद्यबाधकहरूको पेशा नै संकटमा पर्न थालेको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो । महाराजले भन्नुभयो, ‘लाइभ बाजा लाइभ कार्यक्रममा मात्रै सीमित हुन थालेको छ, स्टुडियोहरूमा करिब ९० प्रतिशत बाजा कम्प्युटरबाटै तयार गरिन्छ । भजनकीर्तन र लाइभ कार्यक्रममा मात्रै लाइभ बाजा प्रयोग हुने गरेको छ । महाराजका अनुसार कम्प्युटर बाजासँगै ड्रम र कंगो बजाउने वाद्यबाधक विस्थापित भएका छन् । उहाँले आयातित बाजाको तुलनामा नेपाली लोकबाजा गुणस्तरीय रहेको पनि बताउनुभयो । नेपालमा प्रयोग हुने अधिकांश लोकबाजा यहीँ बन्ने गरेका छन् । नेवारी बाजा, सारंगी, मादल, पञ्चेबाजाहरू यहीँ बन्छन् । त्यसो त सारंगी, मादलहरू भारतबाट आयात हुने गरेको उहाँले बताउनुभयो । 

Top