दक्ष जनशक्ति उत्पादनमा लगानी गर्न आग्रह

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७८ (५:४८ AM)

दक्ष जनशक्ति उत्पादनमा लगानी गर्न आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा उहाँले शिक्षित बेरोजगार समस्या अन्त्यका लागि दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो । मन्त्री पौडेलले भन्नुभयो, ‘विश्वविद्यालयबाट उत्पादित शिक्षित जनशक्तिमा दक्षता अभाव छ, उनीहरू रोजगारी खोजेर भौंतारिएका छन्, दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्नुपर्छ ।’ उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) का कार्यक्रमलाई श्रम, रोजगारी र उत्पादनसँग जोड्ने गरी अघि बढाउन लागिएको पनि जानकारी गराउनुभयो । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने भन्दैै त्यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अग्रवालले परिसंघले सुरु गरेको मेक इन नेपाल-स्वदेशी अभियानको एउटा उद्देश्य नेपालमा वार्षिक एक लाख ५० हजार रोजगारी सिर्जना गर्नु पनि रहेको जानकारी गराउनुभयो ।

परिसंघअन्तर्गतको एजुकेसन काउन्सिलका सभापति द्विराज शर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित २४ बुँदे सुझाव प्रस्तुत गर्नुभयो ।  प्रस्तुत सुझावमा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई बजारको मागअनुरूप जोड्नुपर्ने तथा विश्वका उत्कृष्ट प्राविधिक तथा व्यावसायिक संस्थासँगको सहकार्यमा केही वर्ष नमुना कार्यक्रम सञ्चालनको व्यवस्था गरिनुपर्ने रहेको सिएनआईले जनाएको छ । त्यस्तै मलेसिया, श्रीलंका, कतारलगायतका मुलुक जस्तै विश्वका उत्कृष्ट विश्वविद्यालय नेपालमा सञ्चालन गर्ने नीतिगत व्यवस्था गरी विदेशी विद्यार्थीलाई नेपाल भित्र्याई नेपाललाई शैक्षिक हब बनाउन सकिने  बताइएको छ । 

सरकारी विद्यालयमा शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक उपलब्ध हुने वातावरण सिर्जना गर्न पनि परिसंघले सुझाव दिएको छ । त्यस्तै नेपाली विश्वविद्यालयमा एकरूपता कायम गर्न साझा शैक्षिक पाठ्यक्रम र क्रेडिट ट्रान्सफरको व्यवस्था कायम गरिनुपर्ने, नेपालको शिक्षा तथा विश्वविद्यालय गुणस्तरीय रहेको सन्देश प्रवाहका लागि सरकारीस्तरबाटै प्रचारात्मक सामग्री निर्माण गरी दक्षिण एसियामा प्रचारप्रसार गरिनुपर्ने, हालको शिक्षा प्रणालीलाई रूपान्तरण गरी प्राविधिक तथा व्यावहारिक कम्प्युटर शिक्षा कार्यान्वयनमा ल्याइनुपर्ने, निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई करको दरमा सहुलियत दिँदै नवीन प्राविधिक शिक्षा उपलब्ध गराउन प्रोत्साहन गरिनुपर्ने परिसंघको सुझाव रहेको छ । 

Top