एक केजी स्याउमा ४० रुपैयाँ कर

निर्मल ढुंगाना   POSTED ON : कार्तिक १०, २०७८ (६:०४ AM)

एक केजी स्याउमा ४० रुपैयाँ कर

विराटनगर । विराटनगरमा व्यवसायीले दीपावली र छठ लक्षित गरेर २० करोडभन्दा बढी रकमको स्याउ आयात गरेका छन् । नेपाली व्यवसायीले चाइनिज र भारतीय स्याउ आयात गर्ने गरेका छन् । यसरी आयात गरेको स्याउमा सरकारले प्रतिकेजी ४० रुपैयाँ कर लिने गरेको छ । 

व्यवसायीले तिहारअघि नै १० करोडभन्दा बढीको भारतीय स्याउ भित्र्याएका छन् भने दशैँमा १५ करोडभन्दा बढी चाइनिज स्याउ भित्र्याएका थिए । व्यवसायीले दशैँमा पाँच करोड बराबरको चाइनिज स्याउ बिक्री गरे भने १० करोडभन्दा बढीको चाइनिज स्याउ विभिन्न कोल्डस्टोरमा रहेको बताएका छन् । उनीहरूले आयातित स्याउ प्रदेश १ सहित देशैभर पठाउने गरेका छन् । 

लक्ष्मी टे«डिङका सञ्चालक नागेन्द्र दास र विजय फुडका सञ्चालक विजय चौधरी स्याउ तथा फलफूलका थोक बिक्रेता हुनुहुन्छ । दास र चौधरीले प्रदेश १ देखि काठमाडौंसम्म स्याउ बिक्री गर्दै आउनुभएको छ । 

व्यवसायीले भारतको हिमाञ्चल राज्यको सिमला र काश्मिरको काश्मिरी स्याउ विराटनगर ल्याएर बिक्री गर्ने गरेका छन् । चीनबाट ल्याइएको स्याउ पनि बजारमा बिक्री गर्ने गरेका छन् । हिमालय टाइम्ससँग कुरा गर्दै लक्ष्मी टे«डर्सका सञ्चालक दासले भन्नुभयो, ‘भारतको सिमला र काश्मिरमा सरदर ७० रुपैयाँ हाराहारीमा प्रतिकेजी खरिद गर्ने स्याउमा ४० रुपैयाँ भन्सार शुल्क तिर्छन् । जसका कारण विराटनगर आइपुग्दा स्याउ प्रतिकेजी एक सय ५० रुपैयाँसम्म पर्न आउँछ ।’ सोही स्याउ साना व्यापारीले एक सय ८० देखि दुई सय ४० रुपैयाँ प्रतिकेजी बिक्री गर्ने गरेका छन् । 

खुद्रा बिक्रेताले स्याउको साइजको व्यवस्थापन गर्दा बजारमा स्याउको एकदाम मूल्य हुँदैन । साना साइजका एक सय ८० रुपैयाँमा पाइन्छ भने ठूलो स्याउ दुई सय ५० प्रतिकेजी पर्ने खुद्रा व्यवसायी मनोज शाह बताउनुहुन्छ । व्यवसायी दास भारतबाट आयात गरिएको स्याउ कोल्डस्टोरमा राख्दा लागत बढ्दा मूल्य बढ्ने गरेको बताउनुहुुन्छ । भारतबाट आयात गरेको स्याउ सिधै कोल्डस्टोरमा पुर्‍याउने गरेको र लामो समय कोल्डस्टोरमा राख्दा लागत बढ्दा सिजनमा केही कम मूल्यमा भेटिने गरेको स्याउ सिजन सकिएपछि प्रतिकेजी तीन सय रुपैयाँसम्म पुग्ने गरेको छ । तर, व्यवसायीले प्रत्येक वर्ष कति रकम बराबरको स्याउ विराटनगर भित्र्याउँछन् र कति कर तिर्छन् भन्ने तथ्यांक नहुँदा आयातअनुसारको स्याउको राजस्व उठ्न सकेको छैन ।


Top