मंसिरदेखि घरायसी प्रयोजनको विद्युत्मा छुट

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (६:०८ AM)

मंसिरदेखि घरायसी प्रयोजनको विद्युत्मा छुट

काठमाडौं । सरकारले घटाएको विद्युत् महसुल मंसिरदेखि कार्यान्वयनमा आउने भएको छ । सोमबार बसेको विद्युत् नियमन आयोगको बैठकले मासिक २० युनिटसम्मको खपतलाई निः शुल्क बनाउने निर्णय गर्दै मंसिर १ देखि कार्यान्वयनमा आउने भएको हो । आयोगले २० युनिटसम्म घरायसी प्रयोजनको विद्युत्मा छुट प्रदान गरेको छ । त्यस्तै सिँचाइमा प्रयोग हुने विद्युत्मा पनि छुट हुनेछ ।

कात्तिक ३ गते नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक घरायसी ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक-फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको थियो ।

१० युनिटसम्म विद्युत् उपयोग गर्ने घरायसी वर्गका पाँच एम्पियरमार्फत् लाइन लिने उपभोक्तालाई न्यूनतम शुल्क रहेकोमा प्राधिकरणले २० युनिटसम्मका लागि निःशुल्क दिने प्रस्ताव गरेको थियो । त्यस्ता ग्राहकले ऊर्जा शुल्कबापत प्रतियुनिट तीन रुपैयाँ शुल्क भने तिर्नुपर्ने हुन्छ । आयोगको उक्त निर्णयबाट २२ लाखभन्दा बढी ग्राहक लाभान्वित हुने र ७५ करोड रुपैयाँ बराबरको नोक्सानी हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणले घरायसी प्रयोजनका साथै सिँचाइमा प्रयोग हुने विद्युत्मा पनि सहुलियत प्रदान गरेको छ ।

यसैबीच ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले सरकारले विद्युत्को खपतमा वृद्धि गर्न सहुलियत प्रदान गरेको बताउनुभयो । उहाँले ऊर्जा खपत बढाउन विद्युतीय चुल्हो प्रयोगमा जोड दिनुभयो । मंगलबार राजधानीमा अग्नि इनर्जी प्रालिको ट्रियोे विद्युतीय टेम्पोको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विद्युतीय ट्रियोले वातावरण संरक्षणका साथै रोजगारी सिर्जनामा समेत महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । सोही कारण सरकारले साझा यातायातमार्फत् ठूला विद्युतीय बस भित्र्याउन लागेको पनि उहाँले जानकारी गराउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘विद्युतीय सवारीसाधनका साथै विद्युतीय चुल्होको पनि प्रवद्र्धन गर्नुपर्नेछ । विद्युतीय चुल्होको प्रयोग बढाउँदै एलपी ग्याँसलाई विस्थापित गर्नुपर्छ ।’ स्वदेशमै ऊर्जा विद्युत् खपत बढाएर पेट्रोलियमलाई प्रतिस्थापन गर्ने कार्यमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । विकसित मुलुकका कारण नेपालजस्ता मुलुकहरूले  जलवायु परिवर्तनको असरको सामना गर्नुपरिहेको भन्दै उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विद्युतीय प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

Top