अब करसम्बन्धी गुनासोका लागि छुट्टै निकाय

हिमालय टाइम्स   POSTED ON : मंसिर २, २०७८ (५:५५ AM)

अब करसम्बन्धी गुनासोका लागि छुट्टै निकाय

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । बुधबार १०औँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको होे ।

उहाँले भन्नुभयो, ‘करदाताहरूको गुनासो सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ, तपाईँहरूले भन्नुभएको ‘झ’ झिक्न एउटा इकाई/संयन्त्र बनाउँछु । त्यहाँ तपाईँले गुनासो राख्न पाउनुहुन्छ ।’ उहाँले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताउनुभएको हो । मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदैै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने जानकारी गराउँदै कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई÷संयन्त्र बनाउने, भन्सारमा ‘भेइकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सरकार आफैँले छाप्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अर्थसचिव मधुकुमार मरासिनीले कर जबर्जस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ । कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ, तिर्नुपरे पनि कम’, उहाँले भन्नुभयो, ‘यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ ।’

राजस्व सचिव कृष्णहरि पुस्करले कोरोनाले पुर्‍याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको भन्दै सबै करदातालाई धन्यवाद दिनुभयो ।

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा केन्द्रित भई कर प्रणालीलाई व्यवस्थित बनाउनेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । करको दायरा बढाउनभन्दा कर संकलनलाई व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले प्रक्षेपण गरेअनुसार राजस्व संकलन हुन नसकेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका कार्यकारी अध्यक्ष कृष्णप्रसाद अधिकारीले विगत २४ वर्षदेखि बहुदर प्रणाली लागू गर्न माग गर्दै आए पनि अहिलेसम्म लागू हुन नसकेको गुनासो गर्नुभयो । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कार्यबाहक अध्यक्ष डम्बरदेव अर्यालले सरकारले ग्रामीण उद्योगलाई करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । 

कर दिवसका अवसरमा सरकारले धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । सर्वाधिक कर तिर्नेमा नेपाल टेलिकम रहेको छ । त्यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा हुनुहुन्छ । निर्यात उद्योगमा डाबर नेपाल र विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एसियन पेन्ट्स रहेको छ ।

आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको जनाएको छ । वार्षिक प्रतिवेदन ०७७/०७८ सार्वजनिक गर्दै विभागले आव ०७७/७८ मा चार खर्ब २९ अर्ब २७ करोड राजस्व संकलन गरेको बताएको हो । यस्तै दुई खर्ब ८७ अर्ब छ करोड मूल्य अभिवृद्धि कर, दुई खर्ब ७७ करोड आयकर तथा एक खर्ब ३४ अर्ब नौ करोड अन्तःशुल्क राजस्व संकलन भएको छ ।

Top