ठगी धन्दामा मारुती सिमेन्ट, गुणस्तरहीन भएको खुलासा

गुणस्तर तथा नापतौल विभागद्वारा बिक्री वितरणमा रोक

हिमालय टाइम्स   POSTED ON : मंसिर २, २०७८ (७:२९ AM)

ठगी धन्दामा मारुती सिमेन्ट, गुणस्तरहीन भएको खुलासा

काठमाडौं । धेरैको सपना हुन्छ एउटा राम्रो घर होस् । मानिसले जीवनभरको कमाइ एउटा राम्रो घर बनाउन प्रयोग गर्छ । राम्रो पक्की घर बनाउनका लागि महत्वपूर्ण हुन्छ राम्रो र गुणस्तरीय सिमेन्ट । तर, त्यही सिमेन्ट गुणस्तरहीन भयो भने के होला ? सिमेन्ट गुणस्तरहीन भयो भने तपाईंको वर्षौंको लगानी त खेर जान्छ नै यसका कारण ज्यान धनको क्षति पनि हुन जान्छ । जसरी पनि कमाउ धन्दामा लागेकालाई यसको प्रभाव हुँदैन । उनीहरू त हरसमय सोचिरहेका हुन्छन् कसरी धेरैभन्दा धेरै कमाइ गरौँ । 

सरकारले तोकेको मापदण्ड पूरा नगरी उत्पादन गरिएको सिमेन्ट बिक्री-वितरणका लागि पठाउन पाइँदैन । त्यस्तो अवस्थामा सिमेन्ट जफत गरी प्रतिबन्ध लगाउन सक्ने ऐनमा व्यवस्था छ । तर, विभिन्न निकायलाई प्रलोभनमा पारेर यस्ता काम हुँदै आएका छन् । यस्तै, गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर मारुती सिमेन्टले उपभोक्ता ठगी गर्दै आएको खुलेको छ । 

बुधबार गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको बिक्री वितरणमा रोक लगाएको छ । मारुती सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिनसमेत पत्राचार गरेको छ । हुन त ठगी धन्दामा मारुती मात्र एक्लो होइन । यसअघि पनि विभिन्न नाम चलेका कम्पनीहरू पनि यस्तै लुटधन्दाका कारण फन्दामा परिसकेका छन् । 

विभागले विभिन्न आकर्षक विज्ञापन गरेर नेपाली उपभोक्तालाई ठगी गर्दै आएको मारुती सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्नसमेत उपभोक्तालाई आग्रह गरेको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपिसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको हो । विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको उक्त कम्पनीको ओपिसी ४३ ग्रेटको सिमेन्ट गुणस्तरहीन भएकाले प्रयोग नगर्न आग्रह गरेको हो । 

नेपाल गुणस्तर चिन्ह प्राप्त उक्त कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिन्ह) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाहीको दायरामा ल्याएको पनि विभागले जनाएको छ । संकलित नमुनाको एमपिए ७ र २८ दिनको मान क्रमशः ३१ र ३७ मात्रै देखिएको थियो । विभागका अनुसार उक्त सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा उपभोक्तलाई ठगी गर्न उक्त कम्पनीले गुणस्तहीन सिमेन्ट उत्पादन गर्दै आएको देखिन्छ । 

सिराहमा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपिसी सिमेन्ट सदाको लागि बन्द गरिदिने चेतावनी पनि दिएको छ । 

विभागले धनुषाको जानकी केवल ई. प्रालि र बाराको श्रीग्यास वान प्रालिलाई पनि कारबाही गरेको छ । विभागले सो प्रालिले वितरण गर्दै आएको पिभिसी केवल बिक्री वितरण रोक्न र हालै वितरण गरिएका केवल फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । 

त्यस्तै बाराको पिलुवाबाट उत्पादित श्रीग्यास वान प्रालिबाट वितरण गरिएका सबै ग्यास फिर्ता लिन पनि निर्देशन दिएको छ । सो कम्पनीले बोटलिङ गरी बजारमा पठाएको ग्यासमा क्याप नलगाएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको, सिभिटी मेसिन प्रयोग नभएको, एचएसटी मेसिन प्रयोग गर्नुपर्नेमा सोको प्रयोग नभएको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भसमेत मर्मत नगरेको विभागले जनाएको छ । विभागले उक्त प्रालिलाई तत्कालै उत्पादन बन्द गर्न र १५ दिनभित्र स्पष्टीकरण दिन पनि आग्रह गरेको छ । 

मारुती सिमेन्टको यस्तो धन्दा नयाँ भने होइन । यसअघि पनि सिरहाको मारुती सिमेन्ट उद्योगमाथि रहेको बक्यौता रकम तिर्नु नपर्ने दाबी गर्दै उद्योगले उल्टै विद्युत् प्राधिकरणमाथि अदालतमा मुद्दा दायर गरेको थियो । उद्योगले सुरुमा उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा दर्ता गराए पनि त्यहाँ मुद्दा हारेपछि फेरि जिल्ला अदालत सिरहामा दर्ता गराएको थियो । 

उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको छुट बिल रकम दस्तुर र जरिवानासहित ९९ करोड तिर्नुपर्ने देखिएको थियो । तर, उद्योगले रकम नतिरी उल्टै जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

जसरी पनि कमाउ धन्दामा लागेका यस्ता कम्पनीका उत्पादन उपभोक्ताले पनि बहिष्कार गर्नुपर्ने उपभोक्ताकर्मीहरू बताउँछन् । यस्तो गम्भीर अपराध गर्नेलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको भनाइ छ । ‘उपभोक्ताको जीवनमाथि खेलबाड गर्ने यस्ता अपराधीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरी उपभोक्ताको अधिकारलाई सुरक्षित गर्नुपर्छ’, एक अधिकारीकर्मीले हिमालय टाइम्सलाई भन्नुभयो । मारुतीले चर्चित तथा लोकप्रिय कलाकारलाई विज्ञापनमा देखाएर गुणस्तरहीन सामग्री बेचिरहेकोमा ती कलाकारहरूले पनि अब विरोध गर्नुपर्ने ती अधिकारीको भनाइ छ । ‘गुणस्तरहीन सामग्रीलाई केही पैसाको भरमा ‘सबैभन्दा राम्रो’ भन्ने अधिकार कसैलाई पनि छैन’, उहाँले भन्नुभयो । यो सबै उपभोक्ताको धनजनको सवाल पनि हो । यसतर्फ सबै सचेत हुन जरुरी छ ।

Top