अवरोधमुक्त विकास निर्माणमा जोड

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (६:२२ AM)

अवरोधमुक्त विकास निर्माणमा जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानुनमा ठूला योजनालाई सरल र रोकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शर्माले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने बताउनुभयोे । उहाँले भन्नुभयो, ‘अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्, सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ ।’ 

 आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानुन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । 

राजनीतिक प्रकृति र राजनीतिक आवश्यकताका आधारमा योजनालाई छुट्याउनुपर्नेमा जोड दिँदै उहाँले कतिपय राजनीतिक प्रकृतिका योजनाका कारण खर्च हुन नसकेकाले आवश्यकताका आधारमा योजनाको छनोट गर्नुपर्ने बताउनुभयो ।

 कानुन निर्माताहरूले विगतमा राम्रोसँग अध्ययन नगरी कानुन निर्माण गर्दा अहिले समस्या आएको उहाँले बताउनुभयो । त्यस्तै हरेक टेबल–टेबलमा आफ्नै किसिमको मनमौजीले विकास निर्माणका कार्यहरू रोकिने गरेको भन्दै त्यस्तो मानसिकता त्याग्नुपर्ने पनि मन्त्री शर्माले बताउनुभएको अर्थ मन्त्रालयले जनाएको छ । बैठकमा मुख्य सचिव शंकरदास वैरागी, अर्थसचिव मधुकुमार मरासिनी तथा विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । 

Top