स्व. गोल्छाको स्मृतिमा विविध कार्यक्रम

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (६:२५ AM)

स्व. गोल्छाको स्मृतिमा विविध कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष, वरिष्ठ उद्योगपति, समाजसेवी स्व. महेन्द्र गोल्छाको १२औँ स्मृतिमा विगत वर्षजस्तै यस वर्ष पनि बिहीबार उद्योग संगठन मोरङले विभिन्न कार्यक्रमको आयोजना गरी स्व. गोल्छालाई सम्झिएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलले सचिवालयमा रहेको स्व. गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उहाँले उद्योग व्यवसाय क्षेत्रको हित, व्यावसायिक एकतामा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । स्वर्गीय गोल्छाको तत्कालीन समयमा औद्योगिक विकासका लागि दीर्घकालीन महत्व राख्ने विशेष आर्थिक क्षेत्रको स्थापना, एग्रो इन्डस्ट्रियल लिंकेज, नो वर्क-नो पे को अवधारणा आज पनि उत्तिकै महत्वपूर्ण रहेको प्याकुरेलले बताउनुभयो । 

शालिकमा माल्यार्पण गर्दै संगठनका पूर्वअध्यक्ष एवं स्व. गोल्छाका भाइ दिनेश गोल्छाले संगठनले उद्योगी व्यवसायीको सामूहिक हितका साथै श्रमिकको हक एवं औद्योगिक क्षेत्रको सर्वाङ्गीण विकासलाई मध्यनजर गरी साझा उद्देश्य पूर्तिमा केन्द्रित हुनुपर्नेमा दाजुले जोड दिने गरेको बताउनुभयो ।

सोही अवसरमा उद्योग संगठन मोरङ, महिला उद्यम समिति तथा सामाजिक विकास समितिको तत्वावधानमा संस्थागत सामाजिक उत्तर दायित्व वहन गर्दै उद्योगमा कार्यरत महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी संगठनले सबै उद्योगमा भेन्डिङ मेसिन राख्ने अभियानस्वरूप टंकिसिनुबारीस्थित दुगड फुड एन्ड स्पाइसेस प्रालिमा एक थान भेन्डिङ मेसिन सञ्चालनमा ल्याई कार्यक्रमको शुभारम्भ गरेको छ ।

संगठनले यसअघि नै स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र गठन गरी स्व. गोल्छाको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन केन्द्रमार्फत् आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धान तथा शोधका साथै नीति विश्लेषण गर्न युवा अनुसन्धानकर्तालाई प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुबोध कोइराला, सुरेन्द्र गोल्छा, सञ्जय अग्रवाल, तारानाथ निरौला, इन्द्र खत्री, पारस लुनिया, सौरभ सारडा, महिला उद्यम समितिका सहसंयोजक जयश्री जाजु, सदस्यहरू प्रतिभा पौडेल, लक्ष्मी घिमिरे, सावित्रा ढकाल, स्व. गोल्छाका छोरा पारस गोल्छालगायत उद्योगीहरूको सहभागिता रहेको संगठनले जनाएको छ ।

Top