कोषमा १५ हजार बढी रोजगारदाता आबद्ध

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (७:४० AM)

कोषमा १५ हजार बढी रोजगारदाता आबद्ध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई आबद्ध गर्न सहजीकरण गरिने बताउनुभएको छ । शनिबार सामाजिक सुरक्षा कोषको चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यविधि संशोधन गरेर बढीभन्दा बढी रोजगारदाता र श्रमिक आबद्ध गराउने रणनीतिमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । सातै प्रदेशमा कोषका शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै उहाँले कोषमा सबैलाई आबद्ध हुन आग्रहसमेत गर्नुभयो । 

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषमा हालसम्म १५ हजार आठ सयभन्दा बढी रोजगारदाता र दुई लाख ९५ हजारभन्दा बढी श्रमिक आबद्ध भएको जानकारी गराउनुभयो । कोषले चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा कोषमा आबद्ध श्रमिकको विभिन्न कारण मृत्यु भएका योगदानकर्ताका ५२ आश्रित परिवारलाई आजीवन पेन्सन वितरण गरेको छ । कोेषले काठमाडौं, विराटनगर र बुटवलमा कार्यक्रम सञ्चालन गर्दै ५२ परिवारलाई पेन्सन वितरण गरिएको जनाएको छ । मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले श्रमिकको संवैधानिक हक सुनिश्चित गर्न कोष स्थापना भएको भन्दै कोषलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभयो । अप्ठ्यारो अवस्थामा सहयोग गर्ने भएकाले कोषलाई सकारात्मकरूपमा लिनुपर्ने उहाँको भनाइ छ । छोटो अवधिमै सरकारले पेन्सन उपलब्ध गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोषलाई समयानुकूल परिस्कृत गर्दै जानुपर्ने बताउनुभयो । कोष हरेक तवरबाट परिपूर्र्ण नभएको भन्दै अझै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । सामाजिक सुरक्षा प्रणाली नेपालका लागि नयाँ भएकाले कार्यान्वयनमा केही व्यावहारिक कठिनाइ देखिएका र सूचीकरण सुस्त देखिए पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा हाल सूचीकृत प्रतिष्ठान र श्रमिकको संख्याबाट निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । अखिल ट्रेड युनियन महासंघका अध्यक्ष जगतसिंह सिम्खडाले नेपालमा भएका प्रतिष्ठानको तुलनामा निकै न्यून प्रतिष्ठानमात्रै आबद्ध भएको बताउनुभयो । कोषमा धेरै अस्पष्ट रहेको भन्दै उहाँले आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

कोषका अनुसार सबैभन्दा बढी शिक्षा क्षेत्रका रोजगारदाता आबद्ध भएका छन् । शिक्षा क्षेत्रका दुई हजार नौ सय ९३ रोजगारदातासँग १३ हजार श्रमिक आबद्ध भएका छन् । दोस्रोमा निर्माण क्षेत्रका एक हजार नौ सय सय ७४ रोजगारदाता र ८२ हजार एक सय ७३ श्रमिक आबद्ध भएका छन् । आर्थिक तथा बिमा क्षेत्रमा एक हजार सात सय ६२ रोजगारदाता र २९ हजार छ सय १६ श्रमिक, अन्य सेवा क्षेत्रका एक हजार चार सय ९२ रोजगारदाता, ३० हजार छ सय ४३ श्रमिक, होलसेल तथा खुद्रा व्यापार क्षेत्रका एक हजार छ सय ७७ रोजगारदाता, २३ हजार ८८ श्रमिक र प्रशासनिक र सेवा क्षेत्रका एक हजार चार सय २६ रोजगारदाता, ४६ हजार ४० श्रमिक आबद्ध भएका छन् ।

‘कतार प्रहरीको अवसर गुम्दैन’

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाको पुनःएकीकरण योजना बनाइने बताउनुभएको छ । मंसिर १६ र १७ गते काठमाडौंमा हुने द्विपक्षीय श्रम सम्झौतासम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका क्रममा शुक्रबार सरोकारवालासँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्केकालाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा रोक्न वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइसाथ कार्यान्वयन गरिने पनि उहाँले बताउनुभयो । भिजिट भिसामा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गर्ने उहाँको चेतावनी थियो । कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई प्राप्त अवसर गुम्न नदिन भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको विकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विदेशमा कार्यस्थलमा हुने मृत्यु, घाइते, अंगभंग हुने लगायत श्रमिकले झेल्नुपरेका समस्या, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित र उद्धारका लागि संयन्त्र स्थापनामा जोड दिनुभयो । हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत रहेको अधिकारीहरूले बताएका छन् ।

Top