मौद्रिक नीतिको समीक्षासँगै सेयरमा निराशा

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:१९ AM)

मौद्रिक नीतिको समीक्षासँगै सेयरमा निराशा

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिसँगै खस्किएको सेयर बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि थप खस्किएको छ । आइतबार ८० अंकले घटेको बजारमा सोमबार पनि २१ अंकले ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा रहेको ४/१२ को सीमा नहटाउँदा सेयर लगानीकर्ता निराश बनेसँगै सेयर बजार पनि खस्किएको हो । सोमबार नेप्से २१.४८ अंकले घटेर २६३०.०१ अंकमा खुम्चिन पुगेको छ । नेप्सेसँगै  कारोबार रकम पनि घटेको छ । आइतबार पाँच अर्ब ८३ करोडको सेयर कारोबारमा आएकोमा सोमबार चार अर्बको मात्रै कारोबार भएको छ । दुई सय २८ कम्पनीको ८२ लाख २५ हजार आठ सय २२ कित्ता सेयर चार अर्ब ८९ लाख ३७ हजार एक सय १३३ रुपैयाँमा कारोबार भएको छ । ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने  एक सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । जलविद्युत् र म्युचुअल फन्ड सामान्य बढेको भए पनि होटल सर्वाधिक दुई सय २५ प्रतिशतले घटेको छ ।

न्यादी जलविद्युत् कम्पनी र सामलिङ पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकोे छ । न्यादीको सेयर २८.२० रुपैयाँ बढेर ३१०.५० रुपैयाँ पुगेको थियो भने सामलिङको ३४.६० रुपैयाँ बढेर ३८१.४० रुपैयाँ पुगेको थियो । आइसिएफसी फाइनान्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । चन्द्रागिरि हिल्स, महालक्ष्मी विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ । महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै ६१.०४ करोडको कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको १५.१२ करोड तथा र आइसिएफसी फाइनान्सको १२.४९ करोडको सेयर कारोबार भएको छ ।

Top