तनहुँ जलविद्युत् आयोजना छिटो सक्न निर्देशन

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:२२ AM)

तनहुँ जलविद्युत् आयोजना छिटो सक्न निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाको काम छिटो सक्न निर्देशन दिनुभएको छ । 

मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभएको छ । उहाँले काममा बिलम्ब नगरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो । 

मन्त्री भुसालले भन्नुभयो, ‘कुलेखानीबाहेक सञ्चालनमा रहेका सबै आयोजना नदीको बहावमा आधारित भएकाले हिउँदमा उत्पादन घट्दा मुलुकभित्रको माग धान्न अझै पनि विद्युत् आयात गर्नुपर्ने र बर्खामा खपत गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, यस्तो अवस्था अन्त्यका लागि रणनीतिक महत्वको जलाशययुक्त तनहुँ आयोजनाको निर्माण स्रोत, साधन, स्थानीय समस्यालगायतका कारणले ढिलाइ हुनुहुँदैन, तोकिएकै समय र लागतमा सम्पन्न गर्नुपर्छ ।’ 

निर्माण कार्यमा स्थानीय तह र अन्तरमन्त्रालय समन्वयका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले निर्माणमा आइपर्ने समस्या तत्काल जानकारी गराउन र त्यस्ता समस्या समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माणमा हालसम्म प्राप्त भौतिक तथा वित्तीय प्रगति, बेहोरिएको समस्यालगायतका विषयमा जानकारी गराउनुभयो । आयोजनाको पहिलो प्याकेज सोङ दा कर्पोरेसन भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता १४ भदौ २०७८ बाट कार्यान्वयनमा आएको छ । सोङ दा कालिका जेभीले आफ्नो कार्यालय, श्रमिक आवास सुविधा, मोबाइल क्रसर प्लान्ट स्थापना गरी नदी फर्काउने कार्य सुरु गरेको छ । 

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत् गृह खनिरहेको छ । सर्ज ट्यांकरतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न गरेको छ ।

साञ्जेन र रसुवागढीलाई पनि ताकेता

प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माणाधीन आयोजनामा ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजना जति सक्दो छिटो सम्पन्न गर्न ताकेता गरेको हो । भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोरोनालगायतका कारण आयोजना प्रभावित हुँदै आएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत् आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरू, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । चिलिमेको प्रबन्ध सञ्चालक हुँदा घिसिङले तीनवटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अघि बढाउनुभएको थियो । 

माथिल्लो साञ्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरूको जडान काम सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । 

तीनवटै आयोजनाको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । चिलिमे तथा त्रिशुली थ्रीबी हब सबस्टेसन र चिलिमे–त्रिशुली थ्रीबी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Top