भारतीय सहयोगमा नयाँ विद्यालय भवन

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:२४ AM)

भारतीय सहयोगमा नयाँ विद्यालय भवन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ भवन निर्माण सम्पन्न भएका छन् ।

भारत सरकारको एक करोड २७ लाख आर्थिक सहयोगमा दार्चुलाको खलंगा, तिंकरस्थित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ भवन आइतबार नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्यसी खम्पा, जिल्ला समन्वय समिति दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले उद्घाटन गर्नुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

 सन् १९६० मा स्थापना भएको विद्यालयले लामो समयदेखि प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । उक्त विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दार्चुलाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्ययनरत तीन सय ९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेको बताइएको छ । 

सोही दिन भारत–नेपाल विकास सहकार्यअन्तर्गत भारत सरकारको दुई करोड ३३ लाख आर्थिक सहयोगमा दार्चुलाको महाकाली-७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ भवनको पनि भारतीय दूतावासका नियोग उपप्रमुख खम्पा, महाकाली नगरपालिका, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिले संयुक्तरूपमा उद्घाटन गरेको दूतावासले जनाएको छ । सन् १९६६ मा स्थापना भएको विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो ।

Top