१७ हजार ऋणी कालोसूचीमा

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:५९ AM)

१७ हजार ऋणी कालोसूचीमा

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा औसत उपभोक्ता मुद्रास्फीति ३.६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूह र गैरखाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति क्रमशः ५ प्रतिशत र २.५१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनअनुसार आव  २०७७/०७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड र कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ३९ अर्ब ८४ करोड रहेको छ । 

समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड कायम भएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३२.८ प्रतिशत हो ।  उक्त आवमा चालु खाता तीन खर्ब ३३ अर्ब ६७ करोडले घाटामा र शोधनान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा रहेको छ । २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब तीन करोड कायम भएको छ । बैंकिङ क्षेत्रको विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब ७५ करोड रहेको छ । नेपाल सरकारको अन्य प्राप्तिसमेत गरी नौ खर्ब ७८ अर्ब ७४ करोड राजस्व संकलन भएको छ भने कुल सरकारी खर्च ११ खर्ब ८० अर्ब ९५ करोड रहेको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा विस्तृत मुद्राप्रदाय २१.८ प्रतिशतले र संकुचित मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ । त्यसैगरी कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २६.३ प्रतिशतले बढेको छ । साथै बैंक तथा वित्तीय संस्थाको निक्षेप २१.४ प्रतिशतले र ती संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २७.३ प्रतिशतले बढेको छ । खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत् कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने कुल ६७ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा तीन खर्ब ७० अर्ब ३४ करोडको स्थायी तरलता सुविधा उपयोग भएको छ । २०७८ असारमा वाणिज्य बैंकको कर्जा तथा निक्षेपको भारित औसत व्याजदर क्रमशः ८.४३ प्रतिशत र ४.६५ प्रतिशत रहेको छ । त्यसैगरी  वाणिज्य बैंकहरूको अन्तरबैंक व्याजदर २०७८ असारमा ४.१२ प्रतिशत रहेको छ भने बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक व्याजदर ४.१४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकको कुल सम्पत्ति/दायित्व २३.४ प्रतिशतले वृद्धि भई ५३ खर्ब ९२ अर्ब ५३ करोड, विकास बैंकको २५.८ प्रतिशतले वृद्धि भई पाँच खर्ब १८ अर्ब ३४ करोड र वित्त कम्पनीको १.३ प्रतिशतले वृद्धि भई एक खर्ब २६ अर्ब दुई करोड कायम भएको छ । त्यसैगरी लघुवित्तको कुल सम्पत्ति÷दायित्व ३७ प्रतिशतले वृद्धि भई चार खर्ब ४५ अर्ब ५० करोड कायम भएको छ ।

राष्ट्र  बैंकबाट इजाजत पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७८ असार मसान्तमा एक सय ३३ रहेको छ । जसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी, ७० लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । राष्ट्र बैंकको प्रतिवेदनअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७८ असार मसान्तसम्ममा एक खर्ब ४१ अर्ब कर्जा र आठ खर्ब ११ अर्ब ६२ करोड निक्षेप सुरक्षण गरेको छ । कर्जा सूचना केन्द्रबाट आर्थिक वर्ष २०७७/०७८ मा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी र ७० लघुवित्त वित्तीय संस्थाले जम्मा ५२ लाख ८४ हजार तीन सय ६१ कर्जाको सूचना माग गरेका थिए । उक्त केन्द्रमा २०७७ असार मसान्तसम्ममा कालोसूचीमा सूचीकृत ऋणीको संख्या १२ हजार दुई सय ९१ रहेकोमा २०७८ असार मसान्तसम्ममा झण्डै १७ हजार अर्थात् १६ हजार नौ सय ८७ पुगेको छ । असार मसान्तमा नेप्से सूचकांक २८८३.४ बिन्दुमा पुगेको छ भने बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड कायम भएको छ । बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ९४ प्रतिशत रहेको छ ।


Top