मोबाइल उद्योग खोले सरकारले सहुलियत दिने

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:१० AM)

मोबाइल उद्योग खोले सरकारले सहुलियत दिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल फोनको प्लान्ट नेपालमै स्थापना गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । बुधबार राजधानीमाा आयोजित नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । नेपालमै  मोबाइल उत्पादन गरेमा सरकार सहजीकरण गर्न र सहुलियत दिन तयार रहेको पनि उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो, ‘मोबाइल व्यवसायीले पनि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्छ । नेपाली ब्रान्डको मोबाइल फोन उत्पादन गर्न व्यवसायी तयार हुनुपर्छ । आयात पनि गर्ने र  उत्पादनमा पनि लगानीको सुरुवात गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाले पनि आयातमात्रै नभएर उत्पादनमूलक उद्योगमा पनि लगानी गर्नुपर्छ । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि पहल गरोस् ।’ साथै उहाँले मोबाइलको डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताउनुभएको छ । वैधरूपमा अवैध काम भइरहेको भन्दै मोबाइल पनि अवैधरूपमा भित्रिइरहेकाले एमडिएमएस लागू गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीसमेत गराउनुभयो  ।

उहाँले भन्नुभयो, ‘अवैधरूपमा आयात हुने मोबाइल फोन रोक्ने एमडिएमएसबारे वितरक संघमार्फत् हिजोमात्रै थाहा पाएँ । थाहा पाउनेबित्तिकै तत्काल लागू गर्न निर्देशन दिइसकेको छु तर विदेशबाट वैधानिकरूपमा मानिसले ल्याइरहेको मोबाइल फोन रोक्न कठिन छ । किनभने नेपालको अर्थतन्त्र रेमिट्यान्सबाट चलेको छ । नेपालबाट विदेशी भूमिमा ५० डिग्रीको तापक्रममा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउने गर्दछन् । यसरी विदेशमा दुःख गरेर नेपाल फर्किनेलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरूमाथि अन्याय हुन्छ । तर एउटा ल्याउन दिँदा धेरै वटा ल्याउने प्रवृत्ति पनि देखिएको छ ।’ साथै अर्थमन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले सरकारले आयातमा कुनै हस्तक्षेप नगर्ने पनि स्पष्ट पार्नुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हवाई जहाज र मोबाइल आविष्कारले मानव जीवनलाई कायापलट गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हवाई जहाज र मोबाइल मानव जीवनका लागि महत्वपूर्ण छन्, जसले विश्वलाई एकअर्कासँग जोडेको छ, मानव जीवनलाई सहज बनाइदिएको छ ।’  नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोबाइल फोन विलासिताको वस्तु नभएको भन्दै मोबाइलमा लगानी गर्न बंैकिङ क्षेत्र तयार रहेको बताउनुभयो । 

मोबाइल इम्पोट्र्स एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले तत्काल नेपालमा मोबाइल प्लान्ट असम्भव रहेको बताउनुभयो । संघका अध्यक्ष दिनेश चुल्याद्योले मोबाइल व्यवसायीबीच मूल्यमा नभई बिक्रीपछिको सेवामा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो भने संघका उपाध्यक्ष चिरञ्जीवी ओलीले अवैधरूपमा भित्रिने मोबाइलका कारण राज्यलाई कर तिरेर मोबाइलको कारोबार गर्ने व्यवसायी मर्कामा परेकाले एमडिएमएस कार्यान्वयन गर्न माग गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआइजी सिपी गौतम, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याल, मोबाइल इम्पोट्र्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले पनि मोबाइलको अवैध कारोबार नियन्त्रणमा जोड दिनुभएको थियो ।

Top