ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:१८ AM)

ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नेपालमा लगानी गर्नेको सम्पत्ति र लगानीको सुरक्षा ग्यारेन्टी सरकारले दिने पनि बताउनुभयो । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकार तथा निजी क्षेत्रले गरेको कमीकमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासमात्रै सम्भव हुँदैन, निजी क्षेत्र र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै सम्भव छ । यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ ।’ लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकारले कुनै कसर बाँकी नराख्ने पनि उहाँले बताउनुभयो । 

त्यसैगरी अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुन आवश्यक भएको बताउनुभएको छ । उहाँले अदालतको ‘स्टे अर्डर’ ले विकास निर्माण कार्यमा ढिलाइ हुने गरेको भन्दै विकासका लागि विशेष कानुनको आवश्यकता रहेको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘सामान्य बाटो खन्दा अदालतबाट स्टे अर्डर हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययन वर्षौँ लाग्नेलगायतका कुरा छन्, यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ । अहिले त्यसको तयारी भइरहेको छ ।’ उहाँले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ प्रणाली ल्याउनेबारे पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । 

निजी क्षेत्रले भने सरकारको काम निजी क्षेत्रमैत्री नभएको गुनासो गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार बनेको लामो समयसम्म पनि उद्योग तथा आपूर्तिमन्त्रीको नियुक्ति नहुँदा निजी क्षेत्र अन्योलमा परेको बताउनुभयो । कोरोनाका कारण निजी क्षेत्रको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको भए पनि निजी क्षेत्रलाई सरकारले प्राथमिकता नदिएको उहाँको गुनासो छ । अध्यक्ष गोल्छाले भन्नुभयो, ‘कोरोनापछि अर्थतन्त्र तंग्रन थालेको भए पनि पर्यटन, सञ्चार, मनोरञ्जन तथा साना तथा मझौला व्यवसायीको समस्या यथावत् रहेको छ । तरलता अभावले व्यापार व्यवसाय विस्तार हुन सकेको छैन, त्यसैले सरकारले लिएको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पनि तरलता आवश्यक छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी नीतिगत परिवर्तन गर्दा समस्या आएको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समय विचौलियाले नीतिगत दलाली गरेर अर्थतन्त्रमा चलखेल गरेको दाबी गर्नुभयो । बिमा समितिले बिमा कम्पनीलाई सबै पुनर्बिमा व्यवसाय स्वदेशी पुनर्बिमा कम्पनीसँग मात्रै गर्न दिएको निर्देशनले नीतिमा दलाली बढेको उहाँको भनाइ थियो । त्यस्तै सिडी रेसियोको व्यवस्थाले तरलताको अभाव भएकाले सिसिडीमै फर्किन वा सिडी ९५ प्रतिशत बनाउन उहाँले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउनुभयो ।

Top