निक्षेपकर्ताले दाबी नगरेको निक्षेप राष्ट्र बैंकको

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:३४ AM)

निक्षेपकर्ताले दाबी नगरेको निक्षेप राष्ट्र बैंकको

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा २० वर्षसम्म निक्षेपकर्ता दाबी गर्न नआए पनि निक्षेप बैंकको नहुने भएको छ । अबदेखि बैंक तथा वित्तीय संस्थाले त्यस्तो निक्षेप नेपाल राष्ट्र बैंकको बैंकिङ निक्षेप कोषमा राख्नुपर्नेछ । राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै २० वर्षसम्म दाबी गर्न नआएका तथा दाबी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुरूप राष्ट्र बैंकको बैंकिङ निक्षेप कोषमा राख्न निर्देशन दिएको हो । त्यस्तो रकम राष्ट्र बैंकले बैंकिङ विकासमा खर्च गर्नेछ । कोषमा जम्मा गरिएको रकम निक्षेपकर्तासम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाकै हुनेछ ।

बंैक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को प्रक्रिया पूरा गरी राष्ट्र बैंकको बंैकिङ विकास कोषमा जम्मा गरिसकेको निक्षेपउपर निक्षेपकर्ता वा निक्षेपकर्ताको हकवालाले सम्पूर्ण प्रक्रिया पूरा गरी दाबी गर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्न सक्ने पनि राष्ट्र बैंकले जनाएको छ । त्यसरी आवश्यक कागजातसहित दाबी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने पनि निर्देशनमा उल्लेख छ ।

Top