शोधनान्तर घाटा दुई खर्बले घट्यो

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (९:३६ AM)

शोधनान्तर घाटा दुई खर्बले घट्यो

काठमाडौं । बढ्दोक्रममा रहेको शोधनान्तर घाटा झण्डै दुई खर्ब अर्थात् एक खर्ब ९५ अर्ब एक करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब छ अर्ब ४८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको छ । 

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले कमी आई २०७८ मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब तीन करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब तीन करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी आई १० खर्ब ८४ अर्ब ६४ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा मंसिरमा १६.२ प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ४० करोड कायम भएको छ । मंसिरको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।

 चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/०८९ को पाँच महिना अर्थात् साउनदेखि मंसिर मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता तीन खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्बले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ५२ करोडले घाटामा रहेको छ । 

त्यस्तै पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई चार अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई सात अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर चार अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ५० करोड रहेको थियो । 

आठ खर्बको आयात हुँदा एक खर्बको निर्यात

चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिना अर्थात् मंसिरसम्म कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई एक खर्ब दुइ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ । पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुट सामानलगायतको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तारलगायतको निर्यात घटेको छ । पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधि, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायतको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्तीलगायतको आयात घटेको छ । 

पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोडको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोडको थियो । समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.०७ प्रतिशत र ५२.९१ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.८७ प्रतिशत, ०.७६ प्रतिशत र ६७.३६ प्रतिशत थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.८ प्रतिशत, पुँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ५१.६ प्रतिशत, १२.४ प्रतिशत र ३६.० प्रतिशत थिए ।

रेमिट्यान्स ६.८ प्रतिशतले घट्यो

समीक्षा अवधिमा रेमिट्यान्स ६.८ प्रतिशतले कमी आई तीन खर्ब ८८ अर्ब ५८ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आय ७.३ प्रतिशतले कमी आई तीन अर्ब २६ करोडमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आय ६.४ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार पाँच सय ८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

मूल्यवृद्धि ७.११ प्रतिशत

२०७८ मंसिर महिनामा मूल्यवृद्धि ७.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि २.९३ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.२५ प्रतिशत रहेको छ । मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु समूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मूल्यवृद्धि रहेको छ । अघिल्लो आवको सोही अवधिमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

Top