एमालेले गरायो संसद्मा स्थगनको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ । किसानहरूले समयमा मल नपाएको र सरकार सो विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्नुपर्‍यो भन्दै स्थगनको प्रस्ताव दर्ता गराउनु भएको हो ।

सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

बजेटको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिनुभएको छ ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको हो ।

‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेटलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ,’ लोसपा नेता शरदसिंह भण्डारीले न्युज कारखानासँग भन्नुभयो ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापनपत्रका विषय ध्यानाकर्षण गराउनु भएको छ ।

उहाँहरुले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएका भण्डारीले बताउनु भयो ।

साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उहाँहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।
तराई मधेश संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिनुभयो ।

गण्डकीको नीति तथा कार्यक्रम आज पारित गरिने, १ असारमा बजेट ल्याउनुपर्ने बाध्यता

पोखरा । गण्डकीको संसदबाट सोमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । १ असारमा बजेट ल्याउनैपर्ने बाध्यता सरकारलाई छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले आगामी वर्षका लागि स्वास्थ्य, महिला, कृषि लगायत क्षेत्रमा प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सबै सांसदले नीति तथा कार्यक्रममा आफ्ना सुझाव दिएका छन् ।

यही नीति तथा कार्यक्रममा आधारित भएर बजेट निर्माणको काम भइरहेको सरकारले जनाएको छ । आउँदो वर्षका लागि करिब ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । तर बजेट निर्माण प्रक्रिया पारदर्शी नभएको भन्दै सत्तारुढ सांसद र मन्त्रीहरुले नै विरोध गरिरहेका छन् । मन्त्रालयलाई बजेट सिलिङ दिएर त्यहाँबाट कार्यक्रम र बजेट बनाउनुपर्नेमा सांसदलाई टाउको गनेर बजेट दिइएको आरोप मन्त्री हरिशरण आचार्यको छ ।

उहाँले नीति तथा कार्यक्रमको प्रश्तुती र छलफलमा समेत सहभागिता जनाउनु. भएन । ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले नीति तथा कार्यक्रम बहिष्कार गरेको हो । आफ्ना धारणा राख्नका लागि आचार्यले आज पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।

मन्त्रालयमार्फत बजेट विनियोजनको बाटो निर्माण गर्नुपर्ने उहाँको माग छ । यस्तै, चालू वर्षमा भन्दा आगामी वर्षको बजेटमा उनको मन्त्रालयलाई १ अर्व बजेट घटाएको उनले गुनासो गरे ।

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार

एजेन्सी
सीउल । उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो ।

उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन् । तर, उसको प्रहार परम्परागत शैलीका, तुलनात्मक रूपमा छोटो दूरीको र कम उचाइको भएको जनाइएको छ । उत्तरले यसअघि पनि एकपछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ ।

गत साता भएको वर्कस पार्टीं बैठकमा किमले उत्तर कोरियाको सार्वभौम अधिकारको रक्षा गर्न देशको सैन्य शक्ति र रक्षा अनुसन्धानलाई प्रबद्र्धन गर्नुपर्ने बताएका थिए ।
उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर दक्षिण कोरियाले उमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले बनायो ४१ वटा कानुन

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षमा ४१ वटा ऐन, नियम तथा कार्यविधि बनाएको छ । गाउँपालिकाले स्थानीय तहको अधिकारलाई उपयोग गर्दै आफ्नो आवश्यकता अनुसार ऐन, नियम, तथा कार्यविधि निर्माण गरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा चुनिएर आएका जनप्रतिनिधिले पहिलो पटक गाउँसभा सञ्चालन कार्यविधि निर्माण गरेका थिए । सो पश्चात गाउँपालिकाले पाँच वर्षको अवधिमा १२ वटा ऐन, २१ वटा कार्यविधि, ४ वटा निर्देशिका, ३ वटा नियमावली र एक मापदण्ड बनाएको छ ।

सबै ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका राजप्रत्रमा प्रकाशित गरी कार्यान्वयनमा समेत ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो ।

पालिकाले आर्थिक ऐन, विनियोजन ऐन, सहकारी ऐन, कृषि व्यवसाय ऐन, प्रशासकिय कार्यविधि ऐन, आर्थिक कार्यविधी ऐन, स्थानिय शिक्षा शिक्षा ऐन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, विपद जोखिम न्युनिकरण ऐन, संस्था दर्ता ऐन, जलश्रोत उपयोग लगायतका ऐन वनाएर पालिकाले कार्यन्वयन गरिसकेको जनाएको छ ।

त्यस्तै,गाउँ सभा सञ्चालन , एफएम रेडियो सञ्चालन, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी, करार कर्मचारी व्यवस्थापन, असक्त असहाय विपन्न सहायता कोष सञ्चालन कार्यविधि, घरवहाल कर व्यवस्थापन, विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, आन्तरिक आय संकलन सम्बन्धी, टोल विकास सस्था गठन तथा परिचालन, नदी जन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसार विक्रीवितरण सम्बन्धी कार्यविधि रहेका छन् । मदिरा नियन्त्रण, व्यवसाय दर्ता र गाउँपालिकाको स्वास्थ्य बिमा कार्यविधि पनि पारित गरी कार्यान्वनयमा ल्याइसकेको छ ।

के हो जस्टिन बिबरलाई लागेको रामसे हन्ट सिन्ड्रोम ?

एजेन्सी
ओटावा । चर्चित पप गायक जस्टिन बिबर एक दुर्लभ रोगका कारण आफ्नो आधा अनुहारमा प्यारालाइसिसको समस्या देखिएको छ । प्यारालाइसिसपछि उनले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । इन्स्टाग्राममा प्रेसित एउटा भिडियोअनुसार बिबर रामसे हन्ड सिन्ड्रोम नामक दुर्लभ रोगबाट पीडित छन् । यो रोगका कारण उनको अनुहारमा पक्षाघात र स्नायुलाई कमजोर बनाएको छ । टोरन्टो र वाशिंगटन डीसीमा कार्यक्रम रद्द गरेपछि उनले अनुहारको आधा भाग नचल्ने भन्दै आफ्नो अवस्था ‘धेरै खराब’ भएको बताएका थिए ।

के हो रामसे हन्ट सिन्ड्रोम ?

राम्से हन्ट सिन्ड्रोम भेरिसेला जोस्टर भाइरसका कारण हुने नसासम्बन्धी समस्या हो । राम्से हन्ट सिन्ड्रोमलाई सामान्यतया हर्पेस जोस्टर ओटिकस पनि भनिन्छ । कानको वरपर र मुख तथा जिब्रोमा रातो दाग आउनु यस रोगको मुख्य लक्षण हो ।

भेरिसेला–जोस्टर भाइरसका कारण यो सिन्ड्रोम देखिन्छ । यो त्यही भाइरस हो जसले बालबालिकामा ठेउला र दाद निम्त्याउछ । बाल्यकालमा ठेउला भएको व्यक्तिमा भाइरस दशकौंसम्म लुकेर बस्न सक्छ । विज्ञहरूका अनुसार भेरिसेला–जोस्टर भाइरस पुनः सक्रिय हुँदा यसले शरिरमा दाद निम्त्याउँछ र केही परिस्थितिहरूमा रामसे हन्ट सिन्ड्रोम निम्त्याउछ । भाइरस किन पुनः सक्रिय हुन्छ र अनुहारको नसालाई कस्तो असर पार्छ भन्ने प्रष्ट छैन् ।

सुन्ने क्षमता गुम्दै जानु, कान कराउनु, मुख तथा आँखा सुख्खा हुनु, एउटा आँखा झिमिक्क गर्न समस्या हुनु र स्वाद हराउनु रामसे हन्ट सिन्ड्रोमका लक्षण हुन् । सिन्ड्रोमबाट पुरुष र महिला समान रूपमा प्रभावित छन् । एक अनुमानअनुसार अमेरिकामा हरेक वर्ष प्रत्येक १ लाख जनामध्ये ५ जनामा यो सिन्ड्रोम देखिन्छ ।

सलमान र सलीमलाई ज्यान मार्ने धम्की

मुम्बई । बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ ।

समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो । तर पत्रमा ज्यानको बाहेक अन्य के-के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन ।

यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए । लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ ।

सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या बढाउको छ । सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ । कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन् । त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको बताइएको छ ।

यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो । यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए । प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए ।

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्‍ने भएको जानकारी दिनुभयो । उहाँका अनुसार केही नेता बैठकमा सहभागी हुन आइनपुग्‍ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्‍नेछ । नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताउनु भयो ।

यार्सा टिप्‍न जाँदा मुगुमा दुई दिनको अन्तरमा दुई जनाको मृत्यु

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए । पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका थिए । तर, लेक लागेर सिकिस्त बिरामी भएका थिए । उनलाई बोकेर घरतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मुत्यु भउको मुगुम कार्मारोङ गाउँपालिका– ७ का वडा अध्यक्ष शशांक लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि बुधबार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको थियो । उनी यार्सा सङ्‍कलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी हवल्दार हुन् । उनलाई कोइकी पाटनमा लेक लागेको थियो । लेक लागेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएको थियो ।

उनको त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले बताउनु भयो । यार्सा टिप्‍न जाँदा ‘हाईअल्टिच्युड’का कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । यार्सा टिप्‍न भन्दै ज्यानको बाजी थापेर समुद्री सतहदेखि करिब ४५ सयदेखि ५५ मिटर उचाइको हिमरेखा क्षेत्रमा सर्वसाधारण यार्सा सङ्‍कलन गर्न जाने गरेका छन् ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।

 

नेपाल युएईसँग पराजित

मलेसिया । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ ।

मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा ग-यो । युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८ रन जोडेको हो । इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन् । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १÷१ रन जोडिन् ।

युएईका महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् । छनोटमा नेपालको यो पहिलो हार हो । हिजो भएको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो । यता युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १६० रनले हराएको थियो ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ ।

सिलिण्डर ग्यास पड्किदा बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मिृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उहाँले जानकारी दिनुभयो ।

अन्तर्वार्ता : निर्वाचन परिणामलाई परिपक्‍वतापूर्वक विश्लेषण गरौँ, लाञ्छना नलगाऔँ – कांग्रेस महामन्त्री शर्मा

आगामी सङ्‍घी र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खासगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनका ठूलो दल नेपाली कांग्रेसले ‘धोका’ दिएको आरोप लगाउँदै आउनु भएको छ ।

माओवादीबाट पनि धोका पाएको एकीकृत समाजवादी, जसपा र जनमोर्चाको आरोप छ । गठबन्धनको नेतृत्वदायी दल नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्मा भने निर्वाचन परिणामलाई लिएर आरोप–प्रत्यारोपदेखि लाञ्छना लगाउनुलाई ठीक मान्नुहुन्न ।

उहाँ भन्नुहुन्छ, ‘निर्वाचनको सबै परिणाम आइसकेपछि सबै दलले आ–आफ्नो दलको केन्द्रीय कार्यालयमा बसेर एकरएक गिलास ठण्डा पानी पिएर के भयो निर्वाचनमा भनेर निष्कर्षमा पुगियो भने चाहिँ सही हुन्छ ।’

प्रस्तुत छ,  शर्मासँग गरिएको कुराकानीको सम्पादित अशं

प्रदेश र सङ्‍घीय निर्वाचनमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन्छ ?

स्थानीय निर्वाचन सकिने क्रममा छ । किनभने बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन नै भएको छैन । ७७ वटै जिल्ला समन्वय समितिको पनि निर्वाचन भइसकिएको छैन ।

त्यस कारणले यी दुई वटैको निर्वाचन सकिएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्छ । त्यहाँ समीक्षा गर्छौँ ।

गठबन्धन दलहरूका पनि समीक्षा होलान् । त्यसपछि तालमेलबारे एउटा निष्कर्षमा पुगिन्छ ।

अहिले आएको जे परिणाम हो, त्यसलाई संयतापूर्वक ग्रहण गर्ने र परिपक्‍वतापूर्वक गहिरो विश्लेषण गर्ने अनि टुङ्‍गोमा पुग्‍नु ठीक हुन्छ ।

तालमेलचाहिँ हुन्छ  ?

तालमेल केन्द्रीय तहबाटै नीति, कार्यक्रम, घोषणापत्र बनाएर यसअघि स्थानीय निर्वाचनमा भएको त होइन । स्थानीय स्थिति र आवश्यकताअनुसार बनेको हो ।

र, त्यो हुँदै गर्दा नेपाली समाजमा अलिअलि भ्रम भयो । हामीले के स्पष्ट गर्न सकेनौँ भने ७५३ वटै पालिकामा तालमेल भएको होइन । नेपाली कांग्रेसको ११९ जना प्रमुखबाहेक ६३४ वटा प्रमुख हाम्रो उम्मेदवार हुनुहुन्थ्यो ।

त्यस्तै, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)को १६ सय जनाभन्दा बढी प्रमुख पदकै लागि उम्मेदवार हुनुहुन्थ्यो । त्यसैले अहिले प्राप्त भएको विजय केही तालमेलको कारण छ । केही चाहिँ नेपाली कांग्रेस एक्लै लडेर जितेको हो ।

यस कारण यी दुई वटै कुराको वस्तुगत समीक्षा गरेपछि मात्रै तालमेलबारे निष्कर्ष निकालिनुपर्छ ।

तपाईंको मान्यता तालमेल हुनुपर्छ भन्‍ने हो कि होइन ?

वस्तुगत यथार्थअनुसार चल्नुपर्छ । भावनात्मक आवेगमा नजाऔँ अहिले । तर, अहिले के देखिएको छ भने कयौँ गाउँरनगर एक्लै लडेर पनि जितेका छौँ नि त ।

पूर्वमा हेर्ने हो भने ३० वर्षपछि इलाम नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत जितेका छौँ ।

पश्‍चिममा हेर्ने हो भने नवलपरासीको हुप्सेकोट गाउँपालिकामा ३२ मध्ये ३१ सिट जितेका छौँ काठमाडौं उपत्यकामै कीर्तिपुरमा जितेका छौँ । प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित बहुमत जित्यौँ ।

अर्कोतर्फ कयौँ गठबन्धन गरेर पनि निर्वाचन जितेको तथ्य छ । सँगैको सहयात्रीलाई ‘खोलो तर्‍यो, लौरो बिर्स्यो पनि गर्नु हुँदैन ।

तर, अर्को तथ्य के छ भन्दा एक्लै जितेका स्थानीय तहमा मिलेर पनि हारिएको छ । त्यसकारण, यी सबै तथ्य केन्द्रीय कार्यसमिति बैठकको विषयवस्तु बन्छ ।

अहिले सार्वजनिक रूपमा नेपाली कांग्रसेका, माओवादीका, एकीकृत समाजवादीका वा कुनै पनि दलका नेताहरूले यसबारेमा छलफल र विमर्शपूर्व निर्णय लिनु हुँदैन ।

व्यक्तिगत बुझाइ हो भने आन्तरिक विमर्शको विषय बनाइनुपर्छ । एउटा दलले अर्को दललाई आरोपित गर्नु हुँदैन । एउटा दलले अर्को दललाई अलिक बढी लाञ्छना लगाउने खालको, आशंका गर्ने खालको, चेतावनीयुक्त भाषा बोल्ने गर्नु हुँदैन ।

त्यसकारण पहिलाचाहिँ परिणाम सबै आओस् । आइसकेपछि सबै दलले आ–आफ्नो दलको केन्द्रीय कार्यालयमा बसेर एकरएक गिलास ठण्डा पानी पिएर निष्कर्षमा पुगियो भने चाहिँ सही हुन्छ ।

कांग्रेसलाई ठूलो दल बनाउन मात्रै तालमेल गरिएको जस्तो भयो स्थानीय निर्वाचनमा भन्‍ने ढङ्‍गले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले प्रतिक्रिया दिएको देखियो । कांग्रेसले अन्य दललाई वैशाखी बनाएर दुई तहमा पनि ठूलो दल बन्‍न मात्रै चाहेको हो रु

ठूलो दल त बन्‍ने नै हो । बहुमतसहित ठूलो हुने चाहनै हो नि । तर, के हो भन्दाखेरी तालमेल हुँदै गर्दाखेरी नेपाली कांग्रेस मात्रै लाभान्वित भयो भन्‍ने बुझियो भने त्यो वस्तुपरक हुँदैन ।

मानौँ, काठमाडौं महानगरपालिकामा एकीकृत समाजवादीका उपप्रमुख हार्‍यो भन्‍ने हो भने कांग्रेस पनि हार्‍यो । विराटनगरमा जसपाले उपप्रमुख हार्‍यो भन्‍ने हो भने वीरगंजमा प्रमुख नै जितेको हो ।

त्यसकारणले माधव कमरेडले, उपेन्द्रजी र बाबुरामजीहरूले या प्रचण्ड कमरेडले कसैले पनि हेर्दैगर्दाखेरी कहाँनेर अनुकूल परिस्थिति आएको छ रु त्यसका पछि कारण के छ रु त्यसलाई हेर्नुपर्छ । अर्को प्रतिकूल के आएको छ रु त्यसलाई पनि हेर्नुपर्छ ।

हामीले एउटालाई अर्कोले आरोपित गर्ने कुरा गर्नु हुँदैन । तर, पनि के हो भने चर्चा परिचर्चा त विविध रूपमा आएका छन् । जस्तो माधव कमरेडले हारेको भूगोल हेर्दैगर्दा हेटौंडामा चाहिँ के भएको त रु हेटौंडामा त नयाँ खुलेको दल, जसको भर्खर परिचय कार्यक्रम जस्तो हुँदैगर्दा त्यहाँ उहाँको दलले जितेको छ ।

पोखरा महानगरपालिकाको प्रमुख जितेको छ । पोखरा महानगरपालिकाको प्रमुख जित्दैगर्दा हामीले किन उपप्रमुख हार्‍यौँ रु त्यसरी आशंका गर्नेतर्फ लागियो भने शंकाले लङ्‍का जलाउँछ भनेजस्तो हुन्छ ।

त्यसकारण सार्वजनिक रूपमा आशंकाका कुराहरू, आरोपका कुराहरू गरेर राजनीति हुँदैन । अहिले त संयमतापूर्वक सुन्‍ने हो । विश्लेषण गर्ने हो । केलाउने हो । तथ्यमा जाने हो । त्यसतर्फ जान म दलका नेताहरूलाई अपिल र आग्रह गर्न चाहन्छु ।

अहिले बाम गठबन्धनको पनि चर्चा गाइँगुइँ सुन्‍न थालिएको छ । र, प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले माओवादी एमालेसँग गठबन्धन गरेर जाने छाँट पाएको अर्थमा अत्तालिँदै कात्तिकतिरै दुई तहकै निर्वाचन गरौँ भनेको रूपमा कतिपयले बुझेका छन् । त्यस्तो हो रु

होइन । बिल्कुलै होइन नि । किनभने, निर्वाचनमा जाने भन्दैगर्दा २०७४ सालमा एमाले र माओवादी मिल्दै गर्दा पनि त हामी हार्दै छौँ भन्‍ने थाहा हुँदाहुँदै चुनावमा गएको हो ।

२०७४ सालमा चुनाव कांग्रेसले गराएको र अहिले पनि कांग्रेसले नै । अझ चुनावको दिन बिहान पनि चुनाव हुँदैन कि भनेर बोल्न किन छुटाउनुभयो भन्‍ने मात्रै हो, कमरेड केपी ओलीले ।

हामीले जितिरहेको चुनाव पनि गरेका छौँ । हारिरहेको चुनाव पनि गरेका छौँ । र, चुनाव गराउने विषय कांग्रेस जित्छ या हार्छ भन्‍ने कोणबाट बिल्कुलै हेर्नु हुँदैन ।

र, मलाई लाग्दैन कि प्रतिगमनविरुद्धको आन्दोलनमा सँगसँगै उभिएका सहयात्री दलहरू कसैले पनि वस्तुस्थिति जे छ, संविधानलाई ठीक ढङ्‍गले ट्रयाकमा ल्याउने र सम्मुनतिको विषय पनि कानले सुन्‍ने खालको विकास भन्दा पनि आँखाले देख्‍ने र अनुभूति गर्न सकिने खालको विकासको सङ्‍कल्प छोड्नुहुन्छ भन्‍ने आशंका म चाहिँ गर्न सक्दिनँ ।

यदि, बाम गठबन्धन भयो भने त २०७४ मा १६५ संसदीय निर्वाचन क्षेत्रमध्ये २३ ठाउँ मात्रै जित्यो प्रत्यक्षमा त । त्यो भनेको करिब १३ प्रतिशत जित हो । त्यो भनेको हरिबिजोक हो । यसपाली पनि बाम गठबन्धन भयो भने कांग्रेसले त्यस्तै नजिता बेहोर्नु पर्ला है रु

अब यस्तो हो, गणेशमानजीले त्याग नगरेर प्रधानमन्त्री बन्‍नुभएको भए कस्तो हुन्थ्यो होला रु अथवा, मदन भण्डारीको निधन नभएको भए केपी कमरेडको अवस्था के हुन्थ्यो होला रु या दरबार हत्याकाण्ड नभएको भए गणतन्त्र आउँथ्यो कि आउँदैनथ्यो भन्‍ने खालको प्रश्‍नमा समय खेर फाल्नु उचित हुँदैन ।

उसो भए, कांग्रेसले नीति महाधिवेशनचाहिँ गर्दैन ?

त्यसबारे हामी सल्लाह गरिरहेका छौँ ।

कहिलेतिर गर्नेगरी ?

स्थानीय निर्वाचन सकिसकेपछि समीक्षात्मक बैठक बस्छ । बैठक बस्दै गर्दाखेरी नीति महाधिवेशनको विषयवस्तुमा जाने अनौपचारिक सल्लाह र परामर्श भइरहेको छ ।

कतिपयले चाहिँ २०७४ सालमा कांग्रेसले जसरी विश्‍व राजनीतिक घटनाक्रम, देशको राजनीतिक, सामाजिक, आर्थिक स्थिति जस्तो छ भनेर ब्याख्या गरेको थियो । सात वर्षपछि २०७९ मा आइपुग्दा पनि नीति महाधिवेशन नगर्नुले कांग्रेस त्यसबेलाकै विश्लेषणमा छ कि भनेर बुझेका छन् । ठीक हो रु

नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि यस अवधिमा कुनै डकुमेन्ट, दस्तावेजहरू कांग्रेस पार्टीले निर्माण नै नगरेको अनि कांग्रेस पार्टी त्यत्तिकै अगाडि गइरहेको हुन्थ्यो भने तपाईंको भनाइ ठीक हुन्थ्यो ।

तर, यसबीचमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय छन् । पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा विज्ञहरूसहितको टिम बसेर त्यहाँ भएका छलफल कार्यसम्पादन समितिमा ल्याएको र कार्यसम्पादन समितिले केन्द्रीय समितिमा लगेर छलफल गरी घोषणापत्र जारी गरेका छौँ ।

त्यो जारी गरेको घोषणापत्रमा हाम्रो नीति भेट्नुहुन्छ । कार्यक्रम भेट्नुहुन्छ । दृष्टिकोण भेट्नुहुन्छ । वर्तमान भेट्नुहुन्छ । विगत भेट्नुहुन्छ । भविष्य भेट्नुहुन्छ ।

भनेपछि कांग्रेसले नीति महाधिवेशन विधिवत रूपमा भएको छैन भन्‍नुको अर्थ हामीले कुनै नीति, दृष्टिकोण र कार्यक्रमविहीन भएर गइरहेका छौँ भनेर बुझ्नु हुँदैन ।

आफैसँग विवाह गर्दै यी भारतीय युवती, अभिभावकले दिए आशिर्वाद

नयाँ दिल्ली । सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म आइपुगेको छ ।

पश्चिमी राज्य गुजरातको वडोदरा सहरको एउटा मन्दिरमा ११ जुनको साँझमा परम्परागत हिन्दू समारोहबीच क्षमा बिन्दुको विवाह हुँदैछ ।

रातो दुलहीको पोशाकमा सजिँदै हातमा मेहन्दी र कपालमा सिन्दुर लगाएर उनले विवाह मण्डपको पवित्र आगोको वरपर सात फन्को लगाउनेछिन् ।

विवाहको अघिल्लो दिन हल्दी र नृत्य तथा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । विवाहपछि उनी हनिमुनको लागि दुई साता गोवा जानेछिन् ।

यी सवै प्रक्रियामा दुलाहा भने हुने छैनन् । भारतमा अहिलेसम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दैछिन् ।

‘धेरै मानिसहरूले म धेरै आकर्षित भएको बताउँछन्’, समाजशास्त्रीकी २४ वर्षीया विद्यार्थी तथा ब्लगर भन्छिन्, ‘उनीहरूलाई म आकर्षित भएको बताउँछु ।’

आफूले आफैलाई विवाह गरेर विन्दुले ‘आफ्नो माया’प्रति समर्पित भएको बताउँछिन् । ‘स्वयंमलाई विवाह गर्नु भनेको आफ्नो लागि प्रतिबद्ध हुनु हो । यसले तपाईलाई सबैभन्दा जीवित, सुन्दर र आनन्दित व्यक्ति बन्न मद्दत गर्दछ ।’ उनको आगामी विवाहलाई अभिभावकले पनि सहमति जनाएका छन् । बाबुआमाले आर्शीवाद दिएका छन् भने साथीभाइ वैवाहिक कार्यक्रममा सहभागी हुने जनाएका छन् ।

लगभग २० वर्षअघि लोकप्रिय अमेरिकी श्रृंखला सेक्स एन्ड द सिटीकी पात्र क्यारी ब्राडशाले यसलाई उठाएपछि सोलोगोमीबारे चर्चा हुन थालेको हो । तर, त्यो व्यङ्ग्य नाटक मात्र थियो ।

त्यसयता धेरैले यस्ता विवाह गरेका छन् । विशेषगरी एकल महिलाको यसप्रति रुची बढ्दो छ । एउटा असामान्य घटनामा ब्राजिलकी ३३ वर्षीया मोडलले आफूले आफैलाई विवाह गरेको तीन महिनापछि ‘सम्बन्ध बिच्छेद’ गरेकी थिइन् ।

हाफ म्याराथनमा पुरुषतर्फ पार्की र महिलातर्फ पछाइ प्रथम

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम हुनुभएको छ ।

पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्नुभएको थियो । पार्की १३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुनुहुन्छ । त्यसैगरी पछाइले निर्धारित दूरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गर्नुभएको थियो ।

त्यस्तै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो हुनुभएको छ । त्यस्तै तेस्रो हुने त्रिभुवन आर्मी क्लबकै मुकेश पालले एक घण्टा आठ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक हुनुभएको छ ।

त्यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो हुनुभयो भने नेपाल पुलिस क्लबकी रोवा विष्टले एक घण्टा ३० मिनेट ४२ सकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।

त्यस्तै चौथो हुने त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, पाँचौँ हुने विन्द्रा श्रेष्ठ र छैटौँ हुने आर्मीकी गीता विकले क्रमशः एक घण्टा ३१ मिनेट १३ सेकेन्ड, एक घण्टा ३३ मिनेट २७ सेकेन्ड र एक घण्टा ३६ मिनेट तीन सेकेन्डमा निर्धारित दूरी पार गर्नुभएको छ ।

कान्तिपुर हाफ म्याराथनको २१।१ किमि विधामा महिला र पुरुषका विजेताले रु एक–एक लाख पुरस्कार पाउने छन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र रु पाँच हजार प्राप्त गर्ने जनाइएको छ ।

‘जलवायु परिवर्तन’ नाराका साथ आयोजित दशौँ संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (पाँच किमि), ह्विलचियर रेस (तीन किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो । हाफ म्याराथन थापाथलीबाट सुरु भएर माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, थिमि, सल्लाघारी, कटुञ्जे रोडबाट सोही रुट फर्किएर थापाथली आएर समापन भएको थियो ।

मेयर साहद्वारा अध्यक्ष दाहालसँग भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह खुमलटार पुग्नु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान उहाँ खुमलटार पुग्नु भएको हो ।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसक्नु भएको छ ।

मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत देउ : थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गर्नु भएको छ ।

महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भिर ध्यानाकर्षण गराउनु भयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गर्नु भयो ।

महामन्त्री थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताउनु भयो । नभए यसले मुलुकलाई झनै मारमा पर्ने महामन्त्री थापाको भनाई थियो । उहाँले भन्नु भयो, ‘कोभिड र त्यसपश्चात रुस-युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अव जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु ।

म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होईन, यसले यति अस्तव्यस्त बनाउछ-हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु–युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । मेरो पहिलो विषय यो हो । पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय बजारबाट हामीहरु किन्छौं । त्यसमा ६० पैसा मात्रै हो प्रशासनिक खर्च । आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटर जम्मा ६० पैसा मात्रै कटने हो । बाँकि त हाम्रो कर हो । पूर्वाधार कर हामीले घटायौं । अरु पनि घटाएर भएपनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि हामीले चाल्नुपर्छ । हाम्रो स्टोरेज ६ महिनाको होइन, ८/१० दिनको मात्रै छ ।

हामीले स्टोरेज क्यासिटी बढाउनै पर्छ । कच्चा तेल ल्याएर रिफाईन गर्ने विकल्पबारे पनि सोचौं । अर्कोकुरा, यो संसद चलिरहेको बेला म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु-पेट्रोलियम ऐन चाहियो हामीलाई । पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्वकांक्षी योजनाका साथ १० वर्ष भित्रमा निमिटयान्न पार्ने भनेर लाग्यौ भने बाँच्छौ हामी ।’

महामन्त्री थापाले पेट्रोलियम पदार्थको स्टोरेज क्यापासिटी बढाउने काममा पनि ध्यान दिन सरकारलाई दवाव दिनु भयो ।