सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता : केमिकल हालेर दुर्गन्ध हटाउँछौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुग्नुभयो । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उहाँ पुगनु भएको हो ।

उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गरे । छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताउनु भयो ।

स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताउनु भयो । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा जोड दिनुभयो ।

स्थानीयसँग उनले अर्को पनि प्रतिबद्धता जनाउनु भयो । फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताउनु भयो । ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सार्नुभयो । यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने बताउनु भयो ।

छलफलको क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि मेयरसँग आग्रह गरे ।

सिसडोलवासीले फोहोर बिर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन् । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मेयर साहले यसअघि बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग भेट गर्नुभएको थियो । भेटको क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो ।

अहिले निर्माणाधिन अवस्थामा रहेको बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो । मेयरमा निर्वाचित भएसँगै मेयर साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुग्नु भएको थियो । त्यसपछि आज बिहान उहाँ सिसडोल पु्ग्नुभएको हो । काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने उहाँले घोषणा गर्नुभएको छ ।

एनसेलले ल्यायो अनलिमिटेड डेटा र आकर्षक अल नेट भ्वाइस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । प्याकहरु बिहिबारबाट संचालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।
डेटाका साथै, एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् । एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु. २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् । यी अल नेट प्याकहरु एष्ट्रिक्स १७१११८ ह्यास डायल गरि सहजै लिन सकिन्छ ।
यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् ।
सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गर्नुभयो ।

ब्राण्डवर्थ प्रालिले आज काठमाडौँमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै उहाँले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समेत समट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु, यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ, यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँभरि कायम गर्नुपर्छ ।” उहाँले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने जनाउँदै यस्ता कार्यक्रमबाट समाज प्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो ।

सूचना प्रविधिको विकास विना मुलुकको विकाससमेत असम्भव भएको जनाउँदै उहाँले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताउनुभयो । दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पु¥याउन सहयोग गर्ने उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु¥याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको जानकारी गराउनुभयो । इन्टरनेट सेवालाई अझ सस्तो, गुणस्तरीय बनाउन सरकार सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला अस्पतालको सुधारका लागि पुतलीबजार नगरपालिकाकाले चाल्यो कदम

-युवराज पौडेल

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा नयाँ नेतृत्वले पदभार सम्हालेसँगै स्याङ्जा जिल्ला अस्पतालको सुधार र स्तरोन्नतिमा विशेष चासो देखाएको छ । नेपाली काङ्ग्रेसका नेता क्षेत्रीय सभापति तुल्सीराम रेग्मी नगरप्रमुखमा निर्वाचित भएसँगै अस्पतालको सुधारका लागि कार्यपालिकाको पहिलो बैठकबाटै विभिन्न निर्णयहरु गरिएको छ ।

पुतलीबजार नगरपालिकाको कार्यपालिकाको पहिलो बैठकबाट नै नगर क्षेत्रभित्र डायलाइसिस र रक्त सञ्चार सेवालाई प्रभावकारी र सहज बनाउने निर्णय गरेको नगर प्रवक्ता मनोज पौडेलले जानकारी दिनुभयो । कार्यपालिका बैठकले मृगौला रोगका कारण पीडित भएका बिरामीहरुका लागि सहज र प्रभावकारी तरिकाले डायलाइसिस सेवा नियमित सञ्चालन गर्ने निर्णय समेत गरेको पौडेलले बताउनुभयो ।

त्यस्तै कार्यपालिकाको पहिलो बैठकद्वारा नै पुतलीबजारमा भएको ब्लड बैङ्कको समस्या समाधान गर्नका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी यथाशीघ्र ब्लड बैङ्क सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । यस कार्यका लागि आ.ब.२०७८–७९ मा विपद् व्यवस्थापन कोषमा विनियोजित भई बाँकी रहेको बजेटबाट रु. १० लाख बजेट तत्काल उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । बिहिबार जिल्ला अस्पताल स्याङ्जामा हेमोडाइलाइसिस सेवा बिस्तार शुभारम्भ कार्यक्रमको पुतलीबजारका नवनिर्वाचित प्रमुख तुल्सीराम रेग्मीले उद्घाटन गर्नुभयो ।

जिल्ला अस्पताल स्याङ्जाको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख रेग्मीले अस्पतालको सुधार र स्तरोन्नतिमा आफ्नो विशेष ध्यान गएको बताउँदै जनताको सहज र सर्वसुलभ स्वास्थ्य पाउने अधिकारको सम्मान गर्ने गरी आफूले काम गर्न चाहेको बताउनुभयो । उक्त अवसरमा नगरप्रमुख रेग्मीले जिल्ला अस्पतालमा खानेपानी व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाबाट रु. ३ लाख विनियोजन गरिएको जानकारी समेत दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, नगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत रमेश घर्ती, जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्य, जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाका कोषाध्यक्ष महेशबहादुर थापा, नगर प्रवक्ता मनोज पौडेल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव मनोज मल्ल, अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदार लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदारले अस्पतालभित्रका व्यवस्थापनका समस्याहरुलाई क्रमशः समाधान गरिने बताउनुभयो । उहाँले जिल्लामा ब्लड बैङ्क नहुँदा बिरामीलाई रगत दिन समस्या भएकाले यसतर्फ पुतलीबजार नगरपालिकासँग व्यवस्थापन समितिको तर्फबाट अनुरोध गरिएको बताउँदै सबैसँग सहकार्य गरेर ब्लड बैङ्क स्थापना गर्न सके त्यसबाट बिरामीलाई अहिले भइरहेको रगतको समस्या समाधान हुने बताउनुभयो । सो अवसरमा प्रमुख उपप्रमुख लगायतको टोलीले अस्पतालको अवस्थाको निरीक्षण गर्नुका साथै बिरामीहरुलाई भेटेर अस्पतालबाट प्राप्त सेवा सुविधाका बारेमा प्रतिक्रिया लिएको थियो ।

स्याङ्जा जिल्ला सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बिरामीहरुले उपचारका लागि दुःख पाइरहेको तथा रगत झिक्ने ब्लड ब्याग समेत उपलब्ध नभएको र व्यवस्थापनमा कमीकमजोरी देखिएको भन्ने समाचार बाहिर आइरहेका सन्दर्भमा नगरपालिकाको नवनिर्वाचित नेतृत्वले यसतर्फ विशेष चासो देखाएको हो ।

नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति तथा संविधानसभा सदस्य राजु थापाले जिल्ला अस्पतालमा विगत लामो समयदेखि थुप्रिएका समस्या क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला अस्पतालको व्यवस्थापनका सन्दर्भमा पत्रकारद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै सभापति थापाले पुतलीबजार नगरपालिकाको नयाँ नेतृत्वले अस्पतालको बेथिति अन्त्य गर्दै जनताले सहज र सर्वसुलभ तरिकाले उपचार पाउने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार हो । पुतलीबजार नगरपालिकाले पनि शिक्षा र स्वास्थ्यलाई विशेष महत्वका साथ लिएको छ । हामीले तत्काल देखिने गरी सुधारका कदम चालेका छौं ।’

कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताउनु भएको छ । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताउनु् भएको छ । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताउनु भएको हो ।

केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिनुभएको थियो । प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उहाँले बताउनु भयो ।

‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, महतले भन्नुभयो, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’

कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उहाँले बताउनु भयो । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उहाँले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताउनु भयो । जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उहाँले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।

केही ठाउँमा अपवादबाहेक स्थानीय तहको निर्वाचनको परिणाम सकारात्मक आएको उहाँले बताउनु भयो । पाँच दलीय गठबन्धनको सफल परीक्षण भएको भन्दै उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने उहाँले विश्वास व्यक्त गरे ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका समस्या समाधान गर्न सहमत

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाइएको मन्त्रालयले जनाएएको छ ।

त्यसका लागि अबदेखि पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ । अहिले श्रम स्वीकृतिको प्रक्रिया सुरु नहुँदै दैनिक हजारौँ श्रमिक बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् ।

पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्र स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेछन् । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको स्वास्थ्य व्यवसायीको भनाइ छ ।

स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सबै प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमानुसार नगर्ने संस्थालाई कारबाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिकरुपमा मन्त्रालयमा बुझाउने निर्णय भएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयबाट हुने सेवालाई अनलाइनबाट प्रवाह गरी छिटोछरितो गरिएको भन्दै अन्य सरोकारवाला संस्थाहरुले पनि श्रमिकलाई दुःख दिन नहुने बताउनुभयो ।

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारतमा

काठमाडौं । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ ।

खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कने कार्यक्रम रहेको छ ।

भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्नुु हुने भएको हो ।

मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ । मन्त्री यादव २६ जेठमा स्वदेश फर्कनु हुनेछ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा संकल्प प्रस्ताव पेस हुँदै

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गर्नुभएको छ ।

शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्यत्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।

‘पेट्रोलिय पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ ? भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘जनताको आधारभुत आवाश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलिय पदार्थको मूल्य घटाउन स्पस्ट खाका पेस गर्न सरकारलाई झकझकाउन संसदले पहल गर्न आवाश्यक भएका’ भन्दै उक्त संकल्प प्रस्ताव पेश गरिएको हो ।

सो प्रस्तावसहित आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्यय अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ ।

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : संघ

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँको भनाइ छ ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । १० विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

झुन्डिएको अवस्थामा फेला

प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट २ मा एक जना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटले जनाएको छ ।

बर्दघाट नगरपालिका २ का सुखौराका बर्ष ७० को तुलबहादुर थापा आफ्नै घरदेखी २०० मिटर दक्षिण पश्चिम रहेको बारीमा रहेको रुखमा प्लाष्टीको नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिनु भयो ।
घट्नास्थल सुरक्षीत राखिएको, मुचुल्का तथा अन्य अनुसन्धान बिहान भएको प्रहरीले जनाएको छ ।

बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताउनु भएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले बजेट मूल्यवृद्धि नियन्त्रण, देशकै आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताउनु भयो ।

आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उहाँले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताउनु भयो ।

बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उहाँले युवालाई विदेश पहलायन रोक्ने र युवालाई लागूऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि नरहेको बताउनु भयो । बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उनले बजेट कार्यान्वयनकै चरणमा अर्को सरकार आउने पनि बताउनु भयो ।

कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित भएन : पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताउनुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगिको हिसाबमा कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि हुने ठिकै भएपनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलव वृद्धि हुनु न्यायोचित नभएको बताउनुभएको हो । उहाँले यसरी समान रुपमा तलव वृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘तलव बढायौँ १५ प्रतिशत । ठिकै होला कर्मचारीको महंगीको हिसाबले । तर बिगतमा भन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरु र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त ? यो समाजवादउन्मुख भयो ? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन होला । बजेटका उद्देश्य माथि नै यत्रो धेरै व्याख्या गर्दाखेरीमा पनि यो चिजप्रति कतैपनि मेरो त्यहाँ सहमती हुन सकेन । मेरो मनले मानेन ।’

सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिएपनि एमालेले स्याबासी पाउने बताउनुभयो । उहाँले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिएपनि केही फरक नपर्ने बताउनुभयो । उहाँले वृद्धभत्ता ५ हजार पु-याएको भएपनि राम्रो हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो – ‘वृद्धभत्तालाई ६८ वर्ष झा-यौँ नि । वृद्धभत्ता जतिसुकै कुरा गरेपनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाई ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् । तर तपाईले आफैले पनि ५ हजार पु¥याउँछु भनेर हिजो घोषणापत्रमा बोलेको होइन र ? पाँच पु-याएको भए त अझ राम्रो हुन्थ्यो नि । किन गर्नुभएन ? त्यसमा बरु गुनासो छ ।’

उहाँले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्नुभयो । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टीने थिए भन्ने कांग्रेसले चाहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । कांग्रेसलाई छिटोभन्दा छिटो झुण्डिएका सबै गलगाड यहाँबाट कहिले यसको पिण्ड चुडाउने भन्ने छ । चुनाव भएदेखि यसको गलगाड छुट्थ्यो कि भन्ने छ । सतिदेवीको अंगपतन भएको जस्तो । चुनावपछि यि सबै कसले हात समातेको छ । कसले खुट्टा समातेको छ । ति सबै त्यहाँबाट छुट्टीएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’

सांसद पाण्डेले ६० लाख परिवारलाई इन्डक्श चुल्हो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको बताउनुभयो । उहाँले चुनवी फण्ड उठाउनका लागि इन्डक्श चुल्हो वितरणको खेलोमेलो गरिएको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘६० लाख परिवारलाई तपाईले इन्डक्शन चुल्हो बाँड्ने कुरा गर्नुभएको छ । मैले इन्टरनेटमा गएर हेर्दा ३४ सय देखि १२ हजारको इन्डक्शन चुल्होको दाम हेर्दाखेरी न्युनतम बेशमा राखेर ५ हजारमा किन्नुभयो भनेपनि ३० अर्ब रुपैयाँ पर्ने रहेछ । यो कतै चुनावमा फन्ड उठाउने खेलोमेलो त होइन यो ? तपाईसँग पुर्वाधार छैन अनि इन्डक्श चुल्हो बाड्ने कुरा गर्नुहुन्छ । पहिला एकचोटी यो सिएफएल वल्वको पनि यस्तै चर्चा भएको थियो पछि रोकियो । यसैमा खरिद गर्ने र अनुचित लाभ लिने खालको कतै कुरा त होइन ?’ उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग सांसद् बस्नेतको आग्रह

काठमाडौं । प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभएको छ । बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताउनु भयो । उहाँले अर्थमन्त्रीद्वारा प्रश्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताउनु भयो । सत्तारुढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रश्तुत गरिएको बताउनु भयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘हरेक बुँदामा यसको नियत के हो भनेर भन्नुको कुनै अर्थ छैन, यसले हामीलाई कहीँ पु¥याउँदैन । परिणाम पर्खिने धैर्यता हामी सबैले राख्नुपर्छ । किनकी हामीलाई थाहा छ विरासतमा धेरै समस्याहरु छन् र एकै वर्षमा सबै समस्या समाधान हुँदैनन् । त्यो समाधान गर्न एउटा स्पष्ट धाराणका साथ बढ्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको आवश्यक्ता हो । कसले कति श्रेय लिने भन्ने कुरा त्यतातिर श्रेयको विषयमा दौडिने बजेट होइन । हामीले बजेटलाई त्यस्तो बनाइनु हुँदैन । यो विषम परिस्थितिमा सबै क्षेत्र, वर्ग, समुदायले उत्साहीत हुने गरेर नै सन्तुलित बजेट आएको छ । पपुलिष्ट बजेटको कुरा भइरहेको छ । फूलको आँखामा फूलै संसार भन्ने कुरा पनि होला । के विषयमा पपुलिष्ट ? सपना देख्ने कुरालाई पपुलिष्ट भन्ने हो भने सपना त देख्नैपर्छ । सामाजिक न्यायको कुरालाई पपुलिष्ट भनेको हो भने हाम्रो आर्थिक विकासको मोडल आर्थिक वृद्धि र सामाजिक न्याय नै हो । अझ प्रतिपक्षले यसलार्य पपुलिष्ट भनेर बढी चर्चा गर्नु त्यति उपयुक्त हुँदैन कि ? जस्तो मलाई लाग्छ । यो बजेट उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रश्तुत भएको छ । आर्थिक विकासको मोडल नयाँ बनाउनुपर्छ । हामीले कपीपेस्ट होइन, नयाँ मोडल बनाऔँ । आर्थिक मोडेलले सन्तुलितरुप लिएको छ । कर्णाली क्षेत्रका विकासमा क्रान्ति ल्याउने सडक विकासको कार्ययोजना छ । कर्णाली क्षेत्रमा पूर्वाधार विकासमा उल्लेख्य सुधार ल्याउनेछ यो बजेटले । नयाँ आर्थिक विकासको मोडेल हाम्रो महत्वपूर्ण कुरा हो ।’
सांसद बस्नेतले आगामी आर्थिक वर्षको बजेट आर्थिक विकासको नयाँ मोडलको रुपमा आएको पनि उल्लेख गर्नुभयो ।

बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगियो : यादव

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले मधेश प्रदेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्री जनार्दन शर्मालाई दवाव दिनु भयो । सांसद यादवले मधेश प्रदेशलाई दिने अनुदान समेत गठबन्धन सरकारले घटाएर संघीयतामाथि नै धावा बोल्ने काम गरेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको छ भन्ने महशुस गरिएको छ । हुलाकी सडक मधेश प्रदेशको लाईभलाईन हो । र हुलाकी सडकमा थोरै बजेट राखिएको छ । जबकी धेरै पुलहरु, सडकहरु बनाउन बाँकि नै छ । त्यसकारण अर्थमन्त्रीजीको, यो सरकारको यसमा ध्यान जाओस् कि यो मधेश प्रदेशको लाईफलाईन हो हुलाकी राजमार्ग । र, त्यसमा जुन बजेट राखिएको छ । एकदमै थोरै छ । त्यसमा पुनर्विचार होस् । यस्तै मधेश प्रदेशमा कुनै खास योजना यो बजेटमा देखिएन । त्यसमा पनि पुनर्विचार होस । मधेश प्रदेशलाई दिने जुन अनुदान छ । झन यो गठबन्धनको सरकारले घटाएको छ । जुन चिन्तायोग्य छ । यसले गर्दा भोली संघीयतामाथि नै खतरा हुन्छ कि त्यसमा पनि पुनर्विचार होस ।’
सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेश प्रदेशको लागि नछुट्टयाएको भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गर्नु भयो ।

पाँच जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं, जाजरकोट, सिरहा, सुर्खेत र मोरङमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक खहरे डेरा गरी बस्ने ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोटको शिवलय गाउँपालिका–६ पानीमुला बस्ने २७ वर्षीया दुर्गा वुढा (शाही) सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

बिहीबार दिउँसोदेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो ।

सिरहाको लहान नगरपालिका–७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र पलङमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिका–६ राकम नजिक रहेको फेरीको लहरामा सल्यान बनगार्ड कुपिण्डेदह नगरपालिका–३ बस्ने ४५ वर्षीया पार्वती कामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

मोरङको विराटनगर महानगरपालिका–१२ आईतबारे नहरचोक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दिउसै सडकमा कुटपिट गरी हत्या

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।

सोही नगरपालिका–३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।

राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गर्नुभएको छ । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार आज राष्ट्रपति भण्डारीले पूजा आराधना गर्नुभएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राससलाई जानकारी दिनुभयो ।

बडीमालिकाको पूजा सकेर राष्ट्रपति भण्डारी सुर्खेत फर्किनुभएको हो । बडीमालिकामा राष्ट्रपति भण्डारीको आगमनले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।