रुखबाट लडेर एक युवकको मृत्यु

बागलुङ । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो ।

बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनार रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते भएका थिए । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको निसीखोला-४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो ।

समाजसेवीसमेत रहेका सुनारको मृत्युले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो ।

पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो । त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । गुलसन झाले २० रन र करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए । कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके । अविनास बोहोराले एक र ललित राजवंशीले दुई रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई/दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल आएका अफ्रिकी किशोरी भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँ

काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा  नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।

रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उहाँको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उहाँसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उहाँको दिमागमा खेलिरहेको थियो ।

यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थाल्नुभयो । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उहाँको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उहाँ आफ्नो छोटो परिचय नेपाली भाषामै दिनसक्ने हुनुभएको छ ।

स्काउटमार्फत नेपाल आएकी उहाँले चार महिनामै नेपाली भाषा र संस्कृति सिक्नुभएको छ । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिनुहुन्छ । भेट हुने नेपालीसँग उहाँ भन्नुहुन्छ, “नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।”

क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मियता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उहाँले नेपाली शब्द कोष समेत बटुल्न थाल्नुभएको छ ।

यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आउनुभएको छ । घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीहरुले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभव समेत विद्यालयहरुमा पुगेर सुनाउने गर्नुभएको छ ।

उहाँसँगैकि रेश्मा सलिम मलावीबाट आउनुभएको छ । अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो ? उहाँलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उहाँको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राख्नुभएको उहाँले सुनाउनुभयो ।

रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउदा नेपालप्रति उहाँमा आत्मीय भाव छ । “म मावली छेउमै छु जस्तो लागेको छ”, उहाँ थप्नुहुन्छ, “कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।”

मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्र्दयबाट मोहित हुनुहुन्छ । केही सुन्दरता तस्वीरमा कैद गर्नुभएको छ । घानाबाट आउनुभएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे ।

स्काउटले किशोरीलाई सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिनुभयो ।

यस  ‘गर्ल्स मुभमेन्ट’ (एसस)की नेपालको संयोजक समेत रहनुभएकी सरुका अनुसार स्काउटमा दुई वटा विश्व सङ्गठन छन् । एउटा वर्ल्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट (वजम) र अर्को वर्ल्ड एसोसिएसन अफ गर्ल गाइडस् एण्ड गर्ल्स स्काउटस (वाग्स) । यही वाग्स अन्तर्गत विभिन्न इनिसिएटीभ्सहरु छन् । जसमध्ये ‘यस गर्ल्स मुभमेन्ट’ पर्छ । यो युथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा छ महिना र अर्को १० महिनाको हुन्छ । जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बङ्गलादेश पनि छन् । विभिन्न देशका स्काउटहरु स्वंयसेवकमा आएर एक अर्काको देशमा अनुभव बुटल्ने गर्छन् ।

यसै अन्तर्गत यसपटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वंयमसेविकाका रुपमा नेपाल आएका हुन् । उनीहरुले यहाँ बसुन्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन् । नेपालबाट पाँच जना किशोरी पाँच वटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीन जना पठाउने गरिन्थ्यो भने अहिले सङ्ख्या बढाएर पाँच पुर्‍याइएको छ । सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो ।

सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवकहरु विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रमहरु सञ्चालन  गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामुलक कार्यक्रमहरु पनि गर्छन् ।

यसै अन्तर्गत ‘ग्रीन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमुलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’मा महिनावारीसँग सम्बन्धित शिक्षाहरु दिइन्छ र सिकाइन्छ । यस वर्ष नयाँ कार्यक्रम थपिएको छ । जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ ।

तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गर्ल्स क्यान क्याम्पेन’अन्तर्गत मूल नारा ‘एस गर्ल्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आइएको सरुले बताउनुभयो । रासस

सडकमार्गबाट एक वर्षमा चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । २०८० सालमा बैशाख १ देखि चैत ३० गतेसम्मको एक वर्षको अवधिमा सडकमार्ग हुँदै हिमालपारीको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।

म्याग्दी मुस्ताङ छिर्ने नाका अन्तर्गतको घासा प्रहरी चौकीमा रहेको तथ्याङ्क अनुसार गत वर्षको वैशाख एक गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार,दुई सय ८० जना आन्तरिक तथा वाह्य पर्यटकहरु मुस्ताङ पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकहरूको संख्या तीन लाख ३५ हजार चार सय ६६ रहेको छ । ती मध्ये दुई लाख २० हजार, सात सय २४ जना पुरुष छन् भने महिलाको संख्या एक लाख १४ हजार सात सय ४२ छ। यसैगरी वर्ष २०८० मा ७८ हजार आठसय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्येका पनि ७२ हजार,सातसय ५६ जना सार्क राष्ट्र भित्रका हुन् भने छ हजार ५८ जना सार्क राष्ट्र बाहिरका हुन् । सार्क राष्ट्रबाट ३८ हजार आठसय २१ जना पुरुष र ३३ हजार नौसय ३५ जना महिला छन् । सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चारसय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ ।

त्यसैगरी एक वर्षको अवधिमा हवाई मार्गबाट ११ हजार चारसय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एकसय ३४ जना पुरुष र पाँचसय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका छन् । त्यसैगरी सार्क राष्ट्रबाट तीन हजार सातसय ६७ जना पुरुष र चार हजार दुईसय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठसय ८६ जना पुरुष र आठसय ६४ जना महिला गरी एक हजार ७५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ ।

सडकको सहज पहुँचदेखि सामाजिक सञ्जालहरूको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षहरूमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।

पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्य स्थल बनेको छ ।सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ। बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मलेमुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको भिड बड्न थालेको हो ।

मुस्ताङ आफैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु रहेका छन् । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरु धेरै पुग्ने गरेका छन् ।

मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आईसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैचा रहेको छ ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, बाह्रवटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत वस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ (माटोको सहर)को चिनिन्छ ।

उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतको बीचमा हुने व्यापारको राजश्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालय समेत रहेको छ । यसैगरी छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाकालगायत पर्यटकीय क्षेत्रहरु उपल्लो मुस्ताङमा रहेका छन् ।

सन् २०२२ मा विदेशी पर्यटकहरु ६५ हजार ९ सय ४० जनाले मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले बताउनुभयो । सन् २०२३ मा ७८ हजार, आठसय १४ जना वाह्य पर्यटक मुस्ताङ भित्रिएका छन् ।

मुस्ताङमा खासगरी धार्मिक पर्यटकहरु कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै १०८ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् ।

यसका साथै मार्फाको स्याउ बगैचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाहरुको अवलोकन तथा भ्रमणमा वर्षेनी पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।

विश्वमै चर्चित स्थानहरुमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकहरुबाट अधिकांश पर्यटकहरु विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाहरुबाट पनि मुस्ताङ घुम्न जाने पर्यटकहरुको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाई मार्गबाट पनि पुग्ने गर्दछन् ।

नदी कटानका कारण साँघुरिदै वस्ती : जग्गा छैन तर, कर तिर्दैछन् गाउँले

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिदै गएको छ । म्याग्दीको बेनी नगरपालिका-२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ । नदी गाउँभएको क्षेत्रबाट बगेको छ तर, स्थानीयले नदी बगेको जग्गाको कर तिरिरहेका छन् ।

बगरफाँटवासीले विसं २०५७सालदेखि हुँदै नभएको जग्गाको कर तिर्न वाध्य हुनुपरेको हो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओम बहादुर थापाले बताउनुभयो ।

बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारिपट्टि बेनी-६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा नभए पनि जग्गाधनी पुर्जा कामयमै रहेकोले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनुपरेको बेनी-२ का ओमवहादुर थापाले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगायत आठ व्यक्तिले मालपोत कर तिर्दै आएका छन् ।

पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी-६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाको भनाइ छ । “हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ”, उहाँले भन्नुभयो, “जग्गाधनी प्रमाण पुर्जामा हाम्रो नाम छ, वर्षेनी मालपोत कर तिर्दै आएका छौँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौँ, हामीमाथि अन्याय भएको छ ।”

विसं २०५७ मा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो । यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरूपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

बगरफाँटगाउँ पहिरा र नदी कटानको जोखिममा पर्दै गएको छ । विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरा र गाउँको पुछारमा नदीको कटानबाट वर्षेनी त्रसित हुने गरेका छन् ।

नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबियन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरा र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ”, नदी कटानबाट गाउँलाई जोगाउन वर्षेनी तटबन्धनको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।

नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले जानकारी दिनुभयो ।

बेनी-३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उहाँको भनाइ छ ।

गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा सङ्घबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर समस्या समाधान नभएकाले यसले सदरमुकाम बेनीबजारसमेत प्रभावित हुने अनुमान गरिएको छ ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल र बस्ती मासिने खतरा बढेको जनाइएको छ । पहिराले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइँ सरिसकेको स्थानीय पदमपाणी शर्माले जानकारी दिनुभयो ।

पेस्तोल र गोलीसहित एकजना पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित सोही नगरपालिका-६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका-५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई सोही नगरपालिका-११ सालबारीस्थित होटलमा बुधबार जबजरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत हुन नसकेको विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालमा तीन स्थानमा मौसमसम्बन्धी जानकारी दिने राडार छन् । सोहीमध्येको सुर्खेतको राडार बिग्रिएपछि हाल बाँकी दुई वटामात्रै सञ्चालनमा छन् । विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले उक्त राडार मर्मतका लागि बोलपत्र आह्वान भए पनि विज्ञ अहिलेसम्म भेटिएको छैन । “पहिले एकपटक बोलपत्र आह्वान गरेका थियौँ तर त्यो समयमा कसैको आवेदन परेन, अहिले फेरि बोलपत्र खुलाउने तयारी छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नेपाली विज्ञले मर्मत गर्न नसकेपछि विदेशी विज्ञको खोजी भइरहेको छ । “यसपटक केही सर्तहरु परिवर्तन गरे बोलपत्र आह्वानको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सो राडार मर्मत गर्न रु १९ करोड लाग्ने अनुमान गरिएको छ । राडार मर्मतका लागि छनोट भएको विज्ञ समूहले कम्तीमा पनि साढे दुई वर्षसम्मको जिम्मा लिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “यी राडारले दुई सय किलोमिटरमाथिसम्मको हावाको गति थाहा पाउने र पानी पर्छ कि पर्दैन रु भन्ने पूर्वानुमान गर्न सहज हुनुका साथै वायुमण्डलको हावामा हिउँको मात्रा थाहा पाउन सहज हुन्छ ।”

त्यतिमात्रै होइन, चट्याङ पूर्वानुमान गर्न सहज गर्ने माध्यम ‘लाइटिङ नेटवर्क स्टेसन’ पनि बिग्रिएको अवस्थामा  छ । सो मर्मतका लागि विदेशी विज्ञकै आवश्यकता पर्ने उहाँको भनाइ छ । कर्माचार्यका अनुसार हाल नेपालमा यस्ता स्टेसन नौ वटा छन् । “यी स्टेसनले २० मिनेटअघि कुन स्थानमा चट्याङ पर्दैछ भन्ने कुरा जानकारी दिन सहयोग पुग्नेछ । साथै चट्याङसम्बन्धी पूर्वसूचना प्रवाह गरेर जनताको जीउ धनको सुरक्षा गर्न सहयोग पुग्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर यसको पनि एकीकृत प्रणालीमा समस्या आएपछि अहिले यो प्रणाली पनि नचलेको अवस्थामा छन् । जसले गर्दा हाल नेपालको आफ्नै चट्याङ्का घटना पूर्वानुमान गर्ने यन्त्र नै सञ्चालनमा छैन ।”

उक्त स्टेसन मर्मत गर्नका लागि पनि विदेशी विज्ञबिना सम्भव नहुने भए नहुने उहाँको भनाइ छ । यसका लागि रु दुई करोड लाग्ने कर्माचार्यको अनुमान छ ।

स्वदेशी स्टेसन सञ्चालन नभएपछि हामी यसका लागि छिमेकी मुलुकको सहयोग लिनुपर्ने अवस्थामा रहेको उहाँले सुनाउनुभयो । “नेपालमा चट्याङको अवस्था थाहा पाउनका लागि हामीले ‘साउथ एसियन लाइटिङ नेटवर्कसँग’ समन्वय गरिरहेका छौँ । यस नेटवर्कमा नेपालकोतर्फबाट श्रीराम शर्मा हुनुहुन्छ । भारतीय मौसम विज्ञान विभाग र स्याटालाइटको सहायताबाट हाल चट्याङको जानकारी लिइरहेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो प्रणाली सुधार नहुञ्जेल यसैगरी चट्याङ्सम्बन्धी पूर्वानुमान गर्नेछौँ । तर जतिसक्दो छिटो हामी प्रणाली सुधारमा लागिरहेका छौँ ।”

त्यतिमात्रै होइन मौसमी बेलुनमा समस्या देखिएको पनि धेरै भइसकेको छ । जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा विसं २०७५ असार ६ गतेदेखि कीर्तिपुरबाट मौसमी बेलुन उडाइएको थियो । त्यसदिनदेखि नियमितरुपमा बिहान ५ः३० बजे यस्ता बेलुनहरु सोही स्थानबाट उडाइने विभागले प्रतिबद्धता जनाएको थियो ।

विश्व मौसम सङ्गठनका अनुसार मौसम तथ्याङ्क लिन दिनमा दुईपटक मौसमी बेलुन उडाउनुपर्ने हुन्छ । तर बजेट अभाव कारणले दिनमा एकपटक उठाउँदै आइएको मौसमी बेलुन हाल दैनिक एकपटक पनि उडाउन सकिएको छैन । “एकपटक बेलुन उडाउँदा दैनिक रु ५० हजारका दरले मासिक १५ लाख लागत लाग्छ । दुई पटक उडाएमा मासिक रु ३० लाख खर्च हुन्छ”, महानिर्देशक कर्माचार्यले भन्नुभयो, “बेलुनलगायतका आवश्यक सामग्री किन्न दैनिक ५० हजार खर्च हुन्छ, किनभने एकपटक उठाइसकेको बेलुन काम लाग्दैन ।”

उक्त बेलुन जमिनभभन्दा २० किलोमिटरमाथिसम्म पुग्छ । हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुनमाथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्छन् । “बेलुनमा जडित ‘सेन्सर’ले नियमित रूपमा मौसमी तथ्याङ्क पठाउने गर्दछ”, उहाँले भन्नुभयो, “बेलुन झर्दा त्यसमा झुण्डाइएको प्यारासुटका माध्यमबाट बिस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ ।”

माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने उहाँको भनाइ छ । यसो गर्दा वायुमण्डलको आग्रता, वायुको गति, दिशा थाहा हुँदा मौसम पूर्वानुमानमा सहयोग पुग्ने उहाँले बताउनुभयो । वित्त स्रोतको अभावका कारण निरन्तर रुपमा बेलुन उडाउन असहज भएको र अब यसलाई निरन्तरता दिने तयारी भइरहेकोसमेत उहाँले जानकारी दिनुभयो । “हाल बेलुन सकिएकाले उडाउन सकिएको थिएन”, कर्माचार्यले भन्नुभयो, “आगामी जेठभित्र फेरि बेलुन उठाउने गरी तयारी अगाडि बढाएका छौँ । यो सञ्चालन नहुँदा माथिल्लोस्तरको वायुमण्डलको अवस्था थाहा नहुने र मौसम पूर्वानुमान गर्नसक्ने क्षमतामा ह्रास आउँछ ।”

उक्त बेलुन धनगढीमा पनि राख्नेगरी छलफल अगाडि बढिरहेको उहाँले जानकारी  दिनुभयो । उहाँका अनुसार यस विषयमा विश्व मौसम सङ्गठनसँग छलफल भइरहेको छ । विश्वको जलवायुको अस्था थाहा पाउन नेपालको पनि तथ्याङ्क उत्तिकै महत्वपूर्ण हुन्छ ।

“जनशक्तिको अभावमा यस्ता मनसुनजन्य विपत्तिको पूर्वसूचना प्रभावकारी रुपमा दिन सकिरहेका छैनौँ । यसकारण हामीले दरबन्दी संरचना पनि परिवर्तन गरेर अगाडि बढ्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार हिम स्वचालित केन्द्रको पनि विकास गर्ने योजना छ । “यसले हिमालको तापक्रमको अवस्था थाहा पाउन सहयोग गर्नेछ । उच्च हिमाली क्षेत्रमा २० वटा स्थानमा केन्द्र स्थापना गर्न जरुरी छ । दुई स्थानमा जडान भइरहेको अवस्था छ”, उहाँले भन्नुभयो ।

कर्माचार्यका अनुसार एउटा उपकरण जडानका लागि करिब रु ११ करोड खर्च हुन्छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पर्दै गइरहेको अवस्थामा यो थाहा पाउन हिम स्वचालित केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुहुन्छ, जलवायुविद् तथा युएनडिपी नेपालका जलवायु विश्लेषक दीपक केसी ।

“मौसमजन्य घटनाका पूर्वानुमान गर्ने स्टेसन पर्याप्त छैनन्, खासगरी उच्च हिमाली क्षेत्रमा धेरै कम छन्”, उहाँले भन्नुभयो, “उच्च हिमाली भेगमा यस्ता स्टेसन जरुरी छन् । नेपालको जलवायुको मुद्दालाई पर्वतीय क्षेत्रसँग जोडेर बहस चलिरहँदा वैज्ञानिक प्रमाण अन्तर्राष्ट्रिय मञ्चमा पेस गर्नका लागि पनि हिमाली क्षेत्रमा मौसमी राडार जडान जरुरी छ ।”

महानिर्देशक कर्माचार्यले त्यसका साथै अब आगामी एक सातासम्मको मौसम पूर्वानुमान गर्ने पनि तयारी भइरहेको बताउनुभयो । हाल तीन दिनसम्मको मात्रै पूर्वानुमान हुने गरेकामा त्यसलाई बढाएर सात दिन पु¥याउने तयारी भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले विश्वव्यापी मोडलअनुसार अगाडि बढ्नुपर्ने भएकाले, प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर अगाडि बढ्ने सोच बनाएका छौँ ।”

आवश्यकताअनुसारको वित्तीय स्रोतको अभावका कारण नयाँ प्रणालीहरुको विकास हुन नसकेको उहाँको भनाइ छ । कर्माचार्यले मौसम पूर्वानुमानका लागि अन्य विकसित प्रणालीको उपयोग गर्ने विषयमा पनि छलफल चलिरहेको बताउनुभयो ।

विगतमा बाढीको पूर्वसूचना दिने गरिए पनि अन्य विपत्जन्य घटनाको पूर्वसूचना दिन नसकिएको भन्दै आगामी दिनमा त्यसको पनि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “विषेशगरी हामीले बाढीसम्बन्धी मात्रै पूर्वसूचना उपलब्ध गराउँदै आएका छौँ । तर अबदेखि पहिरो, हिमपहिरोको, लु, वन डडेलो, हावाहुरी, भारी वर्षा, चट्याङ, शीतलहरलगायतका १२ किसिमका विपद्को पूर्वानुमान गरी एसएमएसमार्फत सन्देश प्रवाहको तयारी गरिरहेका छौँ”, कर्माचार्यले भन्नुभयो । उहाँका अनुसार टेलिकम कम्पनी एनसेलले विभागसँगको सहकार्यमा सन् २०१६ देखि बाढीको पूर्वसूचना प्रवाह गर्न निःशुल्क एसएमएस सेवा दिँदै आएको छ ।

यसअघि एनसेलसँग मात्रै यसप्रकारको सम्झौता भएकामा अब नेपाल टेलिकमसँग पनि सोसम्बन्धी सम्झौताको तयारी भइरहेको कर्माचार्यको भनाइ छ । “पूर्वसूचना प्रवाहकै कारण मनसुनजन्य विपद्बाट हजारौँ मानिसको ज्यान जोगिएको छ, आर्थिक क्षति पनि कम भएको छ”, कर्माचार्यले भन्नुभयो, “पूर्वसूचना अझ प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाउँदै लैजाने छौँ ।”

उहाँले मौसममा आधारित जोखिमबाट हुने धनजनको क्षति कम गराउन पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि तीनवटै तहका सरकार, विभिन्न सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्न आवश्यक बताउनुभयो ।

उहाँका अनुसार हाल नेपामला बाढीसम्बन्धी पूर्वसूचनाका लागि १९ वटा प्रणाली  र एक सय ७० स्टेसन छन् । ‘रियल टाइम’ मौसम मापन गर्ने स्टेसन भने दुई सय ९० रहेको उहाँको भनाइ छ ।

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पूर्वसचना प्रणालीलाई भरपर्दो र विश्वसनीय तथा थप प्रभावकारी बनाउनसकेमा मनसुनजन्य घटनाबाट बर्सेनि हुने क्षति कम गर्न सहयोग पुग्ने बताउनुहुन्छ । “अहिले उपलब्ध पूर्वसूचनाका प्रणाली पर्याप्त छैनन् । अब पूर्वसूचना प्रणालीमा राज्यको लगानी बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “२८ घण्टाअघि नै पूर्वसूचना दिनसकेमा विपद्बाट हुनसक्ने क्षति ४० प्रतिशतसम्म कम गर्न सहयोग पुग्छ । सूचना प्रवाह ढिलो हुँदा सुरक्षित रहन तयारी अभाव हुनाले समयमै सूचना उपलब्ध जरुरी छ ।”

स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छ : स्वास्थ्यमन्त्री यादव

काठमाडाैं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरिय उत्पादन आवश्यक भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री यादवले वार्षिक रुपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुक भित्रै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशत माथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताउनु भयो । उहाँले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसकेको पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गर्नुभयो । उहाँले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसको लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताउनु भयो ।

स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिञ्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिञ्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताउनु भयो । उहाँले नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरुमा फरच्युना सिरिञ्जलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाँले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले स्वास्थ्य उपकरणहरु सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल सिरिञ्जमा विदेशीमा निर्भर भएको र आफ्नो उत्पादन नभएको ठाउँमा फरच्युना सिरिञ्ज उद्योगले स्वास्थ्य उपकरणको क्षेत्रमा बजार पाउने छ । नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरुमा सिरिञ्जले स्थान पाउने छ । स्वास्थ्य उपकरणमा निजी क्षेत्र र सरकारी क्षेत्रमा हेर्दा वार्षिक रुपमा खर्बौंको आयात गरिरहेका छौं । विदेशबाट ल्याउने स्वास्थ्य उपकरण २ वर्षको ग्यारेन्टी लेखिएको हुने भएपनि काम नलाग्ने अवस्थाका उपकरण आउने गरेका छन् । स्वास्थ्य उपकरणहरु सम्भवभएसम्म आफ्नै मुलुकमा उत्पादन गर्नसक्ने ठूलो सम्भावना छ । ठूला उपकरणहरु उत्पादन गर्न सम्भव नभएपनि सामान्य उपकरणहरु उत्पादन गर्न हाम्रै मुलुकमा सम्भव रहेको छ । त्यसको लागि निजी क्षेत्र तयार हुनुपर्छ । अहिले कारोनापछि अर्थतन्त्रमा केही शिथिलता छ । यो केही समय रहन्छ र जान्छ । नेपालमा स्वास्थ्य उपकरण उत्पादनमा लगानी गर्न सक्ने ठूलो सम्भावनाको क्षेत्र हो । तर मुलुक सतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर छौं । मेडिसिन र फर्मासिटिको क्षेत्रमा पनि ५० प्रतिशत लगानी भएको छ । छिमेकी मुलुकले ९० प्रतिशत माथि गरिसक्यो । बंलादेशले विश्व बजारमा पनि स्थान लिएको छ । उत्पादनमा गुणस्तर दिन सक्यो भने फर्मासिटिको क्षेत्रमा प्रशस्त सम्भावना छ । यस्तो सम्भावना भएको क्षेत्रमा लगानीको सुरुवात भएको छ । त्यो स्वागत योग्य छ ।’

उहाँले छिमेकी मुलुक बंलादेशले स्वास्थ्य मेडिसिनको क्षेत्रमा ९० प्रतिशत लगानी गरेर अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पुर्‍याएको बताउनु भयो । उहाँले नेपालमा पनि लगानी बिस्तार गरी गुणस्तरीय वस्तु उत्पादन गरी विदेश निर्यात गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो ।

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी छ : अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य, शिक्षा र स्वास्थ्य उपकरण उत्पादनको क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ढकालले यो क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सके राजश्व वृद्धि,मुलुकभित्रै रोजगारी सिर्जना हुनेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्य, शिक्षा र मेडिकल क्षेत्रमा निजी क्षेत्रको लगानी वृद्धि गर्न नहुने जिम्मेवार व्यक्तिहरुले भन्नु गलत भएको बताउनु भयो । राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो । अध्यक्ष ढकालले आगामी बजेटमा निजी क्षेत्रले दिएका सुझावहरुलाई सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रले दिने सुझाव निजी क्षेत्रको स्वार्थको लागि मात्रै दिने गरेको भन्ने परम्परागत सोचमा परिवर्तन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी प्रात्साहन गर्न हुँदैन भन्ने विषय आएको छ । केही जिम्मवार व्यक्तिहरुले नै मेडिकल र शिक्षामा फाइदा गर्ने होइन हुन सक्दैन भन्नुभयो । त्यस्तो हुँदा फाइदा नहुने क्षेत्रमा निजी क्षेत्रको लगानी कसरी आउँछ ? सबैभन्दा पहिला राज्यले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ । त्यसपछि मात्रै राजश्व बढ्छ । त्यो लगानीबाट राजश्व संकलन गरी राज्यले पूर्वाधार बनाउन सक्ने भयो भने सरकारले बनाउने पूर्वाधारमा प्राथमिकता दिऔं । तर अहिले जुन हिसावको मेकानिजम बनेको छ । त्यसले काम गर्न सहज छैन । निजी क्षेत्रले दिएका सुझावहरुलाई निजी क्षेत्रको स्वार्थको लागि होइन भन्ने सोच परिवर्तन गर्न जरुरी छ । त्यो परिवर्तन भएको जस्तो आभास भएको छ । स्वास्थ्य उपकरण उत्पादनदेखि स्वास्थ्य शिक्षाको क्षेत्रमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने र लगानी सुरक्षित हुने वातावरण बनाउन सकियो भने राज्यलाई राजश्व बढाउने,रोजगारी सिर्जना गर्ने मद्दत पुग्छ ।’

उहाँले स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सरकारले लगानी वृद्धि गर्ने वातावरण बनाए मात्रै राजश्व वृद्धि र रोजगारी सिर्जना गर्ने मद्दत पुग्ने दाबी गर्नुभयो ।

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका-७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पैदल हिँडिरहेका मण्डललाई ०२-००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक विदेह नगरपालिका-६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ । मृतक वृद्धको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

एसिसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदैछ ।

गणतन्त्र पक्षधरले गरे सहिद सुरज विश्वासको स्मरण

-राजेन्द्र गाैतम

झापा । सहिद सुरज विश्वासले गणतन्त्र स्थापनामा पुर्‍याएको योगदानको अग्रगमन पक्षधर झापालीले मुक्तकण्ठले स्मरण गरेका छन् ।

गणतन्त्र पक्षधर झापालेले १८ औँ स्मृति दिवसमा सुरजको स्मरण गरेका हुन् । दोस्रो जनआन्दोलनको क्रममा २०६३ साल वैशाख ६ गते झापा सदरमुकाम चन्द्रगढीमा उत्रेको मानव सागरमा तत्कालीन शाही सेनाले अन्धाधुन्ध गोली चलाउँदा विश्वासले सहादत प्राप्त गर्नु भएको थियो ।

सेनाले चलाएको गोली लागेर सोही दिन राजन गिरीले सहादत प्राप्त गर्नु भएको थियो । सयौँ व्यक्ति घाइते भएका थिए । सो दिन सेनाले मानव सागर चन्द्रगढी रंगशालामा प्रवेश गर्नासाथ अतालिएर हजारौँ राउन्ड गोली वर्षाएको थियो ।

सुरजको स्मृति दिवसमा उहाँकी आमा मिना विश्वासलाई सम्मान गरिएको भद्रपुर नगरपालिकामा प्रमुख गणेश पोखरेलले बताउनु भयो। स्मरणसभाका सहभागीले सुरजको शालिकमा माल्यार्पण गर्नुका साथै उहाँको व्यक्तित्वको बारेका चर्चा गर्नु भएको थियो । भद्रपुर नगरपालिका ६ मा सुरज स्मृति वाटिका निर्माण गरेको छ । वाटिकामा सुरजको अर्धकदको शालिक राखिएको छ ।

एमाले कोशी प्रदेश सदस्य तथा पूर्व प्रदेश सांसद बसन्त बानियाँ, एमाले झापा सदस्य कालिचरण बस्नेत, नगर प्रमुख पोखरेल, वाटिका निर्माण समितिका अध्यक्ष गोपाल मण्डल, सन्ध्या हाँडा, प्रकाश शर्मालगायतले सुरजको बलिदानको चर्चा गर्नु भएको थियोे ।

उहाँहरूले विभिन्न क्रान्तिमा देशका लागि बलिदान दिएका शहीद, बेपत्ता र घाइतेहरूको योगदानलाई राज्यले भुलेर व्यक्तिगत स्वार्थमा निर्लिप्त भएको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो । सुरज र राजनहरुकै बलिदानका कारण राजतन्त्रको अन्त्य र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँहरूले दाबी गर्नु भएको थियोे ।

त्यसैगरी चन्दगढ यातायात प्रालि चन्द्रगढी विमानस्थलले रक्तदान गरि सुरज विश्वासको स्मृति दिवस मनाएको छ ।

शुक्रवारदेखी अरुण नदीमा नियमित फेरी चल्ने

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा संचालित फेरी शुक्रवारबाट नियमित चल्ने भएको छ । गत चैत्र १६ गतेबाट बन्द भएको फेरी बिहिवार मर्मत गरेर परीक्षण गरिएको थियो ।

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नम्वर छ र खाँदबारी नगरपालिका वडा नम्वर नौ सतिघाटस्थित अरुण नदीको फेरी पुन सञ्चालनमा आएको हो । यातायातका साधनहरुलाई सहजरुपमा वारीपारी गराउन चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि २० दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा जिल्लाको उत्तरी क्षेत्रका यात्रुहरुलाई आवतजावतमा समस्या भएको थियो ।

अरुणमा संचालनमा रहेको फेरी मर्मत भएपछि अव यातायातका साधन नियमितरुपमा वारपार हुने षडानन्द नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्कामा परेकाहरुको समस्या समाधान भएको छ, अव नियमितरुपमा अरुण नदीको फेरी संचालन हुन्छ ।” काठमाडौंबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको हो । फेरी संचालनमा आएपछि उत्तरी क्षेत्रको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाकास्थानीय प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको छ । फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।

तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

जुम्ला । जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । तिला पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका बनेको छ। जिल्लामा एक नगरपालिका सहित सात गाउँपालिका छन् । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ तिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।

हरेक आर्थिक वर्ष खोप उमेर समुहका बालबालिकाले पुर्ण खोप लगाए नलगाएको अनिवार्य सुनिश्चितता गर्नुपर्ने कार्यक्रम रहेको छ। जन्मेदेखि १५ महिना उमेर समुहका ३९० जना र १६ देखि ५ वर्षका ९२७ जना बालबालिकाले पुर्ण खोप लगाएपछि पालिकालाई बिहीबार खोप सुनिश्चितता घोषणा गरिएको तिला गाउँपालिका खोप फोकल प्रसन उत्तम देवकोटाले जानकारी दिनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले नौवटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको स्वास्थ्य शाखाका प्रमुख हर्क रावतको भनाइ छ। तिलाका ९ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका सदस्य नरविर सुनार, गाउँपालिकाका अध्यक्ष रोकाया, वडाध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख र पत्रकारलगायतको सहभागी थियो ।

संयुक्त राष्ट्र प्रमुखद्वारा मध्यपूर्वमा संकट ननिम्त्याउन कदम चाल्न आह्वान

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा संकटबाट बच्न तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रका शिर्ष अधिकारीले सुरक्षा परिषद्को त्रैमासिक खुला बहसमा प्यालेस्टाइन प्रश्नसहित मध्य पूर्वको अवस्थामा टिप्पणी गर्नुभएको हो ।

गुटेरेसले अप्रिल १३ मा इरानले इजरायलमा गरेको आक्रमणको कडा निन्दा गर्नुभयो । त्यस्ता आक्रामक कार्यहरूले संयुक्त राष्ट्र चार्टरको उल्लङ्घन गरेको कुरामा जोड दिनुभयो । उहाँले कूटनीतिक र कन्सुलर परिसर र कर्मचारीहरूको अविनाशीतालाई सम्मान गर्ने महत्वलाई दोहोर्‍याउनु भयो । जसको उदाहरण दमास्कसमा इरानी वाणिज्य दुतावासमा भएको आक्रमणको निन्दाद्वारा गरिएको थियो ।

गाजामा ध्यान केन्द्रित गर्दै उहाँले तत्काल मानवीय युद्धविराम र सबै बन्धकहरूको रिहाइको लागि आह्वान गर्नुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

टर्कीमा अवैध उत्खननका क्रममा ३ जनाको मृत्यु

काठमाडाैं । अवैध खजाना खोज्ने क्रममा टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एउटा गुफा भत्किँदा बिहीवार तीन जनाको मृत्यु भएको छ । घटना इज्निक जिल्लामा भएको थियो । जहाँ तीन व्यक्तिहरूले पुरातन कलाकृतिहरूका लागि गुफा भित्र अनधिकृत उत्खनन गरिरहेका थिए ।

गुफामा ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो । घटनास्थलमा प्रहरी बलहरू र आपतकालीन टोलीहरू पठाएर मृतकहरुको शव निकालिएको छ ।

खजाना खोज्नेहरू द्वारा बारम्बार चिनिने यो गुफा आवधिक रूपमा अवैध उत्खननको विषय हो । कर्मचारीहरूले अन्य गैरकानूनी गतिविधिहरूमा संलग्न भएको आशंकामा अन्य व्यक्तिहरुमाथि पनि अनुसन्धान अघि बढाएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।