चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौंतर्फ धमाधम ढुवानी भइरहेको छ ।

करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौंतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौं पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौं पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौं पुग्नेछ । रासस

शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ ।

मन्त्री श्रेष्ठले गत मंगलवार मन्त्रीस्तरिय निर्णयबाट दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाउनुभएको हो । शिक्षकहरु कुनैपनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ । केन्द्रले पनि जिल्ला शिक्षा समन्वय इकाइलाई शिक्षकहरुको राजनीतिक दलमा आवद्धताको सम्बन्धमा छानविन गर्न निर्देशन दिएको छ । खासगरी पुराना राजनीतिक दलहरुको जनवर्गिय संगठनमा शिक्षक संगठन पनि एउटा महत्वपूर्ण संगठनको रुपमा काम गर्दै आएको छ । जुन जनवर्गिय संगठनलाई ट्रेड युनियन अधिकार अनुरुप चलाइएको भनिँदै आएको छ ।

नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)जस्ता पुराना राजनीतिक दलहरुको कतिपय समितिहरुमा शिक्षकहरुको सक्रिय सहभागिता भएको पाइन्छ । यसर्थ शिक्षामन्त्रीको यो निर्णयलाई आम रुपमा बोल्ड निर्णयको रुपमा पनि लिइएको छ भने सत्तारुढ दलकै नेताहरु र शिक्षकहरु भने यो निर्णयको समर्थनमा देखिएका छन् । सत्तारुढ दलकै नेताहरुले शिक्षकहरुलाई पार्टी सदस्य भएकै आधारमा बर्खास्त गर्ने सम्मको निर्णय व्यक्तिलाई संविधानले दिएको अधिकार अनुरुप नभएको बताइरहेका छन् ।

शिक्षकहरुले त संविधानले दिएको अधिकार प्रयोगगरी आफुहरुले कुनै आस्था वा विचार राख्न पाउने भन्दै संविधान नै परिवर्तन गरेर कारबाही गरेर देखाउन चुनौति दिएका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारी सेवामा रहेका व्यक्तिहरु सक्रिय राजनीतिमा हुनु नहुने भन्नेकुरा शिक्षा ऐनमै उल्लेख भएको भन्दै शिक्षा मन्त्रीको निर्णय नयाँ नभएको बताउनु भयो । शिक्षकहरुले पेशागत हक, अधिकार संरक्षण गर्नका लागि पेशागत रुपमा संघ, संगठन खोल्न पाउने उहाँले बताउनु भयो ।

उहाँले ट्रेड युनियन अधिकार अन्तर्गत सबै पेशामा रहेकाले संघ, संगठन खोल्न पाउने उल्लेख गर्दै संगठनमा बसेको आधारमा कारबाही गर्छु भन्नु ट्रेड युनियन अधिकार विपरितको कुरा हुने बताउनु भयो । सांसद पौडेलले शिक्षकहरु विद्यालय समयमा राजनीतिक गतिविधिमा संलग्न हुन नपाएपनि अतिरिक्त समयमा आफ्नो आस्था र विचार अनुरुप गतिविधिमा संलग्न हुन पाउने बताउनु भयो । त्यो कुरा संविधानले नै दिएको अधिकार भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘दलिय प्रणालीमा दलविहिन नागरिक, व्यक्तिहरु, समुहहरु, समुदायहरु, आस्था, विचार, दृष्टिकोणविहिन व्यक्तिहरु खोजेर प्राप्त गर्ने सम्भावना रहँदैन । हामीले कानून बनाउँदाखेरी निजामती सेवा, शिक्षक, जंगी सेवा, प्रहरी सेवा यस्ता सेवाका व्यक्तिहरु प्रत्येक्ष राजनीतिमा दलगत सक्रियतामा सहभागी नहुने भनेर पहिले नै भनेका छौँ । उनीहरु राजनीतिमा सक्रिय नहुने भन्नेकुरा शिक्षा मन्त्रालयमा पहिलेदेखि नै छ । ऐनमा व्यवस्था छ । त्यो कुनै नयाँ निर्णय होइन । अर्को महत्वपूर्ण पाटो कुनैपनि पेशागत संघ, संगठन खोल्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्न गम्भिरतापूर्वक छलफल चलेको छ । मलाई सोध्नुहुन्छ भने पाइन्छ । शिक्षकहरुले शिक्षकको हक, अधिकारको निम्ति आफ्नो संगठन खोल्न पाउँछन् । कर्मचारीहरुले आफ्नो पेशागत हक, अधिकार, मर्यादाको निम्ति, हक, अधिकार संरक्षणको निम्ति संगठन खोल्न पाउँछन् । प्राध्यापकहरुले पाउँछन् । त्यो चाहीँ हाम्रो संविधानमा ट्रेड युनियन हकको रुपमा उल्लेख भएको अन्तर्राष्ट्रिय प्रचलित मान्यता पनि हो । त्यो गर्न पाउदैनौ भन्नु संविधान विपरित हुन्छ । त्यसकारण शिक्षकले संगठन गर्न नपाउने र कुनैपनि संगठनमा बस्यो भने त्यो संगठनमा बसेको मान्छेलाई कारबाही गर्छु भन्नेकुरा ट्रेड युनियन अधिकार विपरित कुरा हुन्छ । पार्टीको महत्वपूर्ण, जिम्मेवार ठाउँमा बस्न नमिल्ने कुरा शिक्षा ऐनले गरेको छ । त्यो कुरा शिक्षकहरुले जानकारी पनि प्राप्त गर्नुभएको छ । विद्यालय समयमा राजनीतिक गतिविधिमा सहभागि हुन पाइँदैन । विद्यालय समयमा पढाउने हो । विद्यालय समयमा पढाउने कुरालाई छोडेर सभा, जुलुस, सम्मेलनमा झण्डा बोकेर, चुनावमा हिँड्नुभयो भने कानून विपरित हुन्छ । त्यो पनि मान्न सकिँदैन । तर विद्यालय समय बाहेक अतिरिक्त कुनै आस्था, विचार, दृष्टिकोण राखेर कुनै क्रियाकलाप, गतिविधिमा संलग्न हुन्छन् भने त्यो उनीहरुको संविधानको हक अधिकार प्रयोगको रुपमा हामीले बुझ्नुपर्छ । बरु एउटै शिक्षक महासंघ मात्र राखौँ भनेर राख्न सकिन्छ । दलगत र पेशागत अलग बनाउनुभन्दा छाता संगठन मात्र बनाउन सकिन्छ । शिक्षक संगठन, महासंघको विरोध गर्नु दलिय प्रणाली विपरित कुरा हो ।’

पूर्व सांसद समेत रहनुभएका नेकपा(एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शिक्षामन्त्रीले सो निर्णय गर्नुअघि सरोकारवाला शिक्षक संघ, संगठनहरुसँग छलफल गर्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले यो विषय नीतिगत विषय भएकाले नीतिगत विषयमा मन्त्रिपरिषद्मै छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले सत्तारुढ दलका शिर्ष नेताहरुसँग समेत छलफल गरेर निर्णय गरेको भए कार्यान्वयन हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । नेता गौतमले ट्रेड युनियन अधिकारलाई हनन गर्नु नहुने बताउनु भयो । उहाँले शिक्षकहरुको राजनीतिक भुमिकालाई नियन्त्रण नभई न्युनिकरण गर्दै लानुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकहरुको राजनीतिक संलग्नताको विषयमा मुख्य राजनीतिक दलहरुका बिचमा साझा धारणा बन्नुपर्ने र सो विषय सार्वजनिक हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले नेतृत्वदायी कमिटीहरुमा पेशामा रहेका शिक्षक साथीहरुलाई राखेर अगाडी बढ्दा त्यसले उत्पन्न गर्नसक्ने समस्याहरु पनि छन् र त्यसलाई समेत ध्यानमा राख्नुपर्‍यो । र सबै राजनीतिक दलहरुले नेतृत्वलाई त्यसरी विकास गर्ने भन्दापनि शिक्षकहरुको काम गुणस्तरीय शिक्षा कायम गर्नका निम्ति उहाँहरुको ध्यान त्यता जानुप¥यो । दलहरु नै आफ्नो भुमिका दिने ठाउँमा दलहरु आइसकेपछि शिक्षक साथीहरुले आफ्नो ठाउँमा बसेर खेल्ने भुमिका त आफ्नो होला, तर त्यस्तो कार्यकारी ठाउँमा आएर, बसेर काम गर्ने कुरा जटिल हुन्छ । जिम्मेवारीको हिसाबले पनि कठिनाई हुन्छ । भुमिकाको हिसावले पनि कठिनाई हुन्छ । भन्ने कुरामा हाम्रो ध्यानाकर्षण भएको छ र नेतृत्वमा आउने साथीहरुलाई राजीनामा गरेर जिम्मेवारी लिनका निम्ति हामीले भनेकै छौँ । शिक्षामन्त्रीले यो कदम चालिरहँदाखेरी उहाँ पनि कुनै एउटा दल विशेषबाटै मन्त्री हुनुभएको हो । लोकतन्त्रको स्थायित्व, विकास र त्यसको प्राप्तिका निम्ति उहाँले खेलेको भुमिकाको आधारमा, ट्रेड युनियन अधिकार भनेको त पेशागत, व्यवसाय, राजनीतिक अधिकार नै हो नि ट्रेड युनियन अधिकार भनेको । त्यो चिजलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा उहाँले सिंगो मन्त्रिपरिषद्मा पनि छलफल गर्नुपर्‍यो । प्रधानमन्त्री वा रुलिङ पार्टीका नेतृत्वहरुसँग बसेर छलफल गर्नुपर्‍यो । एउटा साझा धारणा बनाउनुपर्‍यो । ट्रेड युनियन अधिकार र त्यसका सीमा क्षेत्रमा उहाँहरुले काम पनि गर्न पाउनुपर्‍यो । उहाँहरुले दलिय आवरणमा खेल्ने राजनीतिक भुमिकालाई न्युनिकरण गर्दै लिएर जानुपर्‍यो । त्यसमा मुख्य राजनीतिक दलहरुको राष्ट्रिय नीति हुनु जरुरी छ । मुख्य राजनीतिक पार्टीहरुको यो विषयमा साझा दृष्टिकोण आउन जरुरी छ । सरकारले नै यसको बारेमा अगाडी जाने हो भने त्यसमा एउटा साझा धारणा सार्वजनिक गर्नुपर्‍यो । मन्त्री विशेषको उहाँको पहल ठिक छ । तर त्यो पहललाई कार्यान्वयन गर्नका निम्ति दलका नेताहरुसँग छलफल गरेर नीतिगत रुपमा एकमना एकता कायम गरेर हामीले यसरी न्युनिकरण गरौँ । समाधान गरौँ । एउटा कार्यक्षेत्र तोकौँ । सीमाहरु तोकौँ भन्ने हिसाबले गयौँ भने यसलाई कार्यान्वयन गर्न सजिलो हुन्छ । सरकारमा सामेल भएका पार्टीका पहिलो तहका नेताहरुसँग छलफल गरेर साझा धारणा बनाएर जानुपर्‍यो । राष्ट्रिय नीति बनाउनु पर्‍यो ।’

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधारले शिक्षकहरुले आफ्नो कार्यालय समयमा राजनीतिक दलको काम गरेर नहिँडेको दाबी गर्नुभयो । उहाँले शिक्षकहरुले कार्यालय समयबाहेकको अतिरिक्त समयमा आफ्नो राजनीतिक आस्था राख्न पाउनुपर्ने बताउनु भयो । उहाँले संविधानको धारा १८ ले पनि नागरिकलाई उसको आस्थाको आधारमा विभेद गर्न पाइँदैन भन्ने व्यवस्था गरेको भन्दै सबै नागरिकले आफ्नो आस्था राख्न पाउने बताउनु भयो । उहाँले शिक्षकहरु राजनीतिक आस्थामा भएपनि कक्षाकोठामा सो कुरा प्रकट गर्नु नहुनेमा शिक्षकहरु सचेत रहेका बताउनु भयो । उहाँले कुनैपनि शिक्षकहरु पार्टी कार्यालय खोलेर पार्टीको जिम्मेवार पदाधिकारी नबनेको पनि बताउनु भयो । उहाँले दलको सदस्यता लिनका लागि शिक्षा नियमावलीले कुनै छेकवार नलगाएको भन्दै संविधान, र ऐन, कानुन नै परिवर्तन गरेर शिक्षकहरुलाई कारबाही गर्न शिक्षामन्त्रीलाई चुनौती दिनुभयो । राजनीतिक आस्थाको आधारमा शिक्षकहरुलाई कारबाही गर्नु नहुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी संविधानको धारा १८ अनुसार आस्थाको आधारमा कसैलाई विभेद गर्न पाइँदैन । आस्था राख्ने अधिकार सबै नागरिकको छ । आस्था नै नराख्ने भन्ने कुरा निर्जीव वस्तुले मात्रै गर्ला भन्ने कुरा उहाँले बुझ्नुपर्छ । आस्था एउटा, एउटामा जसको पनि हुन्छ । तर आस्था छ भनेर त्यो चिज कक्षाकोठामा लैजानु भएन । हामी शिक्षकहरुले आफ्नो कार्यालय समयमा पार्टीको काम गरेर हिँड्नुभएन । पार्टीको झण्डा बोक्नुभएन । हामीले बुझेको त त्यतिमात्रै हो । समाजमा सबैभन्दा सम्पर्कमा बस्ने भनेको शिक्षकहरु हो । शिक्षक राजनीतिक चेतनाको सम्वाहक पनि हो । उहाँले त्यसरी शिक्षकलाई कम आँकलन नगरे हुन्छ । राजनीतिक चेतना जघाउने पनि शिक्षक हो । कुन शिक्षकले कक्षाकोठामा गएर यो पार्टीमा लाग, त्यो पार्टीमा लाग कसले भनेको छ र ? त्यो त कसैले भनेको छैन । त्यो भन्न पनि पाइँदैन । होइन भने अरु कुरामा कसैले अंकुश लगाउन सक्दैन । शिक्षकहरु पार्टी कार्यालय खोलेर, पार्टी अध्यक्ष भएर, पार्टीको पदाधिकारी भएर कोही बसेको छ र ? त्यसो गर्न पाइदैन भनेर लेखेको छ शिक्षा नियमावलीमा । कार्यकारिणी पदमा बस्न पाइदैनँ भनेको छ । कसैको सदस्यता लिनु हुन्न भनेर त्यसमा छेकवार छैन । उहाँले संविधान नै परिवर्तन गरेर, ऐन, नियम नै परिवर्तन गरेर कारबाही गर्नुहुन्छ भने त हामी पनि चुनौति दिन्छौँ, कारबाही गरेर हेर्नुस् न त ।’

अध्यक्ष तुलाधरले शिक्षकहरुले अध्यापन छाडेर विद्यार्थीको भविष्य अन्यौल पार्नु नहुने बताउनु भयो । आफ्नो परिभाषित जिम्मेवारी र कर्तव्य पूरा गर्न शिक्षकहरु दृढ रहेको भन्दै कार्यालय समयबाहेक आफ्नो आस्था अनुसारको काम गर्न पाउनुपर्ने उहाँले बताउनु भयो । उहाँले शिक्षकहरु राजनीतिक चेतनाको संवाहक भएको भन्दै राजनीति र समाजबाट टाढा रहन नसक्ने बताउनु भयो । उहाँले शिक्षामन्त्रीले आरोप लगाएको जस्तो शिक्षकहरुले राजनीति गरेर नहिँडेका बताउनु भयो ।

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताउनुभएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उहाँले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।”

उहाँले विश्वमा कतिपय सफल मानिएका व्यवसाय गलत लेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगरिनाले सदाका लागि व्यवसाय बन्द गर्नुपरेको उदाहरण दिँदै गलत लेखाङ्कनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो ।

आर्थिक क्षेत्रको विकास विना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम् एवं प्रत्यक्ष भूमिका रहने कुरा सर्वविदितै छ, लेखा राख्नु नियमित काम भए पनि त्यसको विश्वसनीयता र पारदर्शिता समग्र आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ ।” रासस

चितवनका भित्री सडकमा दुर्घटना बढी

चितवन । जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।

भित्री सडकमा मात्रै दुई सय दुईवटा दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ भने तीन सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार विसं २०८० मा भएका दुर्घटनामा छ सय ८५ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा भएका ८० वटा दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने एक सय ७५ जना घाइते भएका सेवेदीले जानकारी दिनुभयो । जिल्लाको नारायणगढ-मुग्लिन सडकखण्डमा ५२ सवारी दुर्घटनामा भएका छन् । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने एक सय ३५ घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा भएका १६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । मुख्य सहरी क्षेत्रमा भएका २४ सवारी दुर्घटनामा आठको मृत्यु भएको छ भने २६ जना घाइते भएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भित्री सडकमा तीव्रगति, सवारी चालकको लापरवाही र ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको छ ।”

दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो । रासस

शिक्षकहलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु : मन्त्री श्रेष्ठ

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

उहाँले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरुलाई विद्यालयमा सहभागी गराउने र गुणस्तरीय शिक्षा दिने कुरा सम्भव नभएकाले यसमा सबैको सहयोग आवश्यक रहेको तर्क समेत गर्नुभयो । मन्त्री श्रेष्ठले विद्यालय तहको शिक्षालाई केन्द्रित गरेर सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने योजना समेत घोषणा गर्नुभयो ।

उहाँले सबै बालिबालिकाहरुको विद्यालयमा सहभागिता र गुणस्तरको सुनिश्चितता गर्ने कुरालाई सरकारले मुल नारा बनाएर अघि बढेको र त्यसका लागि आवश्यक सुझाव लिन आफू सहितका शिक्षा मन्त्रालयका कर्मचारीले हरेक विद्यालयका प्रधानाध्यापकसँग फोन संवाद गर्ने कार्यक्रमलाई अघि बढाइएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले बालबालिकाहरुले विद्यालय छोड्नुको कारणबारे वडा तहमा, विद्यालय तहमा नै पुगेर बुझनका लागि पनि पालिका र विद्यालयका प्रधानध्यापकसँगको सम्वादलाई आफूहरुले जोड दिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुलभुत रुपमा हामीले पहिचान गरेको एउटा चाँही धेरै बालबालिकाहरु यो फर्मल एजुकेशन विद्यालय शिक्षाभन्दा बाहिर छन् । उहाँहरुलाई विद्यालय फर्काउनु पर्‍यो । उहाँहरुलाई विद्यालयमा जोड्नुपर्‍यो । यसपालीको हाम्रो सन्देश नै गुणस्तरमा फोकस छ । सबै बालिबालिकाहरुको विद्यालयमा सहभागिता र गुणस्तरको सुनिश्चितता । जब हामीले गुणस्तरमा दृष्टि केन्द्रित गर्छौं । त्यतिबेला विद्यार्थीहरुको निड (आवश्यकता) के हो, उहाँहरुलाई के कुरामा कमी भईराखेको छ ? उहाँहरुको घरमा समस्या हो ? त्यसमा पनि विद्यालयले, प्रअहरुले, शिक्षकहरुले, पालिकाले, प्रदेशले, संघ सरकारले बढी केन्द्रित हुनका लागि नै यसपालिको जुन हाम्रो नारा छ । जुन सन्देश छ । यो त्यही सोचेर हामीले बनाएका हौं । त्यही सोचेर हामीले गुणस्तरमा एकदम केन्द्रबिन्दु बनाएर अगाडि बढाईरहेका छौ । यस पटक मलाई कर्मचारी साथीहरुले भन्नुभएजस्तो पहिलो पटक जुममार्फत हामीले म, त्यस्तै गरेर शिक्षा सचिवज्यु, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष र नेपाल नगरपालिका महासंघको अध्यक्ष र इकाईका प्रमुखहरु र स्थानीय तहका शिक्षाका अधिकृतहरु सबै एउटै जुममा आएर यसपालि चाहीँ हामीले त्यसमा ध्यान दिने, सहयोगका लागि कसरी समन्वय गर्ने ? भनेर हामी बसेका छौं । विद्यार्थीहरुलाई विद्यालयमा भर्नाको लागि एउटा पुस हुन्छ । र त्यसपछि क्रमिक रुपमा हामीले देख्दै पनि आएका छौं । त्यसपछि विद्यालयबाट विद्यार्थीहरु घट्दै जाने क्रम हामीले देखेका छौं । यसका लागि एकदम महत्वपूर्ण भनेको स्थानीय तहमा स्थानीय सरकारलाई, त्यहाँका प्रअहरुलाई के सहयोग चाहिन्छ ? त्यसमा हामीले फोकस गरेका छौं । यसपाली म तपाईहरुलाई जानकारी पनि दिन चाहन्छु कि ३/४ वटा कुरा हामीले वेबसाईटमार्फत पनि सार्वजनिक गरेका छौं । एउटा, हरेक विद्यालयमा कति जना शिक्षक, शिक्षिका छन, कति जना छात्रछात्रा छन ? यो सबै कुरा चाहीँ विद्यालय तहमा हामीले सार्वजनिक रुपमा राखेका छौं । यो किन राखेको हो भन्दाखेरी त्यसले हामीले उत्तरदायी बनाउँछ । यति जना विद्यार्थी भर्ना भएका थिए । यति विद्यार्थीहरुलाई टिकाउन पर्छ भनेर यो मन्त्रालयमात्रै होइन । यो मिडियाका साथीहरु, समाजका अग्रजहरु, समाजमा शिक्षाको महत्व बुझाउने साथीहरु सबैले यसको अपनत्व फिल गरोस् । दोस्रो हामीले शिक्षा मन्त्रालयको जति पनि बजेट छन । यसमा अध्ययन गर्ने साथीहरु पनि हुनुहुन्छ । यो पार्टीकुलर वडामा, पालिकामा विद्यालय छोडेका बालबालिकाहरुलाई सहयोग गर्नुपर्छ । त्यो पनि हामीले विश्लेषण शुरु गरेका छौं । विद्यालयका प्रधानध्यापकहरुले महशुस गरेको कुरालाई केन्द्रविन्दुमा राखेर काम गर्ने हामीले सोचेका छौं । र यहीसँगै हामीले मन्त्रालयका हरेक कर्मचारीले म सहित हामीले महिनाको कम्तिमा ३/४ वटा स्कुलमा प्रअहरुलाई फोन गर्ने । के भईराखेको छ बुझने । समस्या के छ बुझने ? के गर्दा सहजीकरण गर्न सक्छौं, त्यो रुपमा हामीले वर्षभर नै अगाडि बढने यो कार्यक्रम हामीले सञ्चालन गर्छौं । र त्योसँगसँगै जुन एकदमै राम्रो नतिजा ल्याउनुभएका विद्यालयका प्रअहरु छन् । शिक्षकहरु छन । उहाँहरुसँग हामीले समन्वय गरेर उहाँहरुले पनि एक अर्कालाई सहयोग गर्ने । यतिबेला मेरो विद्यालयमा समस्या हुँदा के गरेको थिए भनेर कम्युनिटी डेभलभलब्ट गर्न गर्न खोजेका छौं । त्यसको साथसाथै जुन विषयगत समिति हुन्छ संघीय मामिला मन्त्रालय अन्तरगत । त्यसलाई पनि हामीले याक्टिभेट गराउन खोजेका छौं । र हामी सबैले फोकस गर्नुपर्ने चाहीँ गुणस्तरमा हो । जब विद्यालयमा गुणस्तर राम्रो हुन्छ । त्यतिबेला अभिभावकहरुलाई पनि, विद्यार्थीहरुलाई पनि, त्यो समाजलाई पनि शिक्षा किन महत्वपूर्ण छ । त्यसमा पनि सबैभन्दा महत्वपूर्ण सिकाई हुनुपर्‍यो । त्यो कसरी जोडने । र, व्यवहारिक शिक्षा । करिकुलम कस्तो छ, त्यो अनुसारको शिक्षक छन कि छैनन् ? यो शिक्षाको जगमा हामीले फोकस गरिराखेका छौ । यसपालि नीति तथा कार्यक्रममा पनि महशुस गर्नेगरी तपाईले फरकपन देख्न सक्नुहुन्छ । हामीले यसमा फोकस के गरेका छौं भन्दाखेरी शिक्षा डेलिभर गर्ने शिक्षकहरुको मासिक तलव, जुन सानोसानो अनुदान जान्छ, संघबाट सशर्त । एकमुष्ट बजेट पठाउन मिल्छ कि भनेर हामीले वित्त आयोगसँग पनि छलफल शुरु गरेका छौं ।’

मन्त्री श्रेष्ठद्वारा विद्यालय स्थापना तथा सञ्चालन मापदण्डको मयौदामाथि सुझाव माग

मन्त्री श्रेष्ठले विद्यालय स्थापना तथा संचालन मापदण्डको मस्यौदामाथि सुझाव दिन पनि संवद्ध सबै पक्षको ध्यानाकर्षण गराउनु भयो । शिक्षाको गुणस्तर काम गर्न सरकारले सो मापदण्ड बनाएर शिक्षा मन्त्रालयको वेबसाईटमा राखेको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन शिक्षक, अभिभावक, विज्ञहरु, स्थानीय तह, प्रदेश सरकार सबैलाई सुझाव दिन उहाँको आग्रह थियो । मन्त्री श्रेष्ठले संघीय विद्यालय शिक्षा ऐन संघीय संसदको विषयगत समितिमा विचाराधिन अवस्थामा रहेकाले पनि सरकारले विद्यालय तहको शिक्षामा गुणस्तर काम गर्न सम्बन्धित पक्षसँगको छलफललाई केन्द्रित गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकदम महत्वपूर्ण म के आह्वान गर्न चाहन्छु भने हामीले विद्यालय स्थापना तथा संचालनको मस्यौदा मापदण्ड वेबसाईटमा राखेका छौं । यही शिलशिलामा शिक्षकको सरुवाका लागि शिक्षकहरुसँग, प्रअहरुसँग, इकाईका साथीहरुसँग विभिन्न चरणमा बसेर यसलाई कसरी पारदर्शी बनाउने यसलाई कसरी फियर बनाउने भन्सुन नगरी काम हुनेगरी सरुवाको पनि मापदण्ड बनाउँदै छौं । यसमा म सबै जनाको अनुरोध गर्न चाहन्छु–यसमा सबै जनाले फिडब्याक दिनुहोला । अव यो संघीय विद्यालय ऐन समितिमा छ । त्यो समयावधि भित्र पनि हामीले केही मापदण्ड बनाएर केही सुनिश्चतता गर्नसक्छौँ । जति पालिका, विद्यालयहरुका प्रअहरुसँग र शिक्षकहरुसँग समन्वय गर्नसक्छौं, त्यतिनै हामीले गुणस्तर सुधार गर्नसक्छौ । त्यत्तिनै हामीले अभिभावकहरुलाई पनि त्यसको महत्वबारे जानकारी दिनसक्छौं । यसो भन्दा मैले भन्नेपर्ने कुरा के छ भने धेरैभन्दा धेरै पालिकाहरसँग मैले भेटघाट गरेँ । सामुहिक प्रयासबाट मात्रै हामीले हाम्रा विद्यार्थीहरुको र अन्तत देशको भविष्य निर्धारण गर्छ । त्यसकारण म सम्पूर्णमा हात जोडेर के अनुरोध गर्न चाहन्छु भने गुणस्तरीय शिक्षामा हामी सबै योगदान महत्वपूर्ण छ ।’

मन्त्री श्रेष्ठले विद्यालय तहका विद्यार्थीहरुलाई राष्ट्रिय परिचय पत्र दिने व्यवस्था गर्नुपर्ने प्रश्ताव पनि गर्नुभयो । विद्यालय तहका विद्यार्थीहरुको एकीन तथ्यांक बनाउन र उनीहरुले पाउने गरेको छात्रवृत्ति बापतको रकम उनीहरुकै खातामा हालिदिन पनि विद्यार्थीहरुलाई राष्ट्रिय परिचय पत्रको आवश्यकता देखिएकाले त्यसका लागि सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग छलफल गरेर अघि बढ्ने उहाँको योजना छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘यसपाली हामीले पालिकाका प्रमुखहरुसँग, यो गाउँपालिका र नगरपालिकाका अध्यक्षज्युहरुसँग पनि हरेक विद्यार्थीको राष्ट्रिय परिचय पत्र बनाऔं । जसकारण उहाँहरुले जति पनि छात्रवृत्तिको रकम पाउनुहुन्थ्यो । त्यो डाईरेक्ट उहाँहरुको खातामा नै पुग्नेगरी प्रयास ग¥र्यौं भने को विद्यार्थी, कहाँबाट के करणले गर्दाखेरी विद्यालयबाट टाढिन्छन ? भन्ने कुराको तथ्यांक निकाल्न पनि सहज हुन्छ । र त्यही अनुसारको नीति तय गर्न पनि सकिन्छ । त्यसकारण यी कामहरु हामी अरु मन्त्रालयहरुसँग, पालिकाहरुसँग पनि समन्वय गरेर अगाडि बढाउन थालेका छौं ।

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम हुन्छु

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने दोहोर्‍याउनु भयो । उहाँले शिक्षामा राजनीतिकरण हुन नदिन आफू निर्मम भएर लागिपर्ने पनि बताउनु भयो । मन्त्री श्रेष्ठले शिक्षकहरुलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुुभयो,‘जति पनि यो दलीय राजनीतिकरणको जर्जरमा हामी परेका छौ । सम्पूर्णमा आग्रह छ-शिक्षकहरु, विद्यालय व्यवस्थापनका साथीहरु, अब यो दलीय राजनीतिकरणले ग्रसित हाम्रो शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ । यसमा म निर्मम भएर लाग्ने पनि छु । यसमा अलरेडी यो कानून बनाउने कुरा पनि होइन । यो त कार्यान्वयनको पाटो हो । त्यसमा म निर्मम भएर लाग्छु पनि । र मैले पहिले पनि आह्वान गरेको थिएँ । र आज पनि भन्छु-दलीय राजनीतिकरणबाट शिक्षा क्षेत्रलाई मुक्त गर्नुपर्‍यो । शिक्षकहरुले राजनीतिक कार्यक्रममा होइन कि विद्यालयको कक्षा कोठामा, चौरमा आफ्नो विद्यार्थीहरुलाई राम्रो गरेको विद्यार्थीलाई झन राम्रो गर्न, पाठ्यक्रमभन्दा बाहिरको कुरा सिक्न अथवा जुन विद्यार्थीहरु पछि परेका छन् । विद्यालय समय पछि पनि विद्यार्थीहरुलाई राम्रो गर्न ढाडस दिने हो कि ? त्यसका लागि म अनुरोध गर्न चाहन्छु ।’

मन्त्री श्रेष्ठले पछाडि परेका विद्यार्थीहरुको शैक्षिक उन्नयनमा लाग्न पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

सीताराम मन्दिरमा राष्ट्रकल्याण महायज्ञ सुरु

गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको काखमा अवस्थित राम्चे डाँडामा रहेको सीताराम मन्दिरमा बुधबारदेखि ‘श्रीराम कथा, हुनुमान चालिसा, हवनात्मक अनुष्ठान, राष्ट्रकल्याण महायज्ञ’ सुरु भएको छ ।

गुल्मीदरबार गाउँपालिका-३ निवासी ईन्जिनियर सुब्बा बस्नेतले रेसुङ्गाको काखमा अवस्थित भुवने पार्कमा एक करोड रुपियाँ खर्चेर निर्माण गर्नुभएको सीताराम मन्दिरमा त्यत्ति नै खर्चेर चैते दशैंको रामनवामी देखि वैशाख ११ गतेसम्म महायज्ञ सञ्चालन गर्न सुरु गर्नुभएको हो । बस्नेत एक्लैले करोडौं खर्चेर सीताराम मन्दिर निर्माण गरी धार्मिक पर्यटन विकासमा टेवासमेत पुर्‍याउनुभएको छ ।

महायज्ञको रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । प्रमुख वाचकका रुपमा नेपालकै सबभन्दा कान्छी कथा वाचिका सुश्री उमामहेश्वरी र उप-वाचक राधिका लोककल्याणकारी रहनुभएको छ । उद्घाटन शत्रलाई सम्बोधन गर्दै मेयर पन्थी र पालिका अध्यक्ष थापाले सरकारले गर्न नसकेको काम एउटा व्यक्ति सुब्बा बस्नेतले गरी उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद दिनुभयो । प्रमुख वाचिका सुश्री उमा महेश्वरीले जीवनमा कसैको कुभलो सोंच्न नहुने भन्दै कथा वाचन सुरु गर्नुभयो ।

गुल्मीदरबार गाउँपालिका-३ का वडाअध्यक्ष रामबहादुर थापा र रेसुंगा नगरपालिका- १३ का वडाअध्यक्ष हुम बहादुर बस्नेतले सुब्बा बस्नेत आफु रोजगारीका लागि हङकङमा गएर पनि आफ्नो गाउँ सम्झेर ठुलो लगानी खर्चिनु सहरानिय पक्ष भएको बताउनुभयो । महायज्ञ शुभारम्भ पहिले कलश यात्रा, विभिन्न समुदायका झाँकीहरु, बाजागाजाहरुले त्यसै मनोरम भुवनेपार्क झनै आकर्षणको केन्द्र बनेको थियो । त्यसमाथि गुल्मीदरबार-३ झिमी गाउँका मगर समुदायको नौमति बाजाले भव्य मनोरञ्जन प्रदान गरेको थियो । युवायुवतीहरु तछाडमछाड गर्दै बाजातालमा निकै झुमेका थिए ।

महायज्ञमा रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाका विभिन्न तहका जनप्रतिनिधि, समाजसेवि र सर्वसाधरणहरुको बढी मात्रामा सहभागिता रहेको थियो । गौडाकोटको उकालोबाटो कलशयात्रा निस्कदै गर्दा नवनिर्मित सीताराम मन्दिरमा दर्शन गर्न जानेहरुको घुँइचो देखिन्थ्यो । व्यापारिक स्टलहरु, निःशुल्क भोजनालयमा मानिसहरुको खचाखच भिड थियो । महायज्ञमा उमेर पुगेर चौरासी पूजा गर्न नसकेका र लक्ष्यवत्ति बाल्न नसकेका विपन्न परिवारलाई निःशुल्क पूजाको व्यवस्था गरिएको बस्नेतले बताउनुभयो ।

सीताराम मन्दिर निर्माणकर्ता बस्नेतले महायज्ञमा प्रदान गरिएको सहयोग रकमबाट ५/१० प्रतिशत रकम विपन्नलाई सहयोग र बाँकी रकम रेसुङ्गा क्षेत्रको धार्मिक विकासमा खर्च गर्ने बस्नेतको लक्ष्य रहेको छ । पेशाले इन्जिनियर रहनुभएका बस्नेतले आफु रामभक्त भएकोले हङकङमा कमाएको रकमले आफ्नै डिजाइनमा आकर्षक मन्दिर निर्माण गरी धार्मिक क्षेत्रमा खर्चे गरेको बताउनुभयो ।

त्रेतायुगमा अयोध्याका राजा दशरथलाई पुत्रलाभ नभएपछि रेसुङ्गाका स्वामी ऋष्यश्रृङ्गीलाई अयोध्यामा झिकाई महायज्ञ लगाएपछि श्रीराम सहितका छोराहरुको जन्म भएको वेदपुराणहरुमा उल्लेख गरेको धार्मिक व्यक्तित्वहरुले बताउँदै आएका छन् । ऋष्यश्रृङ्गीको यज्ञबाट आफुहरुको जन्म भएको थाहा पाए पछि मर्यादा पुरुष श्रीराम र भाइ लक्ष्मण रेसुंगामा ऋषिश्रृङ्गीलाई भेट्न आएको बताइन्छ ।

त्यसबेला रेसुङ्गामा पिउने पानीको अभाव त्यसक्रममा रामले वाण हानेर कुवा निकाली तिर्खा मेटाएको कुवालाई अहिले पनि रामकुवाका रुपमा चिनिन्छ । फर्किने क्रममा सानो रेसुंगा हुँदै भुवाने पार्कमा पाइला टेकेको कथनबाट बस्नेतले सीताराम मन्दिर स्थापना गरेको बताउनुभयो । भुवाने पार्क रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाको संगमस्थल हो ।

गौडाकोटबाट भुवाने पार्क हुँदै रेसुङ्गा छोटो समयमै आइपुगिन्छ । त्यहाँ पुग्ने विभिन्न समाजसेविहरुले भने गौडाकोटाबाट दुविचौर उर्लेनी हुँदै तम्घास मुख्य सडक बनाइनुको सट्टा गौडाकोटबाट भुवनेपार्क तम्घास मुख्य सडक बनाइयो भने एकातिर रेसुङ्गामा पर्यटकहरुको चहलपहल बढ्ने र अर्कातिर छोटो दुरी पर्ने हुँदा स्थानीय सरकारले यसबारे बेलैमा सोचेर योजना बनाउनुपर्ने बताउनुभयो।

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति हो : श्रम मन्त्री अर्याल

काठमाडौं । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो चलचित्र देशको चार दर्जन भन्दा बढी चलचित्र घरमा प्रदर्शन भईरहेको छ । चलचित्र शुक्रबार भोलीबाट दोश्रो सातामा पनि प्रदर्शन हुने भएको छ ।
यो चलचित्रले रिलिजबाटै समाजका लब्ध प्रतिष्ठित दर्शकलाई हलसम्म तानिरहेको छ । यसै क्रममा केही दिनअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र हेर्दै चलचित्रको कथ्य शैलीको मुक्त कण्ठले प्रशंसा गर्नुभएकाे थियाे । यस्तै हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘द रेड सुटकेस’ हेर्नुभयाे ।

मन्त्री अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा चलचित्रकर्मी असिम शाह र पार्टीका महामन्त्री मुकुल ढकालसँग चलचित्र हेर्नुभएकाे हाे । उहाँले चलचित्रको सुरुवात सुस्त रहे पनि सकिँदासम्म भावुक बनाएको बताउनुभयाे । उहाँले चलचित्रले रातो सुटकेस बोकेर विदेश जाने दिनको अन्त्यका लागि क्रान्तिको सुरुवात गरेको बताउनुभयाे  ।

‘चलचित्रमा मैले मुलतः दुइटा कुरा पाएँ । पहिलो त यसले वैदेशिक रोजगारीमा जाने हाम्रा युवाको नियतिको कथा प्रस्तुत गर्छ । दोस्रो चाहिँ यसले हाम्रो गाउँठाउँमा पारेको प्रभावलाई दुरुस्त उतारेको छ,’ उहाँले भन्नुभयाे, ‘ संयोगवश म अहिले यो सबै हेर्ने जिम्मेवार मन्त्रालयको पनि नेतृत्वमा छु । चलचित्रले पहाडी बस्तीमा पुरुष नभएको अवस्थालाई जसरी प्रस्तुत गरेको छ । त्यो उत्कृष्ट छ ।’

उहाँले चलचित्रलाई एक शब्दमा अभिव्यक्त गर्दा चाहिँ यो क्रान्तिको सुरुवात गर्ने र सम्पूर्ण नीति निर्माणको तहमा बस्ने व्यक्तिले हेर्नुपर्ने चलचित्र बनेको बताउनुभयाे ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकालले पनि चलचित्रले अनौठो शैलीमा देशको समस्यालाई अभिव्यक्त गरेको प्रतिक्रिया दिनुभयाे ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रले उत्कृष्ट समीक्षा पाइरहेको छ । चलचित्रले पाएका दर्शक र समीक्षाबाट आफूहरु सन्तुष्ट रहेको निर्माता रामकृष्ण पोखरेलले बताउनुभयाे ।

आइसफल प्रडक्सनका लागि शोभा थापा र रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गर्नुभएकाे हाे । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

मनाङका लेकमा यार्सागुम्बाको खोजी

मनाङ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बाको खोजी गर्ने समय भएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासोँ गाउँपालिका-८ ताचैस्थित नाम्के र नार्पाभूमि गाउँपालिका-२ हुलाकी ओडारका खर्कबाट सङ्कलन गरिन्छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासोँ-८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाखको दोस्रो सातादेखि खोजी सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १० गतेदेखि नाम्के र हुलाकी ओडार खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय गरिएको छ । मनाङमा यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिइने भएको उहाँले बताउनुभयो ।

“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ”, वडाध्यक्ष घलेले भन्नुभयो, “यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई पनि अनुमति दिइनेछ ।”

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ । यार्सागुम्बा खोज्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सातजनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको नार र फुगाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गर्ने समय भएको भन्दै बाह्य जिल्लाका सङ्कलकलाई भने अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा चुनौतीका कारण बाह्य जिल्लाबाट आउने सङ्कलकलाई रोक लगाएका छौँ । विगतमा भएको जस्तो घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष लामाले पहिले जस्तै नार र फु क्षेत्रमा पनि अन्य जिल्लाबाट आउनेलाई यार्सा सङ्कलनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाख र नार्पाभूमिमा जेठदेखि मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ ।

एक्यापको इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने जनाएको छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि जिल्लास्थित एक्यापले यार्सा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ ।

एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सा खोज्न बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमि, खाङ्सार र पिसाङमा पनि स्थानीयलाई मात्र खोजीका लागि अनुमति दिने निर्णय भएको छ ।” सङ्कलकको सङ्ख्यासँगै यार्सा पनि कम सङ्कलन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

ढकालका अनुसार जिल्लाका तीन स्थानका खर्कमा यार्सागुम्बा सङ्कलनमा बाह्य जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो । उहाँले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै विगतको जस्तो घटना नहोस् भनी सजगता अपनाइएको जानकारी दिनुभयो ।

“यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ । राज्यबाट शुल्क लिने, कर लगाउने काम अधिकार प्राप्त निकायले गर्नुपर्ने हो”, प्रजिअ लामिछानेले भन्नुभयो, “कानुनी रूपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा कुरा उठाउनुपर्ने छ । यो आमनागरिकसँग जोडिएको विषय भएकाले अहिलेलाई साबिकमा जे भएको थियो, त्यसलाई नै निरन्तरता दिँदै अनुमति दिने निणृय भएको छ ।”

जिल्ला समन्वय समितिका प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारी सहभागी भई उक्त निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । संरक्षण समितिका पदाधिकारी सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो ।

प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन । हाम्रो सुरक्षाकर्मी तपाईँको साथमा हुनुहुन्छ । ती सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएर निर्णय गरेका छौँ ।” उहाँले अधिकारको उपयोग गर्नमा संरक्षण समितिका पदाधिकारी नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै सङ्कलकलाई सहजरूपमा खर्कतर्फ जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जानेले १० वटा यार्सा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

जिल्लाको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फुलेकलगायत स्थानमा यार्सा बढी पाइन्छन् । यार्सा सङ्कलन नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सारमा सकिन्छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य गरिन्छ । रासस

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका-३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ओखलढुङगा सिद्धिचरण नगरपालिका-२ ठुलाछाप घर भई काठमाडौं कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्रीसमेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय ५ रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

एकल जातीय चिन्तन, सोचबाट नेपालको शासन सत्ता चलिरहेको छ : राजेन्द्र महतो

काठमाडाैं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताउनु भयो । उहाँले पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल बनाउन नसकेको बताउनु भयो । उहाँले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देश कानून बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन । यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो । अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउन र चलाउने काम भयो । यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरु मिलाएर बनेको नेपाल हो नि त । बाइसे, चौबिसे भनेको होइन । नेपाल बन्नु भन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि । सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि । नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो । तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि । पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल त खै बनाएको ? साझा फूलबारी खै ? १०४ वर्षे जहाँनिया एकल फूलबारी भयो । एकल फूलबारी बन्यो । त्यसपछि बंसीय शासन । ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी । एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन नि ।’

नेता महतोले सबैको भाषा, संस्कृति र भेषभुषाको मान्यता हुनुपर्ने बताउनु भयो । उहाँले देश एकल चिन्तन सोचबाट चल्न नसक्ने बताउनु भयो ।

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले नेपाल सामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सो लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि गुलसन झाले अविजित ३२ रन बनाए । उनले १९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे । साथै दीपेन्द्र सिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

साउदी अरेबियाका लागि इस्तिक अहमदले दुई विकेट लिए भने उसमान नाजीव र वाजी उल हसनले एक/एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एकरएक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल ९आइसिसी०ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् ।

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् । रासस

सेनाका सुनुवारले हात पारे मुन्दुम ट्रेल रेसको उपाधी

भोजपुर । भोजपुरमा संचालन भएको छैटौँ संस्करणको मुन्दुम ट्रेल रेसको उपाधी नेपाली सेनाका तिलक सुनुवारले हात पार्नु भएको छ ।

भोजपुर नगरपालिकाको पर्यटकीय स्थल बाघखोरबाट टेम्केमैयुङ गाउँपालिकाको चखेवाभञ्याङसम्म ४० किलो मिटरको दुरी दुई घण्टा ६९ मिनेटमा पार गर्दै सुनुवारले पहिलो उपाधी जित्नु भएको हो । रामप्रसाद राई गाउँपालिाकाका विशाल राईले तीन घण्टा आठ मिनेटमा तोकिएको दुरी पार गर्दै दोश्रो बन्नुभयो भने सेनाका विनोद रोकायले तीन घण्टा १२ मिनेमा दुरी पार गर्दे तेश्रो बन्न सफल हुनु भएको आयोजक संस्था रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीले जनाएको छ ।

यस्तै ट्रेल रेस अन्तर्गत गोविन्द कार्की तीन घण्टा १२ मिनेट ३५ सेकण्डमा दुरी पार गर्दै चौथो र दिपक राईले तीन घण्टा १६ मिनेटमा दुरी पार गर्दै पाँचौ बन्नु भएको छ ।

महिला तर्फ तीन घण्टा ५८ मिनेटमा दुरी पार गर्दै सुनसरी रोकाया पहिलो हुनु भयो भने चार घण्टा १६ मिनेटमा दुरी पार गर्दै जोलिन राईले दोश्रो स्थान हात पार्नु भयो । रेसमा महिला तथा पुरुष विद्या तर्फ क्रमश प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेलाई क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र पाँच हजार प्रदान गरिएको छ ।

टेम्केमैयुङ गाउँपालिकाको चखेवामा संचालन भएको कृषि, पर्यटन र सांस्कृतिक महोत्सवलाई लक्षित गरेर टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन तथा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो ।

मानसिक समस्याको निःशुल्क औषधी उपलब्ध गराउने प्रयास गर्ने छु : मन्त्री श्रेष्ठ

-मन्जु मैनाली

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले मानसिक समस्याको औषधि तथा उपचार निःशुल्क गराउने प्रयास गर्ने बताउनुभएको छ । मन्त्रालय मार्फत मानसिक समस्या भएका बिरामीका लागि निशुल्क औषधि उपचारको कार्यक्रम ल्याउन पहल गरिने उहाँले बताउनुभयो ।

मंगलबार कोशिश नेपाल मकवानपुरले मनोसामाजिक स्वास्थ्य समस्याका बारेमा गम्भीर हुन माग अनुरोधसहितको ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले मानसिक समस्या सानो समस्या नभई यस बारे सबै जनमानस सचेत हुन आवश्यक भएको बताउनुभयो । मानसिक रोग लाग्ने प्रमुख कारण तनाव व्यवस्थापन गर्न नसकेर लाग्ने भएकाले तनावबाट टाढा रहने, सकारात्मक विचार गर्नै, स्वस्थ जीवनशैली अपनाउन आम नागरिकलाई स्वास्थमन्त्री श्रेष्ठले सुझाव दिनुभयो । यदि स्वस्थ रहँदा रहदै पनि यस्ता समस्या देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्यचौकीमा गएर चिकित्सकसंग आवश्यक सल्लाह सुझाव लिई रोग प्रारम्भिक चरणमै भएमा सामान्य परामर्शबाट उपचार हुने उहाँले बताउनुभयो ।

आफूले स्वास्थ्य मन्त्रालय सम्हाल्ने बितिकै पहिलो निणर्यको रुपमा नै यो कामको थालनी गरेको बताउनुहुँदै मन्त्री श्रेष्ठले अबको २ साता भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुलाई उपचारका लागि वेड नै छुट्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “मैले आफैं पनि प्राथमिकतामा राखेको क्षेत्र हो, झन ज्ञापन पत्र दिनुभएपछि मलाई दरिलो आधार पनि बन्यो, अब कार्यान्वयनमा झनै सजिलो भयो” मन्त्री श्रेष्ठले भन्नुभयो । बीमाबाट उपलब्ध औषधीको व्यबस्थापन गरी समस्या भएको व्यक्तिकाे आवश्यकता अनुसार अति आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्ने समेत मन्त्री श्रेष्ठले प्रतिवद्ध जनाउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै कोशिश नेपालले मानसिक स्वास्थ्य सेवामा टेलिमेडिसिन सेवालाई स्थानीय तहका अस्पतालमा जोड्ने कार्यक्रमहरु लागु गर्न माग गरेको छ । प्रदेशअन्तर्गतका निकायहरुमा एक कार्यालय एक मनोविमर्शकर्ताको व्यवस्था गर्न समेत माग गरिएको छ । मनोसामाजिक स्वास्थ्य समस्या भएकाहरुको उपचार, समस्याको सम्बोधन तथा सुनुवाईमा समस्या भएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । प्रदेश अन्तर्गत रहेका अस्पतालहरु तथा केन्द्रद्धारा सञ्चालित अस्पतालहरुबाट नै भर्ना गरी मानसिक स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउन कोशिश नेपालले माग गरेको छ ।

प्रदेशले मानसिक स्वास्थ्य सम्बन्धी कर्मचारी र स्वास्थ्यकर्मीहरुका लागि (महिला स्वास्थ्य स्वयम सेविका) सम्बन्धी तालिम प्रदान गर्नसमेत माग गरिएको छ । पछिल्लो समय आत्माहत्याको अवस्था बढ्दो रहेको र मानसिक स्वास्थ्य समस्या यसको मुख्य कारण भएकोले रोकथामका लागि सरकारी, गैह्रसरकारी तथा निजि क्षेत्रसंग बहुक्षेत्रीय समन्वय तथा सहकार्यकोसमेत अनुरोध गरिएको छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालमा कुल जनसंख्याको २ दशमलब २ प्रतिशतमा अपाङ्गता भएका व्यक्तिहरु छन् । कुल अपाङ्गताको ४ दशमलब २८ प्रतिशतमा मनोसामाजिक अपाङ्गता छ । अर्थात संख्यागत रुपमा हेर्दा मनोसामाजिक अपाङ्गताको विवरणमा नेपालमा महिला १३ हजार ७२ जना र पुरुष १४ हजार ९७३ जनामा मनोसामाजिक स्वास्थ्य समस्या छ । बागमती प्रदेशमा मात्रै महिला २ हजार ७९७ पुरुष र २ हजार ८६३ जना छन् ।

मकवानपुर जिल्लामा महिला २३० पुरुष २९४ र हेटौंडा उपमहानगरपालिका महिला ७८ पुरुष १०७ जनामा मनोसामाजिक स्वास्थ्य समस्या छ । तथ्याङ्क अनुसार प्रत्येक ४ मध्ये १ जना व्यक्तिले आफ्नो जीवनकालमा कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने आँकलन गरिएको छ । साथै अपाङ्गता गराउने विभिन्न प्रमुख १० कारणहरु मध्ये ५ वटा मानसिक स्वास्थ्य समस्याबाट हुने गरेको देखाएको छ ।
नेपालको परिपेक्षमा ६० लाख मानिसहरु अर्थात कुल जनसंख्याको २५ देखि ३० प्रतिशत मानिसहरु कुनैन कुनै किसिमको मानसिक स्वास्थ्य समस्यमा रहेका छन् । नेपालमा नसर्ने रोगको भारको १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । त्यस्तै विश्वव्यापी रुपमा नेपाल वार्षिक आत्महत्याको दरमा सातौ स्थानमा रहेको छ ।

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उहाँहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उहाँहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।

आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए । उहाँहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

प्रहरी अभिलेखअनुसार उहाँहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।

प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन,  फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् । उहाँहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन् । उहाँहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।

गत चैतमा मात्र छ जना तीर्थयात्रु/पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ ।

दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।

मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ-स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् ।

साउदी अरेबियाले नेपाललाई दियाे ७४ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको छ । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एकरएक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो । रासस

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । “यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ”, उहाँले भन्नुभयो, “उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार  साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।”

उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताउनुभयो । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उहाँको भनाइ छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरुसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ ।

दम्पती हत्यामा संलग्न पत्ता लगाउन सकस

पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको आज १७ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन । चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।

घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीसमेत घटनास्थल वरिपरीनै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीलेसमेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि अनुसन्धानमा जुटेको छ ।” उहाँले भन्नुभयो, “हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।”

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । “घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एकजनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको उहाँले बताउनुभयो । “त्यसको अनुसन्धान गरिराखेका छाैँ”, डिएसपी भुसालले भन्नुभयो । अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुईसय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताउनुभयो ।

दम्पतीको हत्या भएको दुईहप्ता वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका-२ का वडाध्यक्ष प्रकाश जिसीले बताउनुभयो । घरमा ती दम्पतीमात्रै बस्दै आएका थिए । दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आउनुभएको थियो ।

उनीहरूको हत्या योजनावद्ध र पेशेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ । साथमा मोबाइललगायत अन्य कुनैपनि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ ।

जिसी दम्पतीले पोखरामा जग्गा किन्न भन्दै सहकारीबाट ऋण लिएर घरमा राखेको हुनसक्ने आशङ्कामा लुटपाटकै लागि हत्या गरिएको देखिन्छ, भने उनीहरूको लगाएका गर गहनासमेत लुटिएको छ । “कुनै कुनै घटनाका दोषी पत्ता लगाउन लामो समय लाग्नसक्छ, हामी तथ्यको नजिक पुग्दैछौँ, केही दिनमा सफलता मिल्नेमा आशावादी छाैँ”, उहाँले भन्नुभयो । रासस

धादिङको खाल्टेमा मिनिट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या चार पुग्यो

धादिङ । गत आइतबार धादिङको नीलकण्ठ नगरपालिका-५ (खाल्टे) पतेनीमा भएकाे मिनिट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मिनिट्रक दुर्घटना हुँदा घाइते भएका चालक विष्णु श्रीमलको उपचारको क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

श्रीमलको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका सन्तोष रम्तेलको घटनास्थलमै र सन्तोषका बुबा राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैगरी दुर्घटनामा परी घाइते भएका १२ बर्षिय प्रितम मजकोटीको के.एम.सी. अस्पताल र चालक विष्णु श्रीमलको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक साँघुरो ओरालो घुम्ती कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटना भएको थियो । अन्य दुई जनाको पनि अवस्था गम्भिर रहेको धादिङ प्रहरीले जनाएको छ । मिनिट्रकमा ९ जना सवार थिए ।