एकीकृत समाजवादीले मुख्यमन्त्रीमा नेता सोडारीलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।

मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आसन्न १०आँै राष्ट्रिय महाधिवेशनको तयारीलगायतको विषयमा छलफल गरिएको पार्टीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुभएको छ ।

मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिनुभयो । सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादन विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राख्नुभएको थियो । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानुनी व्यवस्थाको बारेमा उहाँले चासो व्यक्त गर्नुभएको प्रबन्ध निर्देशक आशिष शर्माले बताउनुभयो ।

उहाँले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खरबुजालगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रुपमा प्रयोग बढाउन सुझाव दिनुभयो । चर्को प्रतिस्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको सभामुख घिमिरेले बताउनुभयो ।

शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई युरोप र अमेरिकालगायत विभिन्न ३५ मुलुकमा पु(याउन सफलता प्राप्त भएको बताउनुभएको छ । उद्योगले जर्मनी मेसिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरु उत्पादन गरिरहेको जानकारी दिँदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्ट्रेलिया र अमेरिकामा निर्यात भइरहेको उहाँको भनाइ छ ।

सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानीलगायतका ब्रान्डले कोकाकोलाजस्ता बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डसँग बजारमा प्रतिस्पर्धा गरिरहेको प्रबन्ध निर्देशक शर्माले सभामुख घिमिरेलाई अवगत गराउनुभयो ।

यसैगरी, सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमूना कृषि परियोजनाको अवलोकन गर्नुभयो । मेचीनगर(१४ मा १६ बिघा जग्गामा फैलिएको उक्त परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ ।

घोडेपानी भित्रिँदै पर्यटक

म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानी प्रवेश गर्दै आन्तरिक तथा वाह्य पर्यटक । यतिबेला घोडेपानी र पुनहिलमा पर्यटकहरु बढेका छन् ।

तस्वीर : ध्रुवसागर शर्मा (हिमालय टाइम्स)

 

खोटाङमा एकैपटक कराते, म्याराथन, गायन र साहित्यिक प्रतियोगिता हुने

खोटाङ । खोटाङमा एकैपटक कराते, खुल्ला म्याराथन, गायन र साहित्यिक प्रतियोगिता हुने भएको छ । ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गितिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत कराते, खुल्ला म्याराथन, गायन र साहित्यिक प्रतियोगिता हुने भएको हो ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजना तथा नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख ३१ गतेदेखि १० जेष्ठसम्म दिक्तेलबजारमा बृहत महोत्सव गर्ने तयारी गरिएको बुधबार दिक्तेलबजारमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।

महोत्सव अन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता ८ जेष्ठदेखि १० जेष्ठसम्म बहुउद्देश्य कबर्डहल माटिकोरेमा हुनेछ । कराते प्रतियोगितामा सात प्रदेश, सोतोकान कराते, गोजोरियो कराते, वादोरियो कराते र आयोजकको सहभागिता हुनेछ। कराते प्रतियोगिताका लागि कुनै शुल्क लाग्ने छैन।
करातेमा टिम प्रथम हुनेले एक लाख ११ हजार १११, दोश्रो हुनेले ५५ हजार ५५५, तेश्रो हुनेले ४४ हजार ४४४, चौथो हुनेले २२ हजार २२२, उत्कृष्ट पुरुष र महिला खेलाडी एक–एक जनाले जनही २२ हजार २२२ रुपैयाँ र उत्कृष्ट व्यवस्थापनले ११ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाउनेछन्। कराते खेलाडीलाई आवास, खाना, खाजा र पानीको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
खुल्ला महिला पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो हुने महिला पुरुषले क्रमशः ७५ हजार, दोश्रोले ५० हजार, तेश्रोले २५ हजार, चौथोेले १५ हजार, पाँचौले १० हजार, छैटांैले सात हजार र सातौंले पाँच हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन् । हाफ म्याराथन र १० किलोमिटर माथिका दौडा प्रतियोगितामा ५५५ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ ।

यस्तै,छात्रछात्रा १२ वर्षमुनिको १६०० मिटर दौडमा प्रथम हुने छात्रछात्राले क्रमशः जनही तीन हजार, दुई हजार र एक हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन । ६० वर्षमाथि पुरुषको १६०० मिटर दौडमा प्रथम, दोश्रो, तेश्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार पाउनेछन् । आमाहरुको ३ किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। छात्रछात्राको १२ वर्षदेखी १५ वर्षमुनिको ५ किलोमिटर दौडमा प्रथम हुने छात्रछात्राले क्रमशः सात हजार, दोश्रोले छ हजार, तेश्रोले पाँच हजार र १५ वर्षमाथिको खुल्ला महिला पुरुष १० किलोमिटर दौडमा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, १० हजार र सात हजार प्राप्त गर्नेछन् ।

३५ वर्ष भन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक र व्यवसायीहरुको ७ किलोमिटर दौडमा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार तेश्रोले सात हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका सचिव मिलन कसजुले जानकारी दिनुभयो। नेपाल एथलेटिक्स परिवार नेपाल र एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन र दौड बैशाख ३१ गतेदेखि जेष्ठ १ गतेसम्म हुनेछ । १० किलोमिटर भन्दा तलका दौडमा ३३३ रुपैयाँ सहभागिता शुल्क लाग्नेछ ।

टेम्के तुवाचुङ साहित्यिक प्रतिष्ठान र रावासावा प्राज्ञिक नेपालको सह आयोजनामा जेष्ठ ३ गते कबर्डहल माटिकोरेमा हुने राष्ट्रिय कविता लेखन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौं हुनेले क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्राप्त गर्नेछन् । कविता लेखन प्रतियोगितामा भाग लिन ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।

खोटाङ कलाकार समाजको सह–आयोजनामा जेष्ठ ६ गते हुने १८ वर्षमुनिको राष्ट्रिय गायन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुनेले क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार प्राप्त गर्नेछन् । गायन प्रतियोगिताका लागि ५५५ रुपैयाँ शुल्क तोकिएको छ ।
प्रतिष्ठानका सह–सचिव मोतिचन्द्र राईका अनुसार राष्ट्रिय कराते प्रतियोगिता गराउनलाई ३६ लाख ८७ हजार ७७६ रुपैयाँ, एथलेटिक्स(हाफ म्याराथन,समूहगत दौड प्रतियोगिता) गराउनलाई १० लाख २० हजार ५०० र राष्ट्रिय कविता लेखन र गायन प्रतियोगिता गराउनलाई ५ लाख वजेट लाग्ने अनुमान गरिएको छ । आवश्यक वजेट स्थानीय सरकार समक्ष माग गरिरहेको र चन्दा संकलन भईरहेको छ ।

जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र विभिन्न खेलक्षेत्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यले बृहत महोत्सव गर्न लागिएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए ।

जिल्लाको हितका लागि हुन लागेको महोत्सवलाई सफल बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट खुलेर सहयोग गर्न अध्यक्ष राईले आग्रह गर्नुभयो।

जिल्लामा हुने प्रतियोगिताहरुमा लैङ्गिक भेदभाव छुट्याउँदै पुरस्कार राशीमा समेत भेदभाव भईरहंदा महोत्सवका सबै प्रतियोगितामा महिला पुरुषको पुरस्कार समान राखिएको छ ।

पत्रकार महासंघ मुगुद्वारा विनोद-सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा

मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाले विनोद सुमन कृयाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।

शाखाको बुधबार सम्पन्न ७ औ जिल्ला अधिबेशन तथा १३ औ साधारण सभामा संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पूर्वअध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट यो पुरस्कारको घोषणा गरिएको हो ।

मुगु जिल्लामा कृयाशील पत्रकारहरु मध्येबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला २ जना पत्रकारलाई पुरस्कृत गरिने बताइएको छ ।

पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनोट गर्न शाखाले कार्यविधि बनाइ कार्य अगाडि बढाउनेछ । संकलित रकम अक्षयकोषमा जम्मा गरेर व्याजबाट पत्रकारलाई पुरस्कृत गरिने र यो कोष कम्तिमा ५ लाखको बनाइने लक्ष्य लिएको मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताउनु भयो ।

उद्घाटन सत्रमा लामो समयदेखि पत्रकारिता गरि रहेका शाखामा आवद्ध ३ जना पत्रकार र शाखालाई विभिन्न समयमा आर्थिक,भौतिक तथा क्षमता विकासमा सहयोग गर्दै आएका ४ स्थानिय तह १ गैरसरकारी सस्थालाइ पनि सम्मानित गरिएको थियो ।

सम्मानित हुने पत्रकारहरुमा नयाँ पत्रीका राष्टिय दैनिकका जिल्ला समाचारदाता अच्युतराज भण्डारी, न्युज २४ मुगु समाचारदाता दानबहादुर बुढा र समाचारपत्र दैनिकका मुगु जिल्ला समाचारदाता वीरबहादुर बम रहेका छन् ।

स्थानिय तहहरुमा छायानाथ रारा नगरपालिका, खत्याड गाउपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकालाई पनि पत्रकार महासंघ मुगु शाखाले सम्मानपत्र प्रदान गरेको थियो ।

गैर सरकारी संघ संस्थाहरु मध्येबाट हिमाली ग्रामिण युवा समाज विकास केन्द्र (हिरिसडेक) मुगुलाई सम्मानित गरिएको थियो ।

उद्घाटन सत्रको प्रमुख अतिथिमा समन्वय उपप्रमुख नैली कार्की,विशिष्ट अतिथिमा छायानाथ रारा नगरपालिका प्रमुख विष्णु कुमार भाम, विशेष अतिथिमा नेपाल पत्रकार महासङ्ग केन्द्रिय समितिका प्रतिनिधि विमल हमाल, सोरु गाउपलिका उपाध्यक्ष केशरजङ्ग शाही, सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्री र अतिथिहरुमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर सेजुवाल, ट्रेड युनियन मुगु अध्यक्ष रेशम बहादुर रावल, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भाम,गैरसरकारी महासङ्गका मुगु अध्यक्ष कर्णजङ्ग शाही, मुगु उधोग बाणिज्य सङ्गका अध्यक्ष कमल बहादुर बुढा, बौद्धिक व्यक्तित्व देवबहादुर मल्ल र नागरिक अगुवा रुपबहादुर मल्ल रहनु भएको थियो ।

उद्घाटन सत्रपछि शुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहीले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै ५ बुँदे प्रस्तावका अन्य निर्णय पनि सर्वसम्मत पारित गरेको थियो ।

मुगु शाखाको ७ औँ जिल्ला अधिवेशन तथा १३ औ साधारण सभाको उद्घाटन र बन्द दुवै सत्र महासंघका केन्द्रिय प्रतिनिधि विमल हमालको रोहबरमा सम्पन्न भएको थियो ।

एकीकृत समाजवादीको महाधिवेशनको मिति सर्‍याे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको महाधिवेशनको मिति सारेको छ ।

जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारेको हो ।

बुधवार बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।

असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताउनु भयो । उहाँले संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरुबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरुले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठह-याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौँ । जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशनलाई सारेका छौँ । आन्तरिक तयारी र व्यवस्थापनका काम बाँकी रहेकाले केही दिन सारेका हाैँ, सुदूरपश्चिममा पार्टीको तर्फबाट त्यहाँका संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने ।’

बैठकले सुदूरपश्चिममा पार्टीको तर्फबाट संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पनि बताउनु भयो ।

गठबन्धनमा देखिएका समस्याका बारेमा पनि छलफल भएको र आफ्नो पार्टीलाई अवमूल्यन गर्ने गतिविधिबिरुद्ध तत्काल प्रतिवाद गर्ने निर्णय गरेको बताउनु भयो ।

कोशी प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । जीवन विकास लघुवित्तकोे सहकार्यमा प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन–२०८१ को आज मोरङको कटहरीमा शुभारम्भ गर्नुहँदै उहाँले मानवीय विकासबाट प्रदेशले समृद्धि हाँसिल गर्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्की यस क्षेत्रमा आवश्यक रहेको चिकित्सक, इन्जिनियर, अधिवक्ता, कृषि र पशु स्वास्थ्यकर्मीलगायतका जनशक्ति उत्पादन गर्नका निःशुल्क अध्ययनको लागि बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो ।उहाँले युवाले नयाँनयाँ कुराको अविष्कार गरी मुलुक र प्रदेशको हितका लागि कार्य गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो । प्रदेश सरकारले यस क्षेत्रमा छिमेकी मुलुकका धार्मिक पर्यटक आगमन वृद्धिका लागि विभिन्न समुदायको आस्थाको केन्द्र रहेका मठमन्दिर, भाषा, संस्कृति, खानपिनको संरक्षणमा विशेष जोड दिएको उहाँले धारणा राख्नुभयो ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले युवायुवतीलाई नेतृत्वदायक भूमिका प्रदान गर्ने उद्देश्यले क्लबको गठन गरिएको जानकारी दिँदै युवापुस्तालाई विदेश पलायन रोक्न वित्तीय संस्थाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
जीवन विकास लघुवित्त संस्था लिका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले क्लबका सदस्यले समाज र देशप्रतिप्रति जिम्मेवारी बोध गर्नुका साथै सामाजिक चेतनास्तरको विकासमा मद्दत पुग्ने धारणा राख्नुभयो ।
रासस

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ ।

आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त

वासिङ्गटन डिसी । अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गर्नुभएको हो ।

कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राख्नुभएको थियो । सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो ।

नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते आयोजना गरिएको छ ।

यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गर्नुभएको छ । चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो ।

यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गर्नुभएको थियो । निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।

कोशी प्रदेशमा लोकसेवा आयोगको विज्ञापन विवादमा

काठमाडौं । कोशी प्रदेशको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौं तहको विज्ञापनप्रति निजामति कर्मचारीहरुले आपत्ती जनाएका छन् ।

कोशी प्रदेश लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौँ तहको विज्ञापन प्रदेश निजामति ऐन विपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् ।

आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्मचारी माग गर्दै विज्ञापन खोलेको थियो । लोकसेवाले खोलेको उक्त विज्ञापन प्रदेश निजामती सेवातर्फ नवौं तहका विभिन्न सेवा, समूह र उप–समूहको प्राविधिक तथा अप्राविधिक पदका लागि थियो । लोकसेवाले गरेको उक्त विज्ञापन नियमसंगत् नरहेको भन्दै आठांै तहका लेखा अधिकृतहरूले रद्द गर्न माग गरेका छन् । लोकसेवाले संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) नै नगरी विज्ञापन खोलेको भन्दै आठौं तहका लेखा अधिकृत भगवानमान श्रेष्ठले अन्य कार्यरत कर्मचारीको वृत्ति विकासमा अवरोध पुगेको बताउनु भयो ।

कोशीका लेखा अधिकृतहरूले आयोगको विभेदपूर्ण विज्ञापन रद्ध गर्न भन्दै गत चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई पत्र पठाएका थिए । लोकसेवाले विज्ञापन आह्वान गर्नुअघि ओएनएम गर्नुपर्ने भए पनि त्यसो नगरी विज्ञापन खुलाउनु ऐन विपरीत रहेको उनीहरुको भनाई छ ।

प्रदेश निजामती सेवा ऐनको दफा ८ मा कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको लागि अधिकृत आठौँ तहसम्मको पदमा सम्बन्धित सेवा, समूह वा उप–समूहको एक तहमुनिको पदको कर्मचारी तथा नवौं र दशांै तहको पदमा न्युनतम सेवा अवधि र न्यूनतम योग्यता पूरा भएका सम्बन्धित सेवाको कर्मचारीहरू सम्भाव्य उम्मेदवार हुने व्यवस्था छ । ऐनमा भएको उक्त व्यवस्थाको माध्यमबाट नवौं तहको पदमा सबै समूह र उप–समूहको कर्मचारीको वृत्ति विकासको बाटो खोलिएको छ । तर लोकसेवाले उक्त व्यवस्थाविपरीत विज्ञापन खुलाएको आरोप लगाएर रुष्ट भएका अधिकृतहरूले अदालत जाने तयारी गरेका लेखा अधिकृत तुलसी श्रेष्ठले बताउनु भयो ।

यसअघि प्रदेश सरकारले डा. चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले पनि ओएनएम नभएका कारण कतिपय कार्यालय बोझिला र खर्चिला बन्दै गएको औंल्याएको थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत ओएनएम गर्ने विषय उल्लेख गरिएको छ । तर, लोकसेवा आयोगले उक्त सबै व्यवस्थालाई नजरअन्दाज गर्दै विज्ञापन खुलाएपछि लेखा अधिकृतहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

कोशी प्रदेश लोकसेवा आयोगले भने प्रदेश निजामति सेवा ऐनकै व्यवस्था बमोजिम आफुहरूले विज्ञापन खुलाएको दाबी गरेको छ । कोशी प्रदेश लोकसेवा आयोगका कार्यबाहक अध्यक्ष टिकादत्त राईले निजामती सेवा ऐनकै व्यवस्था अनुसार विज्ञापन गरिएको बताउनु भयो ।

ओएनएम गर्ने कुरा जुन दफामा उल्लेख भएपनि दफा ८ को उपदफा १ बमोजिम संघीय सरकारबाट हस्तान्तरण भएका पदहरूमा भने पदपूर्ति गर्न यो ऐनले बाधा नपु¥याउने भनिएका कारण विज्ञापन आह्वान गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

मनाइयो रामनवमी पर्व (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरि आज नेपालभर रामनवमी पर्व मनाइएको छ ।

हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

यस अवसरमा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्यसका साथै राजधानीको बत्तिसपुतली स्थित राम मन्दिरमा बिहानै देखि भक्तजनहरूको भीड लागेको छ ।

सुहाङलाई मत माग्दै ओलीले भने : देश बनाउने युवा हुन्, जिताउनुस्

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

बुधवार इलामको मंगलवारे बजारमा आयोजित चुनावी सभामा बोल्दै उहाँले देश बनाउने संकल्प बोकेर हिँडेका सुहाङ इलामेली जनताको साझा उम्मेदवार भएकाले उसैलाई जिताउनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले देश बनाउने योजना, गन्तव्य र उद्देश्य सुहाङसँग रहेको र त्यसलाई साकार पार्ने एमाले पार्टी भएको जिकिर पनि गर्नुभयो । सुहाङले इलाम बनाउने अवसरको रुपमा सांसद पदलाई उपयोग गर्न चाहेकाले पनि इलामेली जनताले मतदान गरेर निर्वाचनमा अत्याधिक मतका साथ विजयी गराउनुपर्ने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउन भन्ने संकल्प बोकेर हिँडेको युवा व्यक्तित्व, एक्लै देश बन्दैन । बिना योजना, विना उद्देश्य, बिना गन्तव्य देश बन्दैन । गन्तव्य बोकेर, उद्देश्य बोकेर हिँडेको युवा भनेर मैले सुहाङ नेम्वाङलाई भने । किनभने गन्तव्य भएको, कहाँ पुग्ने हिँडेको भन्ने थाहा भएको, देश बनाउने संकल्प बोकेको सांसद हुने मात्रै उद्देश्य होइन । सांसद हुने भनेको त काम गर्ने एउटा अवसर हो । माध्यम हो । देश बनाउने उद्देश्य बोकेको युवा उम्मेदवार हुन सुहाङ ।’

अध्यक्ष ओलीले अन्य दलका उम्मेदवारमा देश बनाउने योजना र संकल्प दुवै नभएको दावी समेत गर्नुभयो ।

समुदाय र सरकारको ओत पाएपछि उज्यालिँदै ऐतिहासिक ज्यामरुककोट

म्याग्दी । समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचिन सम्पदाहरु पनि पर्यटकहरुका लागि आकर्षणका केन्द्र बन्न सक्ने रहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ ।

तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोट स्थित खड्गभवानी कोतको इतिहास १५औं शताब्दीका थापा राजाहरुसँग जोडिएको छ ।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।

करिव ६ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकाको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन् ।

अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नविग्रने गरी पुनः निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनः निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

“पुनः निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ । पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ऐतिहासिक कोतको गर्वगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ ।”

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ ।

पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उहाँले बताउनुभयो ।

वडाअध्यक्ष कार्कीका अनुसार यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् । सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षेत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको स्थानीय बताउँछन् ।

“उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायत नौ वटा हिमशृङ्खला छन् । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य देख्न सकिन्छ । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ”, वडाध्यक्ष कार्कीले भन्नुभयो ।
शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ऐतिहासिक खड्गभवानी कोतको पुनःनिर्माणको तयारी सुरु भएको उहाँले जानकारी दिनुभयो ।

करीब ६ सय वर्ष पुरानो इतिहास बोकेको ज्यामरुककोटको पुरातात्विक र पर्यटकीय महत्व बढ्दै गएको छ । समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चार लगायतका क्षेत्रमा विकास हुन थालेको छ । १५औं शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयले पूर्वाधार निर्माणमा तीव्रता दिएका छन् ।

थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्गभवानी कोत परिसरका सम्पदाहरू विकाससँग जोडिन थालेका छन् । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष रू. २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।

यसैगरी बेनी नगरपालिकाले पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरेको बेनी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल खड्गभवानी कोत परिसर पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गएको छ । यस ठाउँको महत्त्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सकेमा उल्लेख्य पर्यटक आउन सक्ने उहाँको भनाइ छ ।

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन् । त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन् ।

ऐरी हाल ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए ।

ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन् । त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।

अटोमेटिक पेस्तोलसहित पक्राउ परेका सुमित परियारबाट थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला

भोजपुर । लुटपाटमा संलग्न भएर पक्राउ परेका व्यक्तिबाट भोजपुर प्रहरीले थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला पारेको छ । खोजतलासको क्रममा लुकाएर राखेको अवस्थामा ती सामाग्रीहरु फेला परेको हो ।

लुटपाट गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको थियो । पक्राउ परेका परियारबाट बुधबार फेरि थप २१ राउण्ड बुलेट र थप म्याग्जिन फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदीपराज पाठकले जानकारी दिनुभयो ।

परियारले गत वैशाख दुई गते बिहान नौ बजेतिर षडानन्द नगरपालिका वडा नम्बर दुई बस्ने ८५ वर्षीय पासाङ ल्हामु शेर्पालाई नगरपालिकाको वडा नम्वर नौ जुगे जंगलमा पेस्तोल देखाएर सुनका गरगहना तथा नगद लुटपाट गरेको प्रहरीले जनाएको छ ।

लुटपाटको जानकारी आएसँगै प्रहरीले परिचालन गरेको बिशेष टोलीले षडानन्द नगरपालिका नौ स्थित भुल्के टोलस्थित जंगल जाने मूलबाटोमा परियारलाई भेटेर पक्राउ गरेको प्रहरी प्रमुख डिएसपी पाठकले बताउनुभयो ।

सोक्रममा सोधपुछ सहित उनको पछाडी बोकेको झोला हेर्दा पेस्तोल र गरगहना फेला परेको थियो । पक्राउ परेका परियारको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, सानो पेस्तोलमा प्रयोग हुने ११ राउण्ड गोली, नौ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको थियो ।

 

एमालेका सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल

इलाम ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो ।

नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गर्नुभयो ।

इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) ले घरघरमा वृद्ध भत्ता पु-याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।”

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

सो सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नं २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । उहाँले यही वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल पनि गर्नुभयो ।

यस क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) रहेका छन् ।

खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।

उहाँले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले देशको खेलकुदको एउटा मुख्य आधारका रुपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय भएको बताउनु भयो । उहाँले । खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकोरवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । उहाँले खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्वपूर्ण भुमिका हुन्छ । यति महत्वपूर्ण खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी छ । गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्छ । देशको खेलकुदको एउटा मुख्य आधारका रुपमा यो प्रतियोगिता अघि बढ्दै जानु सन्तोषको विषय हो । खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन, पुरस्कार र आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खलेको विकासमा सरकार र सरोकोरवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता छ । खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ । खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताउनु भयो ।

१७ महिनापछि लुम्बिनी प्रदेश संसदीय समितिमा नेतृत्व चयन

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।

प्रदेशसभामा छवटा विषयगत समिति र एक विशेषाधिकार समितिको आज सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सातवटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

दलहरुका बीच विषयगत समितिमा सहमति कायम गरी सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताउनुभयो । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति सभापतिमा रुकुम पूर्वकी दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा रामजीप्रसाद घिमिरेको एकल उम्मेदवारी परेकाले सर्वसम्मत हुनुभएको छ ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नं १ ‘क’ का राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधारीलाल न्यौपानेको एकल उम्मेदवारी परेको थियो । उहाँहरु सबै सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरुबीच एमालेले विशेष अधिकारसहित तीनवटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा समिति र माओवादी केन्द्रले दुईवटा समितिको नेतृत्व गर्ने सहमति भएको थियो । गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यको टुङ्गो लगाए पनि समिति नेतृत्वका विषयमा दलहरुबीच सहमति बन्न नसक्दा १७ महिना संसदीय समिति नेतृत्वविहीन थियो ।

२०७९ मङ्सिर ४ गते भएको संसदीय निर्वाचनपछि लुम्बिनी प्रदेशमा तीनवटा सरकार फेरिँदा पनि मिनी संसद्को रुपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा विजिनेसविहीन जस्तै बनेको थियो ।