सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पनि पीडितलाई भराउन आदेश गरेको छ ।

परिवर्तित नाम गौशाला २६ लाई जबरजस्तीकरणी गरेको अभियोगमा सन्दीपलाई दोषी ठहर गरिएको हो ।

अब सन्दीपले कारागार चलान नभई उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ।

पुस १३ गते अदालते उनलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ।

पक्ष र विपक्षको बयान,साक्षीका बयान र घटना विवरण,सीसीटीभी फुटेजका आधारमा गौशाला २६ र सन्दीप लामिछानेले काठमाडौंदेखि नगरकोट गइ पुन : काठमाडौं आएर होटलको एउटै कोठामा बसेको फैसलामा उल्लेख छ। एउटै कोठामा बसेको अवस्थामा सन्दीपले बलात्कार गरेको अदालतको ठहर छ।

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ‘तपश्वी’ रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ।

सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ चलाएको थियो। उनलाई थप कारबाहीका लागि सर्लाही जिल्ला अदालत पठाइने सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो । उनीविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता भएको छ।

बम्जन बसेको घरबाट नेपाली तथा विदेशी मुद्रा बरामद भएको छ। जसमध्ये ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४०६ नेपाली रुपैयाँ बराबरको १७ देशको विदेशी मुद्रा गरी कूल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको हो।

त्यस्तै उनको साथबाट केही सामान पनि बरामद भएका छन्। प्रहरीका अनुसार मोटरसाइकलको बिलबुकहरू ३ थान, टोयटा हिलक्स गाडीको चाबी १ थान, विभिन्न ब्राण्डका पेनड्राइभ २० थान, सोनी लेखिएको भ्वाइस रेकर्डर १ थान, विभिन्न ब्राण्डका ल्यापटप २ थान, विभिन्न ब्राण्डका मेमोरी कार्डहरू २ थान, विभिन्न ब्राण्डका मोबाइल १४ थान र विभिन्न ब्राण्डका आइ प्याड र ट्यापहरू ५ थान बरामद भएको छ।

उक्त गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकन्ठस्थित आफ्नै घरबाट उनी पक्राउ परेका थिए।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ ।

सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा २५ जनाको टोली उनको खोजीमा खटिएको थियो । सोही टोलीले उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

प्रहरीले बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको खोजी पनि सुरु गरेको छ । प्रहरीका अनुसार उनले पाँच जना अनुयायीलाई यौन शोषण गर्दै बेपत्ता पारेको उजुरीहरु छन् ।

बाराको निजगढ नगरपालिका–१२, रतनपुरी स्थायी घर भएका बम्जनले जम्मा कक्षा ५ सम्म अध्ययन गरेका छन् ।

स्वर्णपुरीको साधारण सभा सम्पन्न

काठमाडौं । स्वर्णपुरी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा मनाएको छ ।

संस्थाका संचालक अध्यक्ष बैकुण्ठप्रसाद अधिकारीको अध्यक्षतामा शनिबार काठमाडौंको चावहिलमा आयोजना गरिएको उक्त साधारण सभामा प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको प्रमुख अतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रा. दाहालले स्वर्णपुरी सहकारी शुरुदेखिकै अब्बल सहकारी रहेको र आफू शुरुदेखिका सबै गतिविधिमा जानकार रहेको बताउनुभयो ।

यस्तै, राष्ट्रबैंकका पूर्व अधिकृत एवं संस्थाका सल्लाहकार भीमानन्द ढुंगानाले स्वर्णपुरी सहकारी र यसको संचालकमाथि विश्वास गर्न सकिने अवस्था रहेको बताउनुभयो । संस्थाका सल्लाहकार एवं साहित्यकार त्रिलोचन आचार्यले सहकारीको नेतृत्व लोकतान्त्रिक विधिले गरिने हुँदा यो सर्वस्वीकार्य रहन्छ भन्नुभयो ।

राष्ट्रिय कलाकार एवं संस्थाका जेष्ठ शेयर सदस्य हरिप्रसाद शर्मा अतिथिको रुपमा रहनुभएको थियो ।

संस्थाका अध्यक्ष बैकुण्ठप्रसाद अधिकारीले २०७९/८० को वार्षिक प्रतिवेन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक श्री शिवनारायण अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपस्थित प्रमुख अतिथि, अतिथि लगायतलाई संस्थाका उपाध्यक्ष शम्भुप्रसाद अधिकारीले दोसल्ला ओढाई स्वागत गर्नुभएको थियो । सो साधारण सभामा कामनपा–७ का कार्यबाहक अध्यक्ष कल्पना सुन्दासले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा असल ऋणी र वचकर्तालाई सम्मानसमेत गरिएको थियो । असल महिला ऋणी तर्फ विमला पौडेल, असल पुरुष ऋणी तर्फ शिवप्रसाद अधिकारी, असल वाल बचत तर्फ क्रमश यस्मिन घिमिरे र आदित शर्मालाई सम्मान गरिएको थियो । प्ुरस्कृत सबैलाई सम्मान पत्र र जनही तीन हजारका दरले पुरस्कृत गरियो ।

संस्थाका सचिव राजेन्द्र गजुरेलको स्वागत मन्तव्यबाट कार्यकम शुरु गरिएको थियो भने संस्थाकै सह सचिव गोविन्द ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो । दुई चरणमा विभक्त उक्त साधारण सभामा पहिलो चरण औपचारिक र दोस्रो चरणको अनौपचारिक रुपमा संचालन गरिएको थियो ।

नेपाल बास्केटबल संघले पायो पूर्णता

काठमाडौं । नेपाल बास्केटबल संघको पाँचौं चुनावी साधारणसभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनिषकुमार हयोजुले उपाध्यक्ष, नरेन्द्र थापाले महासचिव, फणिन्द्रमान श्रेष्ठले सचिव तथा विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाउनुभयो । पवनकुमार थापा, सरोजा कोइराला श्रेष्ठ, बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन हुनुभयो ।

नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

त्यसअघि साधारण सभाको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभएको थियो । उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

वायु प्रदूषण बढेपछि दिल्लीमा पटाका बिक्रीमा प्रतिवन्ध

नयाँदिल्ली । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ ।

दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो ।

दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ । दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो ।

दिवाली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको छ । दिल्ली प्रदूषण नियन्त्रण बोर्डले भन्यो कि, शहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तिब्र रुपमा बढेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो

नयाँदिल्ली । भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ४ दशमलव ८७ प्रतिशत रहेको छ । सेप्टेम्बरमा, सीपीआई ५.०२ प्रतिशत थियो ।

खाद्य मुद्रास्फीति पनि सेप्टेम्बरको ६.६२ प्रतिशतबाट अक्टोबरमा ६.६१ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूकाअनुसार सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य डेटा संकलन गरिएको छ ।

अक्टोबर २०२३ को महिनामा, एनएसओ (राष्ट्रिय तथ्याङ्क कार्यालय) ले ९९.८ प्रतिशत गाउँ र ९८.६ प्रतिशत सहरी बजारबाट मूल्य सङ्कलन गरेको छ भने बजारअनुसार मूल्यहरू ग्रामिण क्षेत्रमा ८९.० प्रतिशत र शहरीका लागि ९२.० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अक्टोबरमा खुद्रा मुद्रास्फीतिमा भएको सहजता मुख्यतया खाद्यान्नको मूल्यमा आएको तिब्र्र कमी, विशेषगरी तरकारीको मूल्य र एलपीजी मूल्य कटौतीको प्रभावलाई दिइएको छ । सिन्ह्वा/न्युज एजेन्सी

रानीपोखरीमा भाइटीका(फोटोफिचर)

काठमाडौं । बुधबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइएको छ । कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा भाई टीका लगाएका छन् । वर्षमा एक दिन भाई टीकामा मात्र खुल्ने यो मन्दिरमा दिदी बहिनी नभएकाले यहाँ रहेका दिदी बहिनीको हातबाट टीका लगाउने प्रचलन रहेको छ ।

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीनबाट गए राति स्वदेश फिर्ता हुनुभएको छ ।

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको सो पार्टीले जनाएको छ । रासस

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट शुरू हुँदैछ ।

सेमिफाइनलको पहिलो खेलमा आज न्युजिल्यान्डले घरेलु टोली भारतको सामना गर्नेछ ।

भारत अपराजित रहँदै ग्रुप विनरका रूपमा सेमिफाइनलमा पुगेको हो भने न्युजिल्यान्ड चौथो स्थानमा रहेको थियो ।

खेल मुम्बइको वानखाडे स्टेडियममा हुनेछ ।

सेमिफाइनलको दोस्रो खेल बिहीबार अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ । इडेन गार्डेनमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्नेछन् ।

प्रतियोगितामा अपराजित रहँदै भारत सेमिफाइनल पुगेको हो । उसले चौथों स्थानको न्युजिल्याण्डलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । यस विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको साउथ अफ्रिकाले अष्ट्रेलियालाई सेमिफाइनल प्रतिद्धन्दी भेट्टाएको हो ।

भारतले समूह चरणमा सबै टिमलाई हरायो । उसले ९ खेलबाट शतप्रतिशत १८ अंक बटुल्यो । साउथ अफ्रिका र अष्ट्रेलियाले समान २ खेलमा समूह चरणमा गुमाए ।

समूह चरणमा चार खेलमा हार ब्यहोरेको न्युजिल्याण्ड चौथों टोलीको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुग्नुभएको छ । नेपालको चार दिने भ्रमणका लागि उहाँ आज (आइतबार) बिहान १ बजे नेपाल आइपुग्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आइपुग्नुभएका उहाँलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभयो ।

स्वागत गर्ने क्रममा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने बताइएको छ । यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउनेसमेत बताइएको छ ।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गर्नुभचएको थियो। महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहनुभएका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत हुनुहुन्छ । सन १९७० र ८० को दशकमा तत्कालिन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेस नेपाल आएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।

नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुनेछ । यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उहाँले भेटघाट गर्ने कार्यक्रम छ ।

महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई मंगलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

यस्तो छ- तपाईंको कात्तिक १२ गते आइतबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० कात्तिक १२ गते आइतबार, ई.सं. २८ अक्टोबर, २०२३ । तिथि– कात्तिक कृष्णपक्ष प्रतिपदा, नक्षत्र– अश्विनी, योग– सिद्धि, करण– वालव, चन्द्रराशि– मेष, सूर्योदय ६ः१३, सूर्यास्तः १७ः२१ ।

मेष: परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

वृष: शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

मिथुनः मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट: पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

सिंह: लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

कन्या: मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

तुला: सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

वृश्चिक: व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु: मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मकर: रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

कुम्भ: सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

मीन: घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

प्रतिष्ठानद्वारा बिद्यार्थीलाई झोला वितरण

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा रहेको सामाजिक संस्था नेपाल पूजा प्रतिष्ठानले लतिलपुरको एक बिद्यालयमा झोला वितरण गरेको छ ।

प्रतिष्ठानले बागमती–५ इकुडोल, माझखण्डमा रहेको श्री शारदा शिक्षा सदन माध्यामिक विद्यालयका बिद्यार्थीहरूलाई झोलालगायतका सामाग्री वितरण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष कविन्द्रप्रसाद पौड्यालको नेतृत्वको टोलीले सोमबार बिद्यालयमै पुगेर झोला वितरण गरेको संस्थाका कोषाध्यक्ष विजय गौतमले जानकारी दिनुभयो ।

प्रतिष्ठानको तर्फबाट गएका टोलीलाई बिद्यालयमा भव्य स्वागत गरिएको थियो । बिभिन्न दातृ व्यक्ति एवं प्रतिष्ठानको आफ्नै खर्चमा बिद्यार्थीलाई सहयोग गरिएको कोषाध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रतिष्ठानले बिद्यालयका १२५ जना बिद्यार्थीलाई ४४ हजार बराबरको सामाग्री वितरण गरेको हो । प्रतिष्ठानले बेलाबेलामा दुर्गम भेगमा लक्षित गरी स्वास्थ्य शिविर एवं सहयोग गर्दै आइरहेको छ ।

कहाँ हरायो पाल्पाली करुवा ?(फिचर स्टोरी)

पाल्पा । ‘करुवा’ भन्ने बित्तिकै मुखैमा झुण्डिएको जिल्लाको नाम हो, पाल्पा । पाल्पाको पहिचान बनेको हातैले बनाएका ‘करुवा’ पछिल्ला दिनमा भने बन्नै छाडेको छ । पाल्पा पुग्ने जो कोही हातले बनाएका पाल्पाली ‘करुवा’ भनेसी चिनो लैजाने योजना बनाउँथे । तर बजारमा अहिले मेशिनले बनेका बाहिर जिल्लाबाट आयातित ‘करुवा’ मात्र देखिन्छ ।

कारण हो, नयाँ प्रविधि, नयाँ मेशिनले करुवा अन्यत्र बन्न थाले । हातले बनाएको पाल्पाली करुवा झण्डै लोप हुने अवस्थामा छ । काँश, राङ र तामाको प्रयोग गरेर पगाली बिभिन्न ढाँचाहरूमा राखेर तयार गर्ने पाल्पाली करुवा अहिले बिरलै देख्न पाइन्छ । काँस, तामाबाट निर्मित पाल्पाली करुवाबाट पानी पिउँदा शरीरलाई फाइदा हुन्छ भन्ने जनविश्वाससमेत छ । तर पछिल्ला दिनमा भने सस्तो मुल्यका करुवा बजारमा देखिन्छ ।

पहिले हरेक घर तथा होटलमा सजाएर राख्ने चलन थियो । करुवा घरमा राख्दा आकर्षित देखिन्छ । हातले बनाएको पाल्पाली करुवा तयार गर्न समय लाग्छ । मिहिनेत पर्छ । हातैले दुःखसँग बनाइन्छ । करुवाको चक्र पूरा गर्न २५ देखि ३० दिन लाग्ने गर्छ । गाउँ घर तिरबाट फालिएका, नचाहिने काँसका भाडा, तामाका भाडा ल्याएर, पगाली विभिन्न ढाँचाहरुमा तयार गरिन्छ । साँचो माटोबाट बनाइन्छ । त्यसैमा राखेर विभिन्न ढाँचाका करुवा तयार हुने करुवा उद्यमी प्रदीप बज्राचार्यले बताउनुभयो ।

२०४० सा तिर पाल्पामा करीब ३० वटा जति करुवा उद्योगहरू थिए । अहिलेसम्म आइपुग्दा त्यो संख्या घटेर तीन वटामा सिमित छ । नियमित चालु अवस्थामा कुनै पनि छैनन् । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको टक्सारमा पाल्पाली करुवाको सुरुवात भएको दाबी छ ।

तानसेन टक्सारमा करुवा उद्योगसंगसँगै विभिन्न भाडा उद्योगहरू पनि थिए । अहिले ती पनि देख्नै छाडे । पहिल्यैदेखि भाडा र करुवा किन्न आउनेहरूको भीड हुन्थ्यो । त्यो अहिले न्युन मात्र होइन देख्नै मुश्किल परेको छ । टक्सारमै करुवा बनाएर सुरुवात गर्नु भएका स्व.सुर्य मान बज्रचार्यको उद्योग एक पुस्ताबाट अर्को पुस्ता गर्दै अहिले दुई नातिहरूमा हस्तान्तरण भएको छ । तर उद्योग सुचारु अवस्थामा छैनन् ।

विगत ४० वर्षदेखि निरन्तर करुवा बनाउँदै आएका कान्छा नाति तानसेन टक्सारका प्रदीप बज्राचार्य भन्नुहुन्छ, ‘पहिले २०० देखि ३०० करुवा बनाउन भ्याईनभ्याई हुन्थ्यो, अहिले कालिगढ पनि छैनन गराउने र कच्चा मालको मंहगीले अर्डर अनुसार मात्र गराइन्छ ।’ उहाँका अनुसार हातले बनाइनेन सबैभन्दा सानो करुवा एक हजार पाँच सयदेखि दुई हजार खर्च लाग्छ । त्यहि करुवा आधुनिक मेशिनले बनाएका एक हजारसम्म पाइने भएकाले पनि हातले बनाएको करुवा अहिले बिस्तारै लोप हुँदै गएको उहाँको गुनासो छ ।

तानसेनमा मेसिनद्धारा उत्पादित नेपालगञ्ज, भोजपुर र पोखरेली करुवा भेटिन्छ । यी करुवालाई पनि पाल्पाली नै भनेर व्यापारीले बिक्री गर्ने गरेको गुनासो ग्राहकको छ । जसले गर्दा पाल्पाली करुवा कस्तो हो भनेर चिन्नसमेत मुश्किल पर्ने अवस्था आएको छ ।

पाल्पाली करुवा विगतमा जापान, बेलायत, अमेरिका र थाइल्यान्डसम्म निर्यात हुने गरेको थियो । तर पनि माग अनुसार उत्पादन हुन नसक्दा अहिले निर्यात हुन सकेको छैन ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

 

बागमती प्रदेश सभा बैठक बस्दै

हेटौंडा । बागमती प्रदेश सभा बैठक आज (शनिबार) बस्दैछ । शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकवाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक बर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्विकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।

गैह्रीगाउँमा चारजनाको हत्या, शंकास्पद एक व्यक्ति पक्राउ(तस्बिरसहित)

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगेर प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान शुरू गरेको हो । अनुसन्धानका क्रममा सबै नाकामा प्रहरी टोली परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट सोधपुछको लागि काठमाडौं(३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ । गैह्रीगाउँस्थित दिव्य सःमिलमा गएराति धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको थियो । हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका हुन् ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उहाँकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहनुभएको छ ।

अहिले मुचुल्कालगायतको कार्य सम्पन्न गरी शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

उक्त मिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरिरहनुभएको छ ।

बागमती करिडोरमा बृक्षरोपण(फोटोफिचर)

काठमाडौं । बागमती सरसफाई अभियानको लामो समय बितिसकेको छ । अहिले केही हदसम्म पानी सफा पनि देखिन थालेको छ । अब भने यो अभियानकै अर्को रुपको रुपमा बागमती करिडोरमा बिरुवा रोप्न थालिएको छ । बृक्षरोपणको संरक्षणमा स्काउटका बालबालिकाले पनि साथ दिएका छन् । बालबालिका युवा र बृद्ध समेतको सम्लग्नतामा यो काम निरन्तर चल्ने अपेक्षा गरिएको छ ।

 

तीन किलो बढी चरेससहित बझाङका एक जना पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकाका एक जना लागूऔषध चरेससहित डडेल्धुराबाट पक्राउ परेका छन् ।

बुंगल नगरपालिका वडा नं ११ बस्ने ३५ बर्षीय धनबहादुर बोहरा तीन किलो ८०४ ग्राम लागू औषध (चरेश)सहित जिल्लाको अमरगढी नगरपालिका ८ मिटमार्ट मासु पसल नजिकबाट बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा बोहराको साथबाट उक्त लागू औषधसहित एक थान स्मार्ट मोबाइल, एक थान सादा मोबाइल, नेपाली रुपैयाँ २३ हजार ५३० र भारतिय रुपैयाँ दुई हजार ६१० समेत फेला पारिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताउनुभयो । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न/गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्नुभएको छ । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उहाँको भनाइ छ ।

“यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उहाँले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ । रासस