नदीजन्य पदार्थको दोहन रोक्न गस्ती

कञ्चनपुर । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् ।

सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । ‘बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नका लागि पालो मिलाएर खटिएका छौं’, उहाँले भन्नुभयो ।

वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको उहाँको भनाइ छ । चुरेक्षेत्र भएर बग्ने नदी, खोलामा अवैध उत्खनन गरिँदा बर्सेनि बाढीको समस्या बल्झिँदै आएको छ । नदी, खोला साविकको क्षेत्रमा बग्न छाडेर धार परिवर्तन गरी बस्तीतर्फ सोझिन थालेका छन् । चुरे फेदीका बेलडाँडी, पिल्लरीलगायतका बस्तीका बासिन्दाले केही वर्षयतादेखि बाढीको समस्या झेल्दै आएको सामुदायिक वनका पदाधिकारी विमला चौधरीले बताउनुभयो ।

‘वैज्ञानिक तरिकाले चुरे क्षेत्र नजिकका नदी, खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी झिक्ने कार्य गरे समस्या हुँदैन, त्यस्तो अहिलेसम्म हुनसकेको छैन’, उहाँले भन्नुभयो, ‘अन्धाधुन्धरूपमा नदीजन्य पदार्थ झिकिँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् ।’ नदीजन्य पदार्थको अवैध दोहन रोक्नका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता खटिँदै आएको उहाँले उल्लेख गर्नुभयो । सबडिभिजन वन कार्यालय, प्रहरी र नगरपालिकासँग समन्वय गरी अवैध उत्खनन रोक्नका लागि प्रयास थालिएको उहाँको भनाइ छ । रासस

चिकित्सक कुट्नेमाथि कारबाहीको माग गर्दै ७८ जना स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत चिकित्सकसहित ७८ स्वास्थ्‍यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएको हेटौंडा अस्पताल प्रशाशनले जनाएको छ ।

यस्तै उक्त घटना लगत्तै दोषीलाई पक्राउ गर्नुपर्ने माग आएकोमा दोषीलाई कारबाही नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आज (शुक्रबार) बाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने भएका छन्।

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गर्दै घटना भएको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषिलाई कारबाही नगरेको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गर्ने निष्कर्षमा पुगेको जनाएको छ। अस्पतालमा दैनिक रुपमा १५ सय बिरामी स्वास्थ उपचारका लागि आउने गरेका छन्।

गत महिना डेंगु संक्रमणको कारण मृत्यु भएका हेटौंडा उपमहानगरपालिका १२ नंम्बर वडाका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तहरुले गत बुधबार डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए।

चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर बन्दुक राखेको मुद्दामा दोषी ठहर

वासिंगटन डिसी । पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ।

जानकारीका अनुसार अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। यसलाई अमेरिकी राष्ट्रपतिका लागि ठूलो धक्का मानिएको छ । हन्टरलाई हतियार किन्न धेरै पटक झूट बोलेको आरोप छ।

यो उल्लेखनीय छ कि हन्टर विरुद्ध अनुसन्धान लामो समय देखि चलिरहेको थियो। जसका कारण पनि राष्ट्रपति बाइडेनको समस्या थप बढ्दै गएको छ । अमेरिकी संसदका सभामुखले पनि हालै संसदीय समितिलाई राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन गर्न अनुमति दिएका थिए।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई लागुऔषध दुर्व्यसन र अवैध बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको हो । यसअघि हन्टर बाइडेनलाई डेलावेयरमा विशेष सल्लाहकार डेभिड वेइसले दोषी ठहर गरेका थिए।

यसबाहेक हन्टर विरुद्धको आरोप पुष्टी भएमा २५ वर्षसम्म जेल सजायँ हुन सक्छ र यो उनको विरुद्ध धेरै आपराधिक मुद्दाहरू मध्ये पहिलो हुन सक्छ। ५३ वर्षीय हन्टरले डीसी र लस एन्जलसमा कर छली र अवैध विदेशी लबिङका मुद्दाहरू पनि सामना गर्नु पर्ने भएको छ ।

यद्यपि हन्टर बिडेनलाई २०१८ मा बन्दुक खरिद फारममा लागू पदार्थको प्रयोगको बारेमा झूटो बोलेको आरोप पनि लगाइएको थियो जब उनले कोल्ट कोब्रा रिभल्भर किनेका थिए। न्युयोर्क पोस्टका अनुसार उनले आफ्नो २०२१ संस्मरण ‘ब्यूटीफुल थिंग्स’ मा लेखेका थिए कि उनले त्यस समयमा लागूपदार्थ प्रयोग गर्थे ।

बिडेनको छोराको अभियोग तीनवटा गणनाहरूसँग सम्बन्धित छ- बन्दुकको स्वामित्वलाई नियन्त्रित गर्ने संघीय कानूनको उल्लङ्घन गर्ने, अधिकारीहरूलाई झूट बोल्ने र अन्तरराज्यीय वाणिज्य कारोबार लगायतका मुद्दामा उनी दोषी करार हुनसक्छन । यद्पी यसमा छानबिन भइरहेको छ ।

मीड सोलु हाइड्रोपावरको आइपीओ आजबाट

काठमाडौं । मीड सोलु हाइड्रोपावरको आज शुक्रबार भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । तर सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा लाइएको हो । यस आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज १२ गतेसम्म खुला रहनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।

रेटिङ एजेन्सी इक्र नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङद्धारा पार्टी परित्याग

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गर्नु भएको छ ।

उहाँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ-‘आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।’

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लाग्नु भएको थियो ।

उहाँ गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बन्नु भएको थियो । तर निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको गुरुडले जानकारी दिनुभयो ।

यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा सानो ८०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला ४० रुपैया कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ९०, रातो मूला ८०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ४०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो १२०,अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०,अनार ३२०, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३८०, छडी माछा २४०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, ‍परवर ५०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ८०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १३०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, कन्य च्याँउ १८०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तो छ- आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा कायम गरिएको ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ ०० पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ० पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ० पैसा र बिक्रीदर १० रूपैयाँ ४ पैसा कायम गरिएको ५ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५० रुपैयाँ कायम हुदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४ पैसा विक्रीदर ४३१.३४ पैसामा कारोबार हुनेछ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवारले भने, ‘७५ प्रतिशत कर्मचारी कटौती गर्छु’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेका भारतीय मूलका विवेक रामास्वामीले सन् २०२४ को चुनावमा आफू सफल भएमा ७५ प्रतिशतभन्दा बढी संघीय सरकारी कर्मचारीलाई बर्खास्त गर्ने बताएका छन् ।

अमेरिकी अर्थतन्त्रलाई भार पर्ने धेरै कार्यालयलाई पनि बन्द गर्ने घोषणा गरेका हुन, जसमा एफबीआई जस्ता प्रमुख एजेन्सीहरू पनि बन्द गरिनेछ । उनका अनुसार शिक्षा विभाग, एफबीआई, मदिरा ब्यूरो, तंबाकू, हतियार र विस्फोटक पदार्थ, आणविक नियामक आयोग, आन्तरिक राजस्व सेवा, आईआरएस र वाणिज्य विभागहरु खारेज गरिनेछ ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका शीर्ष प्रतिद्वन्द्वी फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले पनि यही कुरा भनेका छन्। अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई दिएको अन्तर्वार्तामा रामास्वामीले सोही कुरालाइ चुनावी अजेन्डा बनाएका छन् ।

एक्सियोसका अनुसार रामास्वामीले चार वर्षभित्र आफ्ना २२ लाख कर्मचारीमध्ये ७५ प्रतिशतलाई हटाउने लक्ष्य राखेको बताएका छन्। अगस्ट २३ मा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक बहस अघि रामास्वामीको सो भनाइले धेरैको ध्यानाकर्षण भएको छ।

न्यूयोर्क टाइम्सका अनुसार संघीय सरकारमा करिब २२ लाख ५० हजार मानिस कार्यरत छन् । त्यसमध्ये ७५ प्रतिशत हटाइएमा १६ लाखभन्दा बढीले रोजगारी गुमाउने छन् र संघीय बजेटमा अर्बौं डलर बचत हुनेछ । तर, आलोचकहरुले राधास्वामीको सो घोषणा कार्यान्वयन भएमा सरकारका धेरै महत्त्वपूर्ण कामहरू ठप्प हुनेछन ।

किम जोङलाई भएन पुटिनमाथि विश्वास, कोरियाली अधिकारीले गरे कुर्सीको स्क्यान

मस्को । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्नो सुरक्षाका कारण प्रायः चर्चामा रहन्छन् । अहिले उनी रुसमा छन्, जहाँ उनको सुरक्षाको विशेष ध्यानाकर्षण भइरहेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न उनी विशेष बुलेट प्रुफ ट्रेनबाट रुस पुगेका थिए ।

यसैबीच सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसले किम जोङ आफ्नो सुरक्षालाई लिएर कत्तिको चिन्तित छन् र मित्रताको दाबी गर्ने रुसको सुरक्षा प्रणालीमा उनलाई कति विश्वास छ ? भन्ने प्रमाण बाहिरिएको छ ।

वास्तवमा पुटिनसँगको बैठक अघि किमका सुरक्षा अधिकारीहरूले उनको कुर्सीको राम्रोसँग निरीक्षण गरे। कुर्सीलाई राम्ररी सेनिटाइज गरिरहेको एउटा भिडियो भाइरल भइरहेको छ । कोमर्सेंट पत्रिकाको रिपोर्ट अनुसार उनको कुर्सी पनि विकिरण वा कुनै प्रकारको खतरा छैन भनेर सुनिश्चित गर्न स्क्यान गरिएको थियो।

भिडियोमा सेतो पन्जा लगाएका उत्तर कोरियाली सुरक्षा अधिकारी किम जोङको कालो कुर्सी पुछ्दै र त्यसमा अज्ञात पदार्थ छर्किरहेको देख्न सकिन्छ। साथै, क्रेमलिनका एक कर्मचारीले पनि उत्तर कोरियाली सुरक्षा अधिकारीलाई सहयोग गरेको देखिन्छ। भिडियोमा एक व्यक्ति मेटल डिटेक्टरले कुर्सी स्क्यान गरिरहेको पनि देख्न सकिन्छ ।

समाचार अनुसार किमको तौललाई ध्यानमा राखेर कुर्सीको क्षमता पनि जाँच गरिएको थियो । वास्तवमा, उत्तर कोरियाली नेताको वजन १४० किलोग्राम छ। यस्तो अवस्थामा उनीहरु बस्नका लागि कुर्सीको विशेष ख्याल राखिएको हुन्छ ।

सो अनुसन्धान पूरा भएपछि तुरुन्तै पुटिन र किमबीच भेटवार्ता भएको थियो, जहाँ दुई नेताबीच सैन्य सहयोगका सम्भावनाहरूबारे छलफल भएको थियो। यसै क्रममा रुसले उत्तर कोरियालाई स्याटेलाइट बनाउन सहयोग गर्ने संकेत गरेको छ ।

साथै, सो द्धिपक्षिय बैठकमा किम जोङ युक्रेन युद्धमा रुसलाई समर्थन गरेको देखिएका छन । उत्तर कोरियाली तानाशाह किम जोङ उनले भने, ‘रुस आफ्नो सार्वभौमिकता र सुरक्षाको लागि युद्ध लडिरहेको छ। हामी राष्ट्रपति पुटिन र रुसलाई सधैं समर्थन गर्नेछौं।’

बेलायती कलाकारले गरे पुनर्जन्म लिएको दाबी, भयो उनको कुरा भाइरल

लन्डन । बेलायतका एक स्टेज कलाकारले निकै अचम्मको दावी गरेका छन् । वास्तवमा, अभिनेता दावी गर्छन् कि उनी मृत्यु पछि फेरि जीवनमा आएका छन्।

हामीले कुरा गरिरहेका व्यक्ति भारतीय मूलका ६० वर्षीय शिव ग्रेवाल हुन् । जसले आफ्नो कथा सेयर गरेर मानिसहरूलाई चकित पारेका छन्।

न्युयोर्क टाइम्सका अनुसार शिव ग्रेवालले मृत्युपछि स्वर्ग देखेको दाबी गरेका छन् । यो बेलायती रंगमञ्च कलाकारले पनि चन्द्रमा र उल्कापिण्ड देखेको दाबी गरेका छन् । समाचार नुसार ग्रेवालले जे दाबी गरेका छन्, त्यो १० वर्ष पुरानो हो । तर हालै उनले पीए रियल लाइफसँग यो कुरा सेयर गरेका हुन ।

ग्रेवालका अनुसार सन् २०१३ फेब्रुअरी ९ मा आफ्नी श्रीमती एलिसनसँग दक्षिणपूर्वी लन्डनस्थित घर नजिकै खाजा खाँदा उनलाई हृदयघात भएको थियो । एलिसनले तुरुन्तै मद्दतको लागि एम्बुलेन्स बोलाए तर धेरै ढिलो भइसकेको थियो। ग्रेवालले सात मिनेटको अनुभवको बारेमा पीए रियल लाइफलाई भने, ‘मलाई कुनै न कुनै तरिकाले म मरेको थाहा थियो, मैले महसुस गरें कि चीजहरू मेरो शरीरबाट पूर्ण रूपमा फरक छन्। यस्तो थियो कि म शून्यमा थिए तर भावना र संवेदनाहरू महसुस गर्न सक्थे।’

उनले थप दाबी गर्दै भने कि, ‘मेरो शरीर नभएको जस्तो महसुस भयो। मलाई पानीमा पौडी खेलेको अनुभूति भयो ।’ आफ्नो अनुभवको बारेमा कुरा गर्दै उनले भने, ‘तपाई भाररहित र भौतिक संसारबाट अलग भएको महसुस गर्नुहुन्छ।’

उनले थप भने, ‘कुनै समय म चन्द्रमामा यात्रा गरिरहेको थिएँ र म उल्का पिण्ड र सम्पूर्ण अन्तरिक्ष देख्न सक्थें । तर मलाई ती कुराहरू हेर्न मन लागेन।’ उनले आफ्नो शरीर र समयसँगै श्रीमतीकहाँ फर्कन चाहेको बताए । उनी बाँच्न चाहन्थे।

त्यसपछि एम्बुलेन्स घटनास्थलमा पुगेपछि ग्रेवालको मुटु फेरि धड्कन थालेको उनले बताए । जुन वास्तवमा भयो। पछि उनको मुख्य धमनीमा स्टेन्ट हाल्न शल्यक्रियाका लागि लगिएको उनले बताए ।

सेरेब्रल हाइपोक्सिया अर्थात् मस्तिष्कमा अक्सिजनको कमीका कारण चिकित्सकले उनलाई एक महिना कोमामा राख्ने निर्णय गरेका थिए । जसका कारण उनलाई मिर्गी रोग लागेको थियो । त्यो दर्दनाक घटनाबाट ग्रेवाल पूर्णरुपमा निको नभए पनि मृत्युको सामना गर्नुले जीवनप्रतिको आफ्नो धारणामा परिवर्तन आएको बताए ।

नासाको घोषणा, ‘पृथ्वी बाहिर पनि जीवन छ’

वासिंग्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बिहीबार यूएफओमा आधारित आफ्नो बहुप्रतिक्षित प्रतिवेदन सार्वजनिक गरेको छ ।

नासाले एक वर्षसम्म यूएफओको विषयमा अध्ययन गरी अहिले विश्वको ध्यानाकर्षण भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

३३ पृष्ठको यो प्रतिवेदनमा नासाले यस विषयमा विस्तृत अध्ययनका लागि नयाँ वैज्ञानिक प्रविधि र उन्नत उपग्रह आवश्यक पर्ने बताएको छ ।

रिपोर्टमा नासाले स्वीकार गरेको छ कि युएफओ हाम्रो ग्रहको सबैभन्दा ठूलो रहस्य हो। प्रतिवेदन सार्वजनिक गर्दै नासाका प्रबन्धक बिल नेल्सनले पृथ्वीबाहेक यस ब्रह्माण्डमा जीवन छ भन्ने विश्वास रहेको बताएका छन् ।

-न्युज कारखाना

एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

कोलम्बो। एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाले पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पूरा गर्यो । श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे ।

सदिरा सामराबिक्रमाले ४८ रनको योगदान सहित यी दूईले एक सय रनको साझेदारी गरेका थिए । श्रीलंकाको जितमा चरिथ असालंकाले अविजित ४९ रन बनाए । ओपनर पाथुम निसानकाले २९ रन बनाएका थिए ।

पाकिस्तानी बलर इफ्तिखार अहमदले तीन र साहिन शाह अफरिदीले दुई विकेट लिए । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामनले ४ रन बनाए ।

अर्का ओपनर अब्दुल्लाह सफिकले ५२ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रिजवानले ८६ रनको योगदान गरे ।

साविक विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिका लागि खेल्ने छ । भारत एक खेल अगावै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ ।

भारतले सुपर फोरको अन्तिम खेल भने आज बंगलादेशसँग खेल्दैछ ।

चट्याङ लागेर एक महिलाको मृत्यु

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते हुनुभएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिनुभयो ।

चट्याङ लागेर अन्य १६ जना घाइते भएका छन् ।

राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बिरोध प्रदर्शन गर्दैछ।

भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

संबैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको बिरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भदौ २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय बाल दिवस मनाइँदै, राष्ट्रपतिको शुभकामना

काठमाडौं । ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदे छ ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ ।

सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो।

२०२२ सालदेखि भदौ ४ गते मनाउन शुरू गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालमा बालदिवस पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले सुरू गरेको इतिहास छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गर्नुभएको छ । उहाँले यस वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको बताउनुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको छ ।’

केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उहाँले बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य हो । उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्दछ भन्नुभएको छ ।

चार प्रदेशमा चट्याङसहित मध्यम बर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केहि स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै मधेश प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौं‌ महानगरको निर्देशन- ‘खुलारूपमा दुग्धजन्य परिकार बिक्री नगर्नु’

काठमाडौं । काठमाडौं महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक अधिकृत (नवौँ तह) डा. अवधेश झाले सूचना जारी गरी खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिनुभएको हो ।

‘खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण गर्ने डेरीलाई खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्नुका साथै दर्ता र नवीकरण नभएका डेरीले ३० दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता गराउन हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ आज(बिहीबार) बाँडफाँट हुँदैछ ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री-अलोटमेन्ट भदौ २५ गते सम्पन्न भइसकेको छ ।

यता, सिटिजन लाइफको आइपीओ हात पार्न भाग्यकै भर पर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ । कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओमध्ये १०५ अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र अर्को ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरिएको थियो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।