28th October | 2020 | Wednesday | 10:29:15 PM

मृत्युदर उच्च रहेको सिन्धुपाल्चोकमा कोरोनाबाट एकै दिन ३ जनाको मृत्यु

विजय नेपाल   POSTED ON : कार्तिक २, २०७७ (८:३१ PM)

मृत्युदर उच्च रहेको सिन्धुपाल्चोकमा कोरोनाबाट एकै दिन ३ जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

सिन्धुपाल्चोक कोरोना मृत्युदर उच्च भएको जिल्ला हो । यस जिल्लाको मृत्युदर ३.०५ रहेको छ । जिल्लाभर अहिलेसम्म ३६१ जनामा कोराना संक्रमण भेटिएको छ । हालसम्म कोरोनालाई जित्नेको संख्या १६९ रहेको छ भने १८१ जना सक्रिय संक्रमित छन् ।

यहाँ हालसम्म ३६१ जनालाई संक्रमण देखिँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ९ पुरुष छन् ।

मुलुकभरको तुलनामा चार गुणा भन्दा ज्यादा मृत्यु भएको सिन्धुपाल्चोकमा निको हुने दर पनि ४८ दशमलव ६७ मात्रै रहेको छ । जवकी नेपालभर यो संख्या ६९ दशमलव ४२ रहेको छ । 

स्वास्थ्य कार्यालय चौताराका कार्यालय प्रमुख दुर्गादत्त चापागाँईका अनुसार सिन्धुपाल्चोकमा जिल्लाभित्र भन्दा जिल्ला बाहिर परीक्षण गरी कोरोना पुष्टि हुनेको संख्या धेरै छ । 

कोरोना संक्रमितलाई राख्नका लागि जिल्लामा तयारी गरिएका आइसोलेसन तथा क्वारेन्टाइन बेडहरु समेत अहिले भरिभराउ छन् ।

जिल्लामा एउटा पनि सघन उपचार कक्ष नहुँदा जिल्लामा देखिएका गम्भीर विरामीलाई राजधानी रिफर गर्नुको विकल्प जिल्ला स्वास्थ्य कार्यालयसँग छैन । 

जिल्लामा सामान्य आइसोलेसन वार्ड समेत अपुग हुँदा विरामी घरमै बस्न बाध्य छन् । यसले संक्रमण जोखिम थप बढाएको छ ।


Views: 48