8th March | 2021 | Monday | 9:29:51 AM

धादिङको प्राबिधिक शिक्षालयलाई जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

बाबुराम श्रेष्ठ   POSTED ON : माघ ५, २०७७ (५:४० PM)

धादिङको प्राबिधिक शिक्षालयलाई जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

धादिङ ।  धादिङको धुनिवेंशी नगरपालिकामा निर्माण  गरिएको  प्राबिधिक शिक्षालयलाई जर्मनी कम्पनीले सोमबार विद्युतीय उपकरण प्रदान गरेको छ । 

जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धुनिवेंशी नगरपालिकामा स्थापना गरिएको शिक्षालयलाई रु ५० लाख  बराबरको अत्याधुनिक खालका टर्वाइन, जेनेरेटर र अटोमेशन उपकरण प्रदान गरेको हो । शेषकान्त फाउण्डेशनद्वारा सञ्चालित शिक्षालयमा दक्ष प्राविधिक सम्बन्धी तालिम लिनेहरुका लागि ती उपकरणहरुबाट व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताउनुभयो । 

ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मत सम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यले उक्त शिक्षालयको स्थापन  गरिएको थियो । रोजगारीको सिलसिलामा बिदेश पुगि विदेशमा सिकेका ज्ञान र पूँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले आफू कार्यरत कम्पनी मार्फत सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । सो शिक्षालयबाट एक व्याच(समूह) उत्तीर्ण भैसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भएपनि आगामी वैशाखदेखि अर्को समूहको तालिम  शुरु गरिने फाउण्डेशनका अध्यक्ष विश्वश्वरप्रसाद ढकालले जानकारी दिनुभयो । 

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को नेपालमा व्यावसायिक शिक्षा प्रवद्र्धन गर्ने अभियानअन्र्तगत नेपाल स्वतन्त्र विद्युत् उत्पादक सङ्घ(इपान)सँगको सहकार्यमा तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो । जर्मनीस्थित फ्युचर फर नेपाल नामक संस्थामार्फत सङ्कलित रकमबाट सो नगरपालिकाका विभिन्न तीन स्थानमा सौर्य खानेपानी आयोजना सम्पन्न भैसकेको निर्देशक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षालयमा ४० जना विद्यार्थी बस्न मिल्ने १८ कोठाको अलग्गै होस्टलको पनि निर्माण भएको छ भने नेपालमै सस्तो, किफायती र सुरक्षित प्रिफाइभ ढाँचाका घरहरु निर्माण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति तयार गर्न लागिएको छ । 

यस्तै जर्मनीको युनिभर्सिटी अफ वाडेन वेटनवर्गसँग विद्यार्थी आदानप्रदान गर्नेसम्बन्धी सहमति पनि भएको उहाँले उल्लेख गर्नुभयो । फाउन्डेसन लाई स्थानीय समाजसेवी जिवनाथ ढकालले जग्गा उपलब्ध गराउनु भएको थियो । बिदेशी भुमिमा जाने युवा बिना सीप जादा हुने समस्यालाइ नजिक बाट नियालेको फाउन्डेसनले सीप युक्त जनशक्ति उत्पादन गरे स्वदेश र बिदेशी भुमिमा रोजागारिको लागि सहज  बनाउन शिक्षालयको स्थापना गरेको हो ।


Views: 101