16th May | 2021 | Sunday | 6:54:04 PM

त्रिशूली नदीमाथि निर्माणाधीन पक्की पुल भत्कियो, २१ करोड ६८ लाख नोक्सानी

बाबुराम श्रेष्ठ   POSTED ON : चैत्र २७, २०७७ (८:४१ AM)

त्रिशूली नदीमाथि निर्माणाधीन पक्की पुल भत्कियो, २१ करोड ६८ लाख नोक्सानी

भरतपुर । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको छ । ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको पुल अचानक भत्किएको हो । २०७१ सालमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले १६ करोड ५३ लाखमा पुलको सम्झौता गरी ठेक्का पाएको थियो । तर, पुलको विभिन्न कारण देखाउँदै पछि डिजाइन परिवर्तन गरी लागत बढाएर २१ करोड ६८ लाख रहेको थियो । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ । पुलमा ४०–४० मिटरका चारवटा स्पान छन् ।

भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पुल भत्केको जानकारी पाए तापनि के कारणले भत्केको यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । २०७१ साल कात्तिकमा एक कार्यक्रमबीच शिलान्यास गरिएको उक्त पुल तीन वर्षभित्र निर्माण सम्पन्न गरी १९ कात्तिक ०७४ मा हस्तान्तरण गर्नुपर्ने लक्ष्य रहेको थियो । तर, विनासकारी भूकम्प, कोभिड र डिजाइन परिवर्तनको कारण पुलको चारपटकसम्म निर्माण अवधि थप गरिएको थियो । अन्तिमपटक थपिएको म्याद सकिन लाग्दा र ९० प्रतिशत काम सकिएर २०७८ असार मसान्तमा सक्ने तयारी रहेको थियो । 

यस्तै, पुलको निर्माण कार्यमा ठेकेदारले ढिलाइ गरिएको भन्दै स्थानीयहरूले दबाब समिति नै गठन गरी पटकपटक दबाब दिँदै आइरहेका थिए । भत्केको पुलले चितवन र तनहुँ जिल्ला मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई पनि जोडेको छ । यो पुलको लम्बाइ दुई सय मिटर रहेको छ । पुलको देवघाटतर्फ रहने एउटा स्टिलको स्पान र ठिमुरातर्फका दुईवटा कंक्रिटका स्पान निर्माण भइसकेको र बीचमा रहने स्पानमा ढलान गर्न बाँकी रहेको, ढलान भएका दुईवटै स्पान भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यस्तै, पुल भत्किएको विषयमा निर्माण कम्पनीसँग पत्राचार गरिसकेको र कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको कार्यालयले जानकारी दिएको छ । 

त्रिशूलीमै बनिरहेको नुवाकोट–धादिङ जोड्ने पुल पनि यसअघि नै भत्किएको थियो । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुल पनि निर्माण गर्दागर्दै ११ चैत ०७५ मा भत्किएको थियो । त्रिशूली नदीमाथि बनिरहेको यो पुलको सम्झौता असार ०७१ मा भएको थियो भने असार ०७४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, म्याद सकिएको २१ महिनापछि बनाउन थालिएको थियो । ढलान गर्नुअघि फर्मा राख्ने काम हुँदै गर्दा हुरीले भत्काइदिएको थियो । कांग्रेसका सांसद बहादुरसिंह लामाको कम्पनीले पुल बनाइरहेको थियो । सडक विभागका अनुसार त्यसअघि पनि यस्तै किसमले २–३ वटा पुल भत्किएका घटना भएका छन् । 


Views: 160