16th May | 2021 | Sunday | 6:18:43 PM

बुद्धकृष्ण वाग श्रेष्ठले जिब्रो छेडेपछि ‘जिब्रो छेड्ने जात्रा’ धुमधामका साथ सकियो

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (६:४८ PM)

 बुद्धकृष्ण वाग श्रेष्ठले जिब्रो छेडेपछि  ‘जिब्रो छेड्ने जात्रा’ धुमधामका साथ सकियो

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ सकिएको छ ।

कोरोना सङ्क्रमणको महामारी फैलिँदै गएपनि त्यसको बेवास्ता गर्दै जात्रास्थलमा मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा भएको हो । 

    बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै ४८ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले जिब्रो छेड्नु भएको छ । बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरूले वरिपरी अक्षता र फूल छर्किएर देवीदेवतालाई सम्झँदै धुपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।    

    त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर बुद्धकृष्ण निस्किनु भयो । महाद्वीप बोकेर करीब पौने एक घण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरभित्र प्रवेश गरेपछि सुइरो निकालेर मन्दिरमा ठोकिएपछि यो जात्रा सम्पन्न भयो ।    

    मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रूपमा कार्यरत बुद्धकृष्ण कोरोना महामारी शुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना सङ्क्रमितको सेवा गर्दै आउनुभएको छ ।    


    चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो ।    

    परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यस वर्ष पनि आफूले बिज्रो छेडेको बताउनुभयो । यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधनपछि बोडेको जुजुभाइ बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेडेर यो जात्रालाई निरन्तरता दिनुभयो ।    

    विसं २०७६ मा पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले गतवर्ष लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिए पनि यस वर्ष भने आठौँ पटक जिब्रो छेड्नुभएको हो ।

 विसं २०६० सम्म उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाइएको थियो । आगामी वर्षमा जात्रा सञ्चालनमा सङ्कट नआओस् भनेर बुद्धकृष्णको छोराले जिब्रो छेड्ने तयारीमा राखेको बताइएको छ ।    

    


Views: 112