21st June | 2021 | Monday | 1:50:10 PM

प्रहरीद्वारा अक्सिजन सिलिण्डर संकलन

श्रीराम अर्जुन   POSTED ON : जेठ १, २०७८ (९:१८ AM)

प्रहरीद्वारा अक्सिजन सिलिण्डर संकलन

हेटौंडा । बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थाप्रति संवेदनशील भई अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गरेको छ । संकलन गरिएको अक्सिजन सिलिण्डरहरू जिल्लाको डिसिसिएमसीको निर्णयअनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आइसोलेसन सेन्टरहरूमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताउनुभयो । उहाँले लकडाउन भएपश्चात् सुरु गरिएको यो अभियानमा उद्योगधन्दा, क्रसर, वर्कसप, ग्यारेज सञ्चालकहरूले स्वःस्फूर्त सहयोग गरिएको बताउनुभयो । 

मकवानपुरसहित प्रदेशका अन्य जिल्लाहरूमा बढ्दो कोभिड–१९ को संक्रमणसँगै संक्रमितहरूलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नुपरेको घटनाहरू बढ्दै गइरहेकाले अभियान सञ्चालन गरिएको सिलवालले बताउनुभयो ।  

बागमती प्रदेशअन्तर्गतका प्रहरी इकाइहरूबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कबाडी उद्योग, हाइड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तिहरू समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरू संकलन गर्दा शुक्रबारसम्ममा १२९ थान भरिएका र ५४१ थान खाली गरी ६७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी निरीक्षक सिलवालले बताउनुभयो । 

संकलित सिलिण्डरहरू सम्बन्धित जिल्लाहरूमै प्रयोग गर्न व्यवस्थापन गरिएको छ भने जसमध्ये कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र छाउनी काठमाडौंलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराइएको, स्वर्गद्वारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाइवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको जनाइएको छ । प्रहरीले अक्सिजनका सिलिण्डरहरू संकलन गर्ने कार्यलाई अझै तीव्रताका साथ अघि बढाएका छन् ।

यता, एम्बुलेन्सको अभाव हुन नदिन हेटौंडा उपमहानगरका १९ वटै वडामा अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । कोभिड संक्रमित बिरामीलाई ओसारपसार गर्नका लागि हेटौंडामा अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याइएको हो । हेटौंडा उपमहानगरका १९ वटै वडामा सञ्चालन हुनेगरी प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । 

मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमित आवातजावत गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको जनाइएको छ । ३८ वटा अटोलाई केही स्वरूप परिवर्तन गरी अटो चालकलाई पिपिई सेट प्रयोग गराई अटो एम्बुलेन्स सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । हेटौंडा उपमहानगरको व्यवस्थापन र अटो व्यवसायीहरूको सहकार्यमा यो सेवा सुरुवात गरिएको जनाइएको छ ।


Views: 61